नेपालबाट ९ हजार मेगावाट विद्युत खरीद गर्ने बङ्गलादेशको योजना

    1144

    नेपालको जलविद्युतमा लगानी गर्न ऊर्जामन्त्रीको आह्वान

    भदौ २१, काठमाडौं । बङ्गलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट विजुली खरीद गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनको बङ्गलादेश भ्रमणमा रहेको बेला त्यहाँको सरकारले त्यस्तो योजना सार्वजनिक गरेको हो ।

    बङ्गलादेशको पावर, ऊर्जा र मिनरल रिसोर्स मन्त्रालयअन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा २०४० भित्र नेपालबाट ९ हजार मेगावाट विजुली किन्ने उल्लेख छ । यसैबीच, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले बङ्गलादेशको ढाकामा बिहीवारदेखि शुरु भएको ‘इनर्जी एण्ड पावर विक’ लाई सम्बोधन गर्दै नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई आह्वान गरेका छन् ।

    उनले भने,‘नेपालमा लामो समयपछि राजनीतिक स्थायित्व कायम भएको छ, आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढेका छौं । बङ्गलादेशका लगानीकर्तालाई नेपालको ऊर्जा तथा जलस्रोतका क्षेत्रमा लगानी गर्न आग्रह गर्छु ।’

    नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीले ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले सो समझदारीबाट नयाँ अध्याय शुरु भएको बताए । उक्त समझदारी कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्नेमा उनको जोड थियो । ऊर्जामन्त्री पुनले नेपालमा सम्पन्न बिमष्टेकको चौथो शिखर सम्मेलनले बिमष्टेक ग्रिड निर्माण गर्ने विषयमा सहमति गरेकाले क्षेत्रीयरुपमा विद्युत् आदानप्रदानको मार्ग प्रशस्त भएको समेत बताए ।

    आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारले लक्ष्य राखेको बताउँदै उनले आन्तरिक प्रयोजनका लागि दश हजार र छिमेकी देशमा निर्यातका लागि पाँच हजार मेगावाट विद्युत् उत्पादन गरिने स्पष्ट पारे ।

    उनका अनुसार सरकारले लगानीका लागि सरकारी÷सरकारी, निजी तथा सरकारी, निजी निजी जुनसुकै तहमा पनि काम गर्न सक्ने उनको भनाई छ ।

    तीन दिनसम्म चल्ने उक्त कार्यक्रमको बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले उद्घाटन गर्दै बङ्गलादेशको सरकारले विद्युत विकासको महत्वाकाङ्क्षी लक्ष्य राखेको बताउँदै छिमेकी देशसँग सहकार्य गरेर जानुपर्ने बताइन् । ‘हामीले सन् २०४० सम्म ४० हजार मेगावाट र २०४१ सम्म ६० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेका छौं,’ उनले भनिन्, ‘साथै, हामीले नेपाल, भारत र भुटानबाट पनि जलविद्युत आयोजनाको योजना बनाएका छौं ।’ उनका अनुसार अहिले बङ्गलादेशको कूल जडित क्षमता २० हजार मेगावाट पुगेको छ ।

    स्रोत:अभियान