सुपर न्यादी आयोजना भदौदेखि

    1562

    ४०.२७ मेगावाटको आयोजना २०७७ मै सञ्चालनमा ल्याउने लक्ष्य

    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका (साबिक बाहुनडाँडा र भुलभुले गाविस)मा निर्माण हुने सुपर न्यादी जलविद्युत् आयोजनाको निर्माण भदौदेखि शुरू हुने भएको छ । न्यादी खोलामा निर्माण हुने उक्त आयोजना ४० दशमलव २७ मेगावाटको हुनेछ । आयोजनाको प्रवर्द्धक सिउरी हाइड्रोपावर कम्पनी प्रालिका अनुसार २०७७ सालभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । उक्त कम्पनीले हाल बाँधस्थलसम्म पुग्ने सडक, आवास गृहलगायत पूर्वाधार निर्माण गरिरहेको छ । कम्पनीले २०७१ सालमा सरकारबाट आयोजनाको निर्माण अनुमति पाएको थियो ।

    यसको कुल लागत अनुमान बैङ्क ब्याजसहित  ७ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये ७० प्रतिशत बैङ्क तथा वित्तीय संस्थाको ऋण हुनेछ । बाँकी ३० प्रतिशत प्रवर्द्धकले व्यवस्थापन गर्नेछ । उक्त आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको १४ करोड रुपैयाँबराबरको शेयर रहने कम्पनीले जानकारी दिएको छ, जसमध्ये मर्स्याङ्दी गाउँपालिकावासीको करीब ५ करोड अंश हुनेछ । ९३ दशमलव ८७ वर्गकिलोमिटर समेट्ने आयोजनाको ७० प्रतिशत भूभाग हिउँले ढाकेकाले बाह्रै महीना विद्युत् उत्पादनमा कुनै समस्या नहुने आयोजनाको दाबी छ ।

    बाहुनडाँडाको डहरेनजीकै बाँध बाँधेर ६ किमी लामो सुरुङमार्फत विद्युत्गृहमा पानी झारिने छ, जहाँ २२ मेगावाटका २ टर्बाइन जडान गरिनेछ । उत्पादित बिजुली विद्युत् प्राधिकरणको टारीकुनास्थित १ सय ३२ केभीए प्रसारण लाइनमा जोडिनेछ । आयोजनाबाट प्रतिवर्ष २३ दशमलव ५७६ करोड युनिट विद्युत् उत्पादन हुने छ ।

    स्रोत:अभियान