हाइड्रो इञ्जिनीयरिङ अध्ययन

    414

    काठमाडौं नेपाल र भारत मिलेर कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना बनाउन नेपाली विद्यार्थीहरूलाई भारतको रुड्की पढ्न पठाइएको थियो । रुड्कीबाट पहिलोपटक सन् १९८० मा ५० जना इञ्जिनीयर भएर आएका थिए । यो नै नेपाली विद्यार्थीले जलविद्युत्सम्बन्धी अध्ययन गरेको आधिकारिक इतिहास हो । उनीहरू निश्चित आयोजना निर्माणका लागि भनेर अध्ययन गरेर आएका हुँदा सोही आयोजना विकासका सन्दर्भमा केन्द्रित गरिए । पछि उक्त आयोजनाको विषय सेलाउँदै जाँदा उनीहरू आ–आफ्नो पेशा व्यवसायतिर लागे ।

    देश तथा विदेशमा हाइड्रोपावरसम्बन्धी शिक्षाको महत्त्व देख्नेहरू विदेशका विभिन्न विश्वविद्यालयमा पुगेर अध्ययन गर्ने गरेका छन् । त्यसमध्ये धेरैजसोले नर्वे, क्यानडा, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट शिक्षा हासिल गरेका छन् । पहिले पहिले विदेशका विश्वविद्यालयबाट हाइड्रोपावर इञ्जिनीयरिङको अध्ययन गर्नेहरू उतैतिर रोजगार हुने गर्थे । विस्तारै नेपालमा हाइड्रोपावरको विकासले गति लिँदै जाँदा विदेश गएर पढ्नेहरूको नेपालमा आएर काम गर्ने रुचि बढ्दै गएको छ । यसले गर्दा हाल नेपालमा अध्यापन र स्थलगत रूपमा आयोजनाहरूमा गरी करीब २ सय ८० जनाको हाराहारीमा हाइड्रोपावरको अध्ययन गरेका दक्ष जनशक्ति रहेका छन् । यीमध्ये करीब ३० जना अध्यापन पेशामै रहेको काठमाडौं विश्वविद्यालय (केयू)को मेकानिकल इञ्जिनीयरिङ विभाग प्रमुख हरि न्यौपाने बताउँछन् । न्यौपाने स्वयम् पनि हाइड्रोपावर इञ्जिनीयरिङ विषयका विशेषज्ञ हुन् ।

    नेपालमा हाइड्रोपावर शिक्षा
    नेपालमा जलविद्युत्सम्बन्धी इञ्जिनीयरिङको पढाइ शुरू भएको ४ वर्ष मात्रै भयो । काठमाडौं विश्वविद्यालयले ब्याचलर इन सिभिल इञ्जिनीयरिङ, स्पेसलाइजिङ हाइड्रोपावर शुरू गरेसँगै नेपालमा यस विषयको पठनपाठन शुरू भएको हो । हाल यस विश्वविद्यालयसँग ब्याचलर इन सिभिल इञ्जिनीयरिङ, स्पेसलाइजिङ हाइड्रोपावरका साथै ब्याचलर इन मेकानिकल इञ्जिनीयरिङ स्पेसलाइजिङ हाइड्रोपावर गरी जलविद्युत् अध्ययनसम्बन्धी दुई शैक्षिक कार्यक्रम सञ्चालनमा छन्, जसमध्ये ब्याचलर इन सिभिल इञ्जिनीयरिङ, स्पेसलाइजिङ हाइड्रोपावरमा विश्वविद्यालयले प्रतिब्याच ६० जना विद्यार्थी भर्ना लिने गर्छ । त्यसैगरी, ब्याचलर इन मेकानिकल इञ्जिनीयरिङ स्पेसलाइजिङ हाइड्रोपावरमा प्रतिब्याच ३० जना लिँदै आएको छ । पछिल्लो समय देशमा बढ्दै गएको जलविद्युत् आयोजनाको विकास क्रमले यो विषय अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या निकै ठूलो रहेको (केयू)का मेकानिकल इञ्जिनीयरिङ विभाग प्रमुख न्यौपाने बताउँछन् । केयूले करीब ५ हजार आवेदक विद्यार्थीबाट एकपटकमा ९० जनाको मात्र हाइड्रोपावरमा कोटा निर्धारण गरेको छ । ‘माग उच्च रहे पनि गुणस्तरीय शिक्षाका लागि निर्धारित कोटामा मात्र भर्ना लिन सकिने अवस्था छ,’ न्यौपाने भन्छन्, ‘थप विद्यार्थीले पनि अवसर पाऊन् भन्नाका लागि एउटै विश्वविद्यालयमा कोटा थप्ने भन्दा पनि नयाँ विश्वविद्यालयहरूले यो शैक्षिक कार्यक्रम सञ्चालन गर्दै जानु उपयुक्त हुन्छ ।’ केयूले सञ्चालन गर्दै आएको इञ्जिनीयरिङका ५ शैक्षिक कार्यक्रममध्ये सबैभन्दा बढी विद्यार्थीको आकर्षण हाइड्रोपावरमै छ ।

    केयूसँग नेपालको एकमात्र टर्बाइन टेष्टिङ ल्याबसमेत छ, जसले देशभित्र निर्माण हुने हरेक जलविद्युत् आयोजनामा प्रयोग हुने टर्बाइनको परीक्षणको सेवा पनि दिँदै आएको छ । पूर्ण प्रयोगात्मक विधिबाट पढ्न पाउने यस विषयका विद्यार्थीले तुरुन्तै रोजगारी पाउने अवस्था रहेको न्यौपाने बताउँछन् ।

    हाइड्रोपावर विषयको शिक्षित जनशक्ति निर्माणको आवश्यकतालाई ध्यानमा राखी हालैको शैक्षिक सत्रबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि यसको अध्यापन शुरू गरेको छ । उक्त विश्वविद्यालयले एक शैक्षिक सत्रमा ४० जना विद्यार्थी भर्ना दिने गर्छ । जलविद्युत् आयोजना निर्माणको प्रचुर सम्भावना बोकेको मध्यपश्चिमाञ्चलकै सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरस्थित विश्वविद्यालयमै यो विषय अध्यापन हुँदै आएको छ । उक्त विश्वविद्यालयले भने स्नातक तहमै हाइड्रोपावर इञ्जिनीयरिङको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
    त्रिभुवन विश्वविद्यालयले पनि हाइड्रोपावर इञ्जिनीयरिङको शैक्षिक कार्यक्रमलाई प्रस्तावित शैक्षिक कार्यक्रमअन्तर्गत राखेको छ । त्रिविले सिभिल इञ्जिनीयरिङ विभागअन्तर्गत स्नातकोत्तर तहमा यस कार्यक्रमलाई राख्ने भएको हो ।

    कस्ता विद्यार्थीले हाइड्रोपावर पढ्न सक्छन् ?

    सर्वप्रथम इञ्जिनीयरिङ पढ्ने विद्यार्थीमा गणितको राम्रो दख्खल हुनुपर्छ । भविष्यमा हाइड्रोपावरका क्षेत्रमा करीअर बनाउने इच्छा भएका कक्षा १० उत्तीर्ण गरी कक्षा ११ मा भर्नाको तयारी गरिरहेका विद्यार्थीले आफूलाई अहिल्यैदेखि उक्त विषय अध्ययनका लागि केन्द्रित गर्नु जरुरी छ । यो विषय अध्ययन गर्न विज्ञान सङ्काय लिएर कक्षा ११ र १२ अध्ययन गर्नुपर्ने हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षाको नतीजामा ए वा ए प्लस ल्याउन सकियो भने हाइड्रो इञ्जिनीयर बन्ने बाटो खुल्नेछ ।

    दुर्गा लमिछाने

    स्रोत:अभियान