एक दर्जन कम्पनीको साधारण सेयर (आइपिओ) आउँदै

    2127

    सेयरमा लगानी सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अव बजारमा १२ वटा जलविद्युत कम्पनीले साधारण सेयर (आइपिओ) जारी गर्ने अन्तिम  तयारीमा रहेका छन् ।

    यी जलविद्युत कम्पनीको आइपिओमा लगानी गर्न सक्नुहुनेछ । ती कम्पनीहरूले सेयर निष्कासन अनुमतिका लागि धितोपत्र बजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

    बोर्डमा ती कम्पनीको साधारण सेयर जारी गर्नका लागि अनुमति दिने प्रक्रिया समेत सुरु भइसकेको छ ।

    बजारमा सान्जेन जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर,  लुघिङ बुद्ध पावर नेपाल लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड, सिइडिबी हाइड्रो फण्ड, कालिका पावर कम्पनी,  रैराङ हाइड्रोपावर, शुभम पावर कम्पनी, युनिक हाइडेल कम्पनी, माउण्टेन हाइड्रो नेपाल, मैलुङ खोला जलविद्युत कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको आइपिओ आउने तयारीमा छन् ।

    कुन कम्पनीको कति ?

    रैराङ हाइड्रोपावर

    यस कम्पनीले आयोजना प्रभावित स्थानीयबासीलाई साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।  कम्पनीले रु ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

    आयोजना प्रभावित स्थानीयबासीलाई पाँच लाख ६० हजार कित्ता साधारण सेयर दिने तयारी गरेको कम्पनीले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

    सान्जेन जलविद्युत कम्पनी

    चिलिमे जलविद्युत् कम्पनीको सहयाक कम्पनी सान्जेन जलविद्युत् कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको दिएको हो ।

    साञ्जेनले रु ८७ करोड ६० लाख बराबरको रु एकसय अंकित दरका ८७ लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्नेछ । यो आईपीओमा आम सर्वसाधारणले भने लगानी गर्न पाउने छैनन् ।

    बोर्डका अनुसार पहिलो चरणमा निष्कासन हुने यो आइपीओमा कम्पनीको संस्थापक सेयरधनी संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारी र ऋण दाता संस्थाका कर्मचारीले मात्र आवेदन गर्न पाउनेछन् ।

    निष्कासशन तथा बिक्री प्रबन्धकमा एन.सी.एम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटल रहेका छन् ।

    लुघिङ बुद्ध पावर नेपाल लिमिटेड

    यस कम्पनीले आयोजना प्रभावित जनताका लागि रु नौ करोड ७८ लाख बराबरको नौ लाख ७८ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । यस कम्पनीको सेयर विक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटलाई नियुक्ति गरेको छ ।

    जोशी हाइड्रोपावर

    यस कम्पनीले  २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्ताको लागि सो मात्राको सेयर निष्कासन गर्न लागेको हो ।

    पाँचथर पावर कम्पनीले निर्माण गर्न लागेको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको शेयर विक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल नियुक्त गरेको छ ।  यस कम्पनी अन्तर्गतको १४.९ मेगावाटको हेवा खोला ए हाइड्रोपावर आयोजन निर्माण गरिरहेको छ ।

     शुभम पावर कम्पनी

    यस कम्पनीले ६ लाख कित्ता आईपिओ निष्काशन गर्ने जनाएको छ । आयोजना प्रभावितका लागि २ लाख कित्ता र बाँकी ४ लाख कित्ता सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर निष्काशन गने तयारी थालेको हो ।

    युनियन हाइड्रोपावर लिमिटेड

    लमजुङको फिदिम खोलामा ३.३ मेगावाटको आयोजना निर्माण गरिरहेको यस हाइड्रोपावरले सर्वसाधारणलाई रु २५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

    रु सय अंकित मूल्यमा रु २५ करोड बराबरको २५ लाख कित्ता साधारण सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    सिइडिबी हाइड्रो फण्डः

    यस कम्पनीले १७ लाख ६१ हजार कित्तासाधारण सेयर निष्काशन गर्न लागेको छ । बिक्री प्रबन्धकका रुपमा एनसिएम मर्चेन्ट बैंकिङलाई तोकेको छ । कम्पनीले साधारण सेयर निश्कासन गर्न लागेको हो ।

    कालिका पावर कम्पनी

    यस कम्पनीको रू. सयका दरले १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो, जसमा ६ लाख कित्ता स्थानीयका लागि र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

    यसको विक्री प्रबन्धनका काठमाडौँ क्यापिटल र ग्लोबल आईउम्इ क्यापिटल लिमिटेड रहेका छन् ।

    युनिक हाइडेल कम्पनी

    यस कम्पनीले रु पाँच करोड ५५ लाख बराबरको ५५ लाख कित्ता बराबरको आयोजना प्रभावित क्षेत्रका लागि साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ । सेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटललाई नियुक्ति गरेको छ ।

    मैलुङ खोला जलविद्युत कम्पनी

    कम्पनीले सर्वसाधारणका लागि रु एक सय अंकित मूल्यमा रु सात करोड ३६ लाख २६ हजार ६०० को सात लाख ३६ हजार २८६ कित्ता सेयर जारी गर्न लागेको हो ।

    माउण्टेन हाइड्रो नेपाल

    यस कम्पनीले रू. १२ करोड ५० लाख बराबरको १२ लाख ५० हजार कित्ता आइपिओ बिक्रीका लागि निवेदन दिएको छ ।

    घलेम्दी हाइड्रो लिमिटेड

    यस कम्पनीले स्थानीयबासीका लागि रु ५ करोड ५० लाख बराबरको साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।

    आम सर्वसाधारणका लागि करिब रु ११ करोड बराबरको साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । म्याग्दीको नारच्याङ–१ मा ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

     

    • अर्थ संसार