२ सय मेवा ब्याकअप व्यवस्था गर्ने रणनीतिमा प्राधिकरण
वैशाख ९, काठमाडौं । हाल विद्युत् प्रणालीमा रहेको माग र उपलब्ध विद्युत्को फरक ३ सय ७० मेगावाटले ऋणात्मक रहेको छ । त्यसको व्यवस्थापनका लागि रातको समयमा उपयोग नहुने विद्युत् प्रयोग गरेर अत्यधिक माग हुने समय (पिक आवर)का लागि आवश्यक विद्युत् उत्पादन (ब्याकअप) गर्ने नेपाल विद्युत् प्राधिकरणको रणनीति छ ।
पीक आवरको विद्युत् माग पूरा गर्न २ सय मेगावाट जतिको ब्याकअप व्यवस्था गर्नु आवश्यक रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘खेर जाने समय (विशेषतः राति)को विद्युत् बैङ्किङ (सङ्कलन) गरेर पीक आवरमा प्रयोगका लागि ब्याकअपको व्यवस्था नगरी भएको छैन,’ उनले भने, ‘त्यसका लागि हामीसँग ब्याकअप ब्याट्री वा पम्प स्टोरेजका विकल्प छन् ।’
अहिले पीक आवरमा प्राधिकरण तथा निजीक्षेत्रबाट उत्पादित विद्युत्का साथै भारतबाट आयातित विद्युत्ले पनि नपुगेर यस्तो अवस्था सृजना भएको हो । हाल बेलुकाको पीक आवरमा प्राधिकरणको उत्पादन ३ सय ५१ मेगावाट र निजीक्षेत्रबाट उत्पादित १ सय ५५ मेगावाट विद्युत् प्राधिकरणको प्रणालीमा उपलब्ध छ । यसमा हाल भारतबाट गरिने दैनिक उच्चतम ३ सय ६९ मेगावाट विद्युत् आयात भइरहेको छ । उता दैनिक पीक आवर विद्युत् माग भने १२ सय ४५ मेगावाट रहेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।
पीक आवरको माग व्यवस्थापनका लागि बेलुकाको ४ घण्टा उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएको छ । प्राधिकरणद्वारा विकास गरिएको चमेलिया (३० मेवा), कुलेखानी तेस्रो (१४ मेवा)का साथै निजीक्षेत्रका केही आयोजनाबाट छिटै विद्युत् उत्पादन हुनेछ । त्यतिले मात्रै पनि माग धान्न सक्ने अवस्था नभएपछि प्राधिकरणले ब्याकअपको अवधारणा ल्याएको हो ।
घिसिङले हालै पम्प स्टोरेजको सम्भावना रहेको भनिएको कास्की जिल्लाको बेगनास ताल र रूपा ताल क्षेत्रको अवलोकनसमेत गरेका छन् । ‘पम्प स्टोरेजका लागि यो परियोजना प्राकृतिक रूपमै तयार छ,’ उनले भने, ‘त्यसमा बाँकी संरचना निर्माण तथा अन्य केही थप काम गरे पुग्ने अवस्था छ ।’ उक्त परियोजनाबाट १ सय ५० देखि २ सय मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनका क्रममा अनुमान गरिएको छ । विशेषतः बेलुकाको पीक आवरको माग धान्न उक्त परियोजना विकास गर्न खोजिएको छ । पर्यटकीय आकर्षणका साथै संरक्षित क्षेत्रका रूपमा रहेका दुवै तालमा जलविद्युत् उत्पादन परियोजना निर्माण गर्न नपाइने हो कि भन्ने सरोकारवालाहरूको चासो रहेको छ ।
यसबाहेक प्राधिकरणले विद्यमान जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनामा पनि पम्प स्टोरेज निर्माणको सम्भावना पहिचान गरेको छ । २ सय मेगावाट विद्युत् सङ्ग्रह गर्ने ब्याकअप ब्याट्रीको व्यवस्था गर्नेतर्फ पनि प्राधिकरणले सोच बनाएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । ‘त्यसका लागि एकदमै ठूलो ब्याट्री राख्नुपर्ने हुन्छ, जुन आफैमा पनि महँगो हुन्छ,’ उनले भने, ‘त्यसको अवधि सकिएपछि स्थान र वातावरणीय दुवै हिसाबले कहाँ व्यवस्थापन गर्ने भन्ने ठूलो चुनौती रहन्छ ।’
स्रोत:अभियान