” भारतबाट थप ७० मेगावाट ल्याइने ”
काठमाडौं, ८ असार- नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा लोडसेडिङ दैनिक १२ देखि १४ घण्टामा राख्ने कार्ययोजना तयार गरेको छ ।भारतबाट थप ७० मेगावाट आयात र विराटनगर मल्टिफ्युल प्लान्ट र हेटौंडाको डिजेलप्लान्ट सञ्चालनबाट ४० मेगावाट विद्युत् आपूर्ति गर्ने लक्ष्यका साथ प्राधिकरणले यो कार्ययोजना ल्याएको हो । भारतबाट थप बिजुली आयात हुन नसके र मल्टिफ्युल र डिजेलप्लान्टबाट लक्षित विद्युत् उत्पादन र कुलेखानी जलाशयमा पानी नभरिए लोडसेडिङ दैनिक १८ घण्टासम्म पुग्ने प्रक्षेपण प्राधिकरणको छ । यो वर्षको सुख्खायामको एक साता दैनिक १४ घण्टासम्म लोडसेडिङ भएको थियो । बर्सेनि विद्युत्को माग १ सय मेगावाट बढ्ने गरेको छ ।
“आगामी आर्थिक वर्ष लोडसेडिङ न्युनतम ६ देखि बढीमा १४ घण्टामा कायम राख्ने तयारी छ,” प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले भने, “लोडसेडिङ कम गर्न भारतबाट थप बिजुली आयात गर्ने लक्ष्य लिएको छ ।” उनका अनुसार पूर्वको कटैया–कुसाह १३२ केभी प्रसारणलाइन आगामी कात्तिकसम्म निर्माण पूरा गरेर थप बिजुली आयात हुनेछ । आगामी आवमा नयाँ आयोजना सम्पन्न नहुने अवस्था भएकाले भारतमा निर्भर हुनुपरेको हो । चालु आवमा ५२ मेगावाट विद्युत् थपहुनेमा हालसम्म साढे ३५ मेगावाट थप भइसकेको छ ।
भारतबाट विद्युत् आयात गर्दा हुने नोक्सानी सरकारले बेहोर्ने यादवले जानकारी दिए । प्राधिकारणले विद्युत् आदानप्रदान सम्झौता र व्यापारिक दरमा भारतबाट विद्युत् खरिद गर्दै आएको छ । विद्युत् आदानप्रदान सम्झौता अनुसार न्यूनतम ५० देखि बढीमा ८० मेगावाट र बाँकी प्रतियुनिट ८ रुपैयाँ १६ पैसा (५ रुपैयाँ १० पैसा भारु) मा खरिद गर्दै आएको छ । यो रकम प्राधिकरणले ग्राहकलाई बिक्री गर्ने औसत मूल्य हो । यस्तै २५ प्रतिशत चुहावट र ह्विलिङ चार्जसमेत यसमा समावेश गरिएको छैन ।
प्राधिकरणले विहार इलेक्ट्रिसिटी बोर्ड र पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया(पीटीसी) बाट विद्युत् खरिद गर्दै आएको छ ।आगामी माघ, फागुन र चैतमा लोडसेडिङ बढेर दैनिक १४ घण्टासम्म पुग्ने सम्भावना रहेको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्री बताउँछन् । सो अवधिमा प्राधिकरणलाई दैनिक ७० लाख युनिट बिजुली अपुग हुनेछ । आगामी वर्ष विद्युत्को माग बढेर १ हजार २ सय ७१ मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणको छ । भारतबाट आयातसमेत गरी आपूर्ति ७ सय मेगावाट पुग्नेछ ।
चिसोका कारण हिउँदमा विद्युत्को माग बढ्ने तर कुलेखानीबाहेकका सबै विद्युत्गृह नदीको प्रवाह (रन अफ दि रिभर) प्रकृतिका भएकाले सुख्खायाममा उत्पादन २५ प्रतिशतसम्ममा झर्ने गरेको छ ।सबै विद्युत्गृहबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा पनि हाल लोडसेडिङ दैनिक ६ घण्टा छ । अहिले पनि प्रणाली सञ्चालनमा अझै साढे ३ सय मेगावाट विद्युत् कम भएकाले लोडसेडिङ कायमै छ ।
हाल विद्युत्को माग दैनिक १ हजार मेगावाट छ भने आपूर्ति भारतबाट समेत गरी साढे ६ सय मेगावाटमात्र । भारतबाट १ सय मेगावाट हाराहारीमा विद्युत् आयात भइरहेको छ । गत बर्षको वर्षायाममा पनि लोडसेडिङ दैनिक छ घण्टा नै कायम भएको थियो ।
बिजुली पनि भारतमै निर्भर
काठमाडौं, ८ असार- लोडसेडिङ बढ्दै गएपछि पछिल्ला वर्ष विद्युत्मा पनि नेपाल भारतमा निर्भर हुन थालेको छ ।अन्य वस्तु तथा सेवा आयातले भारतसित नेपालको व्यापारघाटा चुलिरहेका बेला फेरि विद्युत् आयातले अर्बौं रुपैयाँ व्यापारघाटा बढ्ने भएको छ । ठूलो सम्भावना भएको जलविद्युत् क्षेत्रमा लगानी बढ्न नसकेपछि पछिल्ला वर्ष भारतबाट बिजुली आयात बढ्दै गएको छ ।
यो वर्ष नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ७० मेगावाट विद्युत् आयात गरेर आगामी हिउँदमा लोडसेडिङ दैनिक १२ देखि १४ घण्टामा राख्ने तयारी गरेको छ । यो वर्ष भारतबाट १ सय ७० मेगावाट विद्युत् आयात भएको छ । थप ७० समेत गरी कुल विद्युत् आयात २ सय ४० मेगावाट पुग्नेछ ।
नेपालले दुई देशबीचको विद्युत् आदानप्रदान सम्झौता र व्यापारिक दरमा भारतबाट विद्युत् खरिद गर्दै आएको छ । प्राधिकरणले विहार इलेक्ट्रिसिटी बोर्ड र पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी)संग विद्युत् खरिद गर्दै आएको छ । यस वर्ष प्राधिकरणले १ अर्ब ५ करोड युनिट विद्युत् भारतबाट खरिद गर्ने लक्ष्य लिएको छ । अघिल्लो वर्ष भारतबाट ७१ करोड युनिट बिजुली आयात भएको थियो । अघिल्लो वर्ष करिब ७ अर्ब रुपैयाँभन्दा बढीको बिजुली आयात गरेको छ । थप ७० मेगावाट आयात भए विद्युत् प्राधिकरणले भारतलाई १० अर्ब रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्नुपर्नेछ ।
पीटीसीसित प्राधिकरणले आगामी सन् २०१५ को मध्यदेखि १ सय ५० मेगावाट विद्युत् विद्युत् व्यापारिक दरमा किन्ने सम्झौता भएको छ । यस्तै महाकाली सन्धिअनुुसार टनकपुर आयोजनाबाट नेपालले वार्षिक ७ करोड युनिट बिजुली निःशुल्क पाउँदै आएको छ ।
नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसित हुने गरेको छ । चालू आवको १० महिनामा भारतसितको व्यापारघाटा मात्रै २६.२ प्रतिशत बढेर २ खबै ६० अर्ब पुगेको छ । यस अवधिमा नेपालबाट ४१ अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सेवा निकासी भएको छ ।