सेजमा विद्युत् अभाव हुँदैन : घिसिङ

    1031

    काठमाडौँ — नेपाल विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालन हुने उद्योगलाई आवश्यक विद्युत् अभाव नहुने बताएका छन् ।

    ‘सेजका लागि विद्युत् अभाव हुँदैन, तत्काल दिन सक्छौं,’ उनले भने, ‘अहिले त्यहाँका उद्योगलाई ४–५ मेगावाट विद्युत् आवश्यक हुने अनुमान गरेका छौं ।’ उनले सेजका उद्योगबाट विद्युत्को माग नआएको बताए । हालसम्म भैरहवास्थित सेजमा सञ्चालनका लागि २६ उद्योगले अनुमति पाएका छन् ।

    भैरहवास्थित सेजमा रहेका उद्योगलाई छुट्टै फिडरमार्फत विद्युत् उपलब्ध गराउन त्यहाँ छुट्टै सबस्टेसन बनाइने घिसिङले बताए । उद्योग मन्त्रालय, नेपाल आर्थिक पत्रकार समाज (सेजन) र विशेष आर्थिक क्षेत्र प्राधिकरणसँगको सहकार्यमा आइतबार राजधानीमा भएको कार्यक्रममा बोल्दै घिसिङले भैरहवास्थित सेजमा सञ्चालन हुने उद्योगका लागि विद्युत् आपूर्ति सहज रूपमा हुने भन्दै आश्वस्त पारे ।

    कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले ठूला उद्योग व्यवसायमा सहजीकरण गर्न बोर्डले सघाउने धारणा राखे ।

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकरप्रसाद शर्माले सेजमा उद्योग स्थापनाका लागि ठूला विवाद नरहेको भन्दै मिलेर अघि बढ्न सुझाव दिए ।

    नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सेजमा स्थापना उद्योगसँग सरकारले लिने भाडादर महँगो भएको टिप्पणी गरे । त्यहाँ स्थापना हुने उद्योगसँग सरकारले प्रतिस्क्वायर फिट ५ रुपैयाँ मात्र लिनुपर्ने उनको सुझाव थियो । अहिले सरकारले सेजमा स्थापना हुने उद्योगसँग प्रतिस्क्वायर फिट २० रुपैयाँ वार्षिक भाडा लिने बताएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने धारणा राखे ।

    छलफलमा सहभागीहरूले सेजमा उद्योगका लागि भाडा घटाउनुपर्ने, स्थानीयस्तरमा बिक्री गर्न पाउने परिणाम बढाउनुपर्ने, सहुलियतपूर्ण ऋण पाउनुपर्ने माग गरेका थिए । अहिले विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई विभिन्न करमा सहुलियत दिने घोषणा गर्दै सरकारले उत्पादित परिणामको ७५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था गरेको छ ।

    निर्यातमूलक उद्योग स्थापनामा प्रोत्साहित गर्न सरकारले विशेष आर्थिक क्षेत्र ऐन ल्याएर यस्तो व्यवस्था गरेको थियो ।

    उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले सेजभित्र स्थापना हुने उद्योगले राखेका जायज मागलाई सरकारले पूरा गर्ने बताए । ‘उद्योगीको मागप्रति सरकार नरम छ,’ उनले भने, ‘कारणसहित आएमा सहजीकरणका लागि मन्त्रालय तयार छ ।’

    भन्सार विभागका महानिर्देशक तोयम रायले निर्यात प्रवद्र्धनका लागि सरकारले सेज स्थापना गरेको भन्दै यस्ता उद्योगबाट राजस्व मात्रै उठाउन नखोजिएको प्रस्ट पारे ।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले निर्यात वृद्धि गरी व्यापार घाटा कम गराउने उद्देश्यले सेज स्थापना गरिएको बताए ।

    स्रोत:नयाँपत्रीका