थ्री गर्जेजद्वारा पाँच सय मेगावाट प्रस्ताव

    1985

    पुस २९, २०७३- चिनियाँ कम्पनी थ्री गर्जेजले जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना ५ सय मेगावाट क्षमतामा बनाउन प्रस्ताव गरेको छ । थ्री गर्जेजको उच्चस्तरीय टोलीले लगानी बोर्डमा बिहीबार आफूले गरिरहेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै पहिलाको अध्ययनले देखाएभन्दा २ सय ५० मेगावाट कम अर्थात् ५ सय मेगावाट क्षमतामा बनाउन प्रस्ताव गरेको हो ।

    अस्ट्रेलियाली कम्पनी स्मेकको विस्तृत इन्जिनियरिङ अध्ययनले पश्चिम सेतीबाट ७ सय ५० मेगावाट विद्युत् उत्पादन हुने देखाएको थियो । स्मेकले बिजुली भारतमा निकासी गर्ने गरी ७ सय ५० मेगावाट क्षमतामै बनाउन डीपीआरसमेत तयार गरिसकेको थियो । भारतीय बजारमा बिजुली बेच्ने वातावरण नबनेपछि स्मेकले १७ वर्षपछि पश्चिम सेतीबाट हात झिकेको थियो ।

    स्मेकले हात झिकेपछि सरकारले बिजुली नेपालमै खपत गर्ने गरी आयोजना बनाउन थ्री गर्जेजलाई दिइएको हो । थ्री गर्जेजकै प्रस्तुतिका क्रममा नेपाली प्राविधिकहरूले नेपालको सुख्खायाममा बिजुली खपतको समय र विद्युत् प्रणाली नबुझेर चिनियाँ कम्पनीले पश्चिम सेती आयोजना कम क्षमतामा बनाउन प्रस्ताव गरेको टिप्पणी गरेका थिए । नेपाली प्राविधिकहरूले सुख्खायाममा बेलुका ४ घण्टा र बिहान २ घण्टा मात्र पिक लोड हुने भएकाले त्यसअनुसार आयोजनाको क्षमता अप्टिमाइज गरेर (बढाएर) ६ सय ५० देखि ८ सय मेगावाटसम्ममा बनाउन सकिने धारणा चिनियाँ अधिकारीसमक्ष राखेको जानकारी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिए । सुख्खायाममा ६ घण्टा मात्र बिजुली निकाल्ने गरी क्षमता अप्टिमाइज गर्दा ८ सय मेगावाट पुग्ने प्राधिकरणका अधिकारी बताउँछन् ।

    थ्री गर्जेजले नेपाली पिक लोडको समय नबुझी आयोजनाको क्षमता निर्धारण गर्न खोज्दा ७ सय ५० बाट ५ सय मेगावाट घटाउन प्रस्ताव गरेको दाबी नेपाली प्राविधिकहरूको छ । थ्री गर्जेजले भने क्षमता घट्नुमा पश्चिम सेतीमा पानीको प्रवाह अघिल्ला अध्ययनमा देखिएभन्दा कम रहेको जिकिरसमेत गरेको छ ।

    घिसिङका अनुसार थ्री गर्जेज र नेपाली पक्षका प्राविधिकहरू एक ठाउँमा बसेर आयोजनाको क्षमतालगायतका विषय साता/१० दिनमै टुंग्याउने समझदारी भएको छ । थ्री गर्जेजले पश्चिम सेती आयोजना बनाउन डेढ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

    थ्री गर्जेजले पश्चिम सेतीबाट उत्पादन हुने बिजुलीलाई नेपालको विद्युत् प्रणालीमा जोड्न आवश्यक ४ सय केभीको प्रसारण लाइन निर्माण गर्नुपर्दा आयोजना महँगो हुनेतर्फ गम्भीर चासो व्यक्त गरेको थियो । विद्युत् प्राधिकरणका अधिकारीले भने पश्चिम सेती आयोजना बनिसक्दा ४ सय केभीको पूर्व–पश्चिम प्रसारण लाइन बनिसक्ने भएकाले त्यसबारेमा चिन्ता नगर्न थ्री गर्जेजका अधिकारीलाई आग्रह गरेका थिए ।

    थ्री गर्जेजले पश्चिम सेती आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न गरी लगानी जुटाउन अबको एक वर्ष लाग्छ, निर्माण सुरु गरेको ७९ महिना अर्थात् साढे ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । ‘हामीले इस्ट–वेस्ट प्रसारण लाइन निर्माण गर्न अध्ययन गरिरहेका छौं, पश्चिम सेती आयोजना बनिसक्दा प्रसारण लाइन बनिसक्छ, त्यसमा चिन्ता गर्नुपर्दैन भन्ने जानकारी गरायौं,’ घिसिङले भने ।

    थ्री गर्जेज र सरकारबीच पश्चिम सेती आयोजना निर्माण गर्न सन् २०१२ को फेब्रुअरीमा भएको एमओयू (समझदारीपत्र) मा प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने उल्लेख छ । उक्त एमओयुमा विवाद भएपछि चीनमै सोही वर्ष अगस्तमा पुन: सम्झौता भएको थियो । थ्री गर्जेजको ७५ प्रतिशत लगानी रहनेछ । तर, ५ वर्ष हुँदा पनि थ्री गर्जेज र प्राधिकरणबीच लगानीसम्बन्धी सम्झौता हुन सकेको छैन । आयोजनामा नेपाल सरकारको पूर्ण प्रतिबद्धताका लागि थ्री गर्जेजले प्राधिकरणको कम्तीमा २५ प्रतिशत सेयर लगानी खोजेको हो । प्राधिकरणले आयोजनामा गर्नुपर्ने लगानीसमेत चिनियाँ एक्जिमबाट सहुलियत ब्याजदरमा जुटाइदिने प्रतिबद्धता थ्री गर्जेजले एमओयूमा नै गरिसकेको छ ।

    जलाशययुक्त आयोजना महँगो पर्ने भएकाले घाटामा रहेको प्राधिकरणले पश्चिम सेतीमा ठूलो लगानी गर्न आनाकानी गर्दै आएको हो । लगानी बोर्डको संयोजनमा थ्री गर्जेज र प्राधिकरणबीच हुने छलफलबाट लगानीका विषयमा सहमति हुने जानकारी प्रस्तुतिमा सहभागी स्रोतले दिए । समझदारी भएपछि थ्री गर्जेज र प्राधिकरणबीच लगानी सम्झौता हुनेछ । दुवैले संयुक्त लगानीको कम्पनी बनाई पश्चिम सेती आयोजना अघि बढाउनेछन् ।

    स्रोत:कान्तिपुर