भेरी बबईको जटिल खण्डको सुरुङ पूरा

    763

    काठमाडौँ, भदौ ७ गते । आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखिएको भागसहित गरी भेरी बबई डाइभर्सनको बहुद्देश्यीय आयोजनाको सात सय मिटर सुरुङ खनिएको छ । भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर दुई सय मिटर सुरुङ खन्नुपर्ने हुन्छ ।

    आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार आयोजनाको भौगर्भिक अध्ययनमा काम गर्न निकै जोखिम र चुनौती हुनसक्ने भनेर अनुमान गरिएको भागमा समेत सुरुङ खनेर पार भएको छ । गतवर्षको दसैँको फूलपातीको दिनबाट चीनबाट मगाइएको टनेल बोरिङ मेसिन (टीबीएम) ले काम सुरु गरिएको थियो । काम सुरु भएको नौ महिनामा सात किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो । आयोजना प्रमुख बस्नेत यो उपलब्धि अपेक्षाभन्दा राम्रो रहेको बताउनुभयो ।

    सुरुङको पाँच किलोमिटरदेखि सात किलोमिटरसम्मको क्षेत्रलाई धेरै चुनौती र जोखिम देखिएको क्षेत्र भनेर आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा देखाइएको छ । भौगर्भिक अध्ययनले देखाएको चुनौतीका क्षेत्र पार भएपछि अब खासै समस्या नआउला कि भन्ने अनुमान गरिएको छ । समस्या नदेखिएमा निर्धारित समयभित्रै सुरुङ पूरा हुने देखिएको प्रमुख बस्नेतले बताउनुभयो ।

    राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा राम्रो र उत्कृष्ट काम भएका यो आयोजनालाई मानिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले बताउनुभयो । गतवर्षको बजेट ८० करोड रुपियाँ मात्र विनियोजन गरिएकोमा आयोजनाको कार्य प्रगति राम्रो भएकाले झण्डै चार अर्ब रुपियाँ खर्च भएको थियो ।

    परम्परागत प्रविधि र ब्लास्टिङ गरेर सुरुङ खनेको भए एक किलोमिटर सुरुङका लागि एक वर्षभन्दा बढी समय लाग्ने देखिन्छ । टनेल बोरिङ मेसिन (टीबीएम) ले खन्न सुरु गरेपछि नौ महिनामा सात किलोमिटर प्रगति भइसकेको छ । औसतमा प्रतिमहिना सात सय मिटरको दरले सुरुङ खन्ने काम भएको आयोजना प्रमुख बस्नेतले बताउनुभयो ।

    चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड सुरुङ खन्न काम गरिरहेको छ । टीबीएमले खन्न सुरु गरेपछि एकैदिनमा ४८ मिटरसम्म सुरुङ खन्न सफलता मिलेको छ । ठेकेदार कम्पनीले प्रतिदिन एकदेखि दुई करोड रुपियाँसम्मको भुक्तानी लिने गरी काम गरिरहेको आयोजनाले बताएको छ । हाल टीबीएमले दैनिक २५ देखि बढीमा ४२ मिटर सम्म सुरुङ खन्ने गरेको छ ।
    आयोजनाले सन् २०२० को अप्रिलसम्ममा सुरुङ खनिसक्ने कार्ययोजना बनाएको छ । आयोजनालाई सिँचाइ र जलविद्युत्सहितको बहुद्देश्यीय बनाइएको छ । आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतियोग्य जमिनमा सिँचाइ पुग्ने छ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ४.२ व्यासको १२ किलोमिटर सुरुङ खनिने छ ।
    सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाको निर्माणपछि बिजुलीबाट वार्षिक रूपमा दुई अर्ब रुपियाँ र सिँचाइको तर्फ वार्षिक अढाई अर्ब रुपियाँ फाइदा हुने सरकारी अनुमान रहेको छ ।

    लक्ष्मीप्रसाद उपाध्याय

    स्रोत: गोर्खापत्र