उपकार्यकारी निर्देशक विदामा
नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशकहरूले कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गर्न थालेका छन् ।
गत शुक्रबार पदवहालीका दिन अनुपस्थित भएका उपकार्यकारी निर्देशकहरू आज आइतबार कार्यकारी निर्देशकले बोलाएको बैठकमा अनुपस्थित भएका छन् । उनीहरू कार्यकारी निर्देशकलाई असहयोग गर्ने मनस्थितीमा पुगेका छन् । केही दसैंसम्म लामो विदामा बसेका छन् । सरकारले आफूभन्दा एक तह मुनीका घिसिङ कार्यकारी निर्देशक बनाएपछि असन्तुष्टि जनाउँदै उनीहरूले असहयोग गर्न थालेका हुन् ।
कार्यकारी निर्देशकबाट मुकेशराज काफ्लेले राजिनामा गरेपछि ऊर्जामन्त्री जनार्दन शर्माले रित्त पदमा निर्देशक घिसिङलाई नियुक्त गरेका हुन् । उनी विद्युत प्राधिकरणका ११ औँ तहबाट १३ औँ तहमा नियुक्त भएका छन् ।
कार्यकारी निर्देशक घिसिङलाई असहयोग गर्नेमा उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशकमा शेरसिंह भाट, प्रसारणलाइन निर्देशनालयका उपकार्यकारी निर्देशक कनैयाकुमार मानन्धर, आयोजना व्यवस्थापन निर्देशनालय सुरेन्द्रराज राजभण्डारी, इन्जिनियरिङ निर्देशनालय राजीव शर्मा, वितरण तथा ग्राहसेवा निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई र तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध निर्देशक सुनीलकुमार ढुङेल रहेका छन् । अर्थ निर्देशनालयलगायत अन्य केही विभागमा निर्देशकहरुले कामू उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।
उपकार्यकारी निर्देशक भाटले बाह्रखरीसँग कुरा गर्दै आफू दसैंसम्म लामो विदामा रहेकाले कार्यलयमा उपस्थित नभको जानकारी दिँदै भने “अरुका बारेमा मलाइ थाहा भएन ।”
कार्यकारी निर्देशक घिसिङले केही उपकार्यकारी निर्देशक विदामा रहेकाले अनुपस्थित भएको बताए । विदामा बसेका बाहेक अन्य सबै अधिकृतको उपस्थित रहेको उलने बताए । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “उपकार्यकारी निर्देशक नभए पनि निमित्त वा कामूले काम गरिहान्छन काम अवरुद्ध हुँदैन ।”
स्रोत : १२ खरी