‘माथिल्लो त्रिशुली थ्री बी’ आयोजनामा दुई चिनियाँ व्यवसायीले पेश गरेर बोलपत्र

    1990

    काठमाडौं । माथिल्लो ३ बी जलविद्युत आयोजना निर्माणका लागि दुईवटा चिनियाँ निर्माण व्यवसायीले बोलपत्र पेश गरेका छन् ।

    त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको ३ बी जलविद्युत आयोजना निर्माण गर्नका लागि सिनो हाइड्रो कर्पोरेशन र सिचुवान आन हे कर्पोरेशनले बोलपत्र पेश गरेका छन् । सिचुवानले सिनोको भन्दा कम दर प्रस्ताव गरेको छ ।

    कम्पनीले बोलपत्रको मूल्यांकन गरिरहेको कम्पनीका प्रवन्ध सञ्चालक मोहन गौतमले बताए । मूल्याँकन सकिएपछि ठेक्का सम्झौता हुने उनले जानकारी दिए ।

    नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो । विस्तृत डिजाइन, निर्माण (इपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । पूर्वयोग्यतामा ७ अन्तर्राष्ट्रिय कम्पनी छनौट भएपनि अन्तिममा आएर २ वटा चिनियाँले मात्र भाग लिएका छन् ।

    ठेक्कापट्टाको काम सकेर आउँदो मंसिरदेखि आयोजना निर्माणको काम सुरु हुनेछ । काम सुरु गरेर ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । आउँदो सन् २०२० को अन्त्यसम्म आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

    आयोजनामा विद्युत प्राधिकरणको ३०, नेपाल टेलिकमको ३०, आयोजना प्रभावित रसुवा र नुवाकोट जिल्ला विकास समिति र गाउँ विकास समितिले ५, रसुवा र नुवाकोटका संस्थाले ५, आयोजना प्रभावितले १०, सर्वसाधारणलाई १५ र प्राधिकरण र टेलिकमका कर्मचारीलाई ५ प्रतिशत सेयर दिने गरी लगानी संरचना तयार गरिएको छ । विद्युत प्राधिकरणसँग पनि विद्युत खरिदबिक्रि सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको छ ।

    आयोजनाको प्रतिफल २२ प्रतिशत छ । आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ । यस्तै सुख्खायाममा पनि ८ करोड २० लाख युनिट बिजुली उत्पादन हुनेछ । आयोजना एक्सिडेन्टल फ्लो (क्यु) ७० मा डिजाइन गरिएकाले वर्षको ७ महिना आयोजना पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।

    विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए आयोजनाबाट प्रवाह हुने पानी सिधै सुरुङमा हालेर ३.७ किलोमिटर लामो सुरुङबाट नुवाकोटको वेत्रावती नजिक सिरुवापानीस्थित विद्युतगृहमा खसालिने छ ।

    आयोजनामा सानो मुहान बाहेक अन्य बाँधको संरचना आवश्यक पर्दैन । यस्तै आयोजनाका लागि सडक निर्माण भइसकेको छ ।

    स्रोत:बाह्रखरी