विद्युत प्राधिकरणका एमडी घिसिङले बोलाएको बैठक विभागीय प्रमुखद्वारा बहिस्कार

    1318

    सरकारले कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेपछि नेपाल विद्युत प्राधिकरणका विभागीय प्रमुखहरु असन्तुष्ट बनेका छन् । आफूभन्दा जुनियरलाई ऊर्जामन्त्रीले जबर्जस्ती कार्यकारी निर्देशक बनाएको भन्दै विभागीय प्रमुखहरुले बैठक नै बहिस्कार गर्नुपरेको बताए ।

    नवनियुक्त कार्यकारी निर्देशक घिसिङले आइतबार बिहान १० बजेका लागि कर्मचारी बैठक बोलाएका थिए । सो बैठकमा ७० प्रतिशत विभागीय प्रमुखहरु उपस्थित भएनन् ।

    ‘हामीभन्दा जुनियर मान्छेलाई मन्त्रीले जबर्जस्ती एमडी बनाएपछि चित्त बुझ्ने त कुरै भए नि,’ एक उपकार्यकारी निर्देशकले अनलाइनखबरसँग भने ।

    सरकारले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उनीहरु विदा बसेका थिए ।

    प्राधिकरणमा ८ वटा निर्देशनालय छन्, जसको नेतृत्व उपकार्यकारी निर्देशकले गर्छन् । आइतबारको बैठकमा ३ जना कायम मुकायम उपकार्यकारी निर्देशक, शान्तिलक्ष्मी शाक्य, लेखनाथ कोइराला, जगदिश्वरमान सिंहमात्रै उपस्थित थिए ।

    प्राधिकरण स्रोतका अनुसार आइतबारको बैठकमा उत्पादन निर्देशनालयका प्रमुख शेरसिंह भाट, तनहुँ हाइड्रोपावरका प्रमुख सुनिल ढुंगेल, प्रसारण निर्देशनालयका प्रमुख कनैया मानन्धर, उपस्थित भएनन् ।

    त्यसैगरी, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख सुरेन्द्रराज भण्डारी, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख गोपालबाबु भट्टराई र इन्जिनियरिङ निर्देशनालयका प्रमुख राजिव शर्मा उपस्थित भएनन् ।

    निर्देशनालय प्रमुखहरु विदामा भएकाले उपस्थित हुन नसकेको नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरलाई जानकारी दिए ।

    ‘कर्मचारी मिटिङ हो, सधैं सबै उपस्थित हुन्छन् र हुनैपर्छ भन्ने पनि छैन,’ उनले भने, ‘केही साथीहरु विदामा भएकाले मिटिङमा उपस्थित हुन सक्नुभएन ।’

    कामू उपकार्यकारी निर्देशक ११ तहका हुन् भने उपकार्यकारी निर्देशकहरु १२ तहका कर्मचारी हुन् । घिसिङ यसअघि निर्देशक मात्रै थिए । प्राधिकरणको कर्मचारी सेवा निनियमावली २०६५ अनुसार कुनैपनि निर्देशक उपकार्यकारी निर्देशकमा बढुवा हुन ३ वर्ष लाग्छ । तर, घिसिङ निर्देशक भएको २ वर्षमात्रै भयो ।

    ‘कर्मचारी सेवा विनियमावलीमा उपकार्यकारी निर्देशक हुन नै योग्यता नपुगेको व्यक्ति कार्यकारी भएर आउँदा हामीलाई अपमानित फिल भयो,’ अर्का उपनिर्देशकले भने ।

    घिसिङलाई केहिदिन अघि सरकारले प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । कार्यकारी निर्देशक भएपनि उनले निर्देशक पदबाट राजीनामा दिएका थिए, जुन अझैसम्म स्वीकृत भइसकेको छैन । घिसिङले शुक्रबारदेखि कार्यभार सम्हालेका थिए ।

    घिसिङ अघि प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेश काफ्ले थिए । उनको कार्यसम्पादन मूल्यांकन राम्रो नभएको भन्दै आलोचना भएपछि पदबाट राजीनामा दिएका थिए ।