लक्ष्मी पूजाका दिन बिजुली गएका राजधानीका ती दुई घर, लोडसेडिङ अन्त्य गर्ने योजनाको पृष्ठभूमी

    1184
    jhilimili
    काठमाडौँ । गत बर्ष तिहारको मुखमा गोरखापत्रमा सूचना आयो- ‘दिपावलीको बेला माग अनुसार बिद्युत आपुर्ती गर्न नसकिने हुँदा उपभोक्ताले झिलिमिली बत्ति नबालिदिनु होला।’
    अन्तिममा सूचना निकाल्ने निकायको नाम लेखिएको थियो- नेपाल विद्युत प्राधिकरण।
    प्राधिकरण, यस्तो निकाय जसलाई मुलुकमा विद्युत आपूर्तिको एकाधिकार छ। बिजुली दिनु पर्ने निकाय आफैंले दिपावली गर्ने चाडमा बत्ति नबाल्नु भन्दै सूचना जारी गर्दा सर्वसाधारणले चित खाएका थिए।
    तर, नेपाली जनताले त्यति धेरै आश्चर्य भने मानेनन्। किनभने त्यहि निकायले दिनमा १८ घण्टासम्म लोडसेडिङ गर्दा समेत पचाउने बानी परि सकेको थियो।
    तर यसपटक एक किसिमले चमत्कार नै भयो। लक्ष्मी पूजा मात्र होइन तिहारको कुनै पनि दिन राजधानीमा एक मिनेट पनि लोडसेडिङ भएन।
    आखिर यो ‘चमत्कार’ कसरी भयो?
    प्राधिकरणको नेतृत्वमा दशैं अघि मात्र कुलमान घिसिङ आएका थिए। दशैं बिदा पछि तिहारमा पर्याप्त बिजुली दिन नसकिने बिगतको नजिरसहित सूचना प्रकाशनको प्रस्ताव लिएर सम्बन्धित विभागका कर्मचारी उनीकहाँ नपुगेका होइनन्।
    उनले जवाफ दिए- ‘यो त उज्यालोको चाड हो। जनतालाई कसरी बत्ती नबाल भन्नु। होस्, सबैले धक फुकाएर बालुन्। पुगेसम्म दिउँला केहि नलागे लोडसेडिङ हुन्छ, जुन सधैं गरिएकै पनि छ। यस पटक पनि त्यहि गरौँला।’
    कर्मचारीलाई यो जवाफ दिएपनि घिसिङको भित्री मनमा अर्कै अठोट थियो- यो तिहारलाई लोडसेडिङ मुक्त बनाउने।
    तिहार अगावैदेखि उनले कर्मचारीलाई लोड व्यवस्थानका लागि सुझाएका थिए। त्यस अनुरुप लोडसेडिङ गर्नै परेको थिएन। कुकुर तिहारको दिनसम्म त्यसमा उनी सफल पनि भए। उपत्यकाबासीमा कुनै औपचारिक मेलोमेसो थिएन, आखिर किन बत्ति गएको छैन?
    धेरैको अनुमान छुट्टीले कल कारखाना नचलेको भन्ने थियो।
    घिसिङले पनि काम नगरि हल्लाखल्ला गर्न बेकार ठाने। उनी कसरी २४ घण्टा ‘अप टु डेट’ बिजुली दिन सकिन्छ भन्नेमा मात्र लागे।
    सबैभन्दा ठूलो खड्गो लक्ष्मी पूजाको दिन थियो। किनभने त्यो दिन देशमा बर्षकै सर्वाधिक धेरै बिजुली माग हुन्छ।
    कार्यालयमा तिहारको बिदा भैसकेको थियो। तर, घिसिङ आफु भने बिल्कुल छुट्टीको मुडमा थिएनन्।
    आफैंलाई चुनौती दिएका थिए- लोडसेडिङ मुक्त तिहार बनाउँछु भन्ने।
    मनमा चलिरहेको एक तमासको द्वन्दका बीच लक्ष्मी पूजाको दिन साँझ पाँच बजे उनी काठमाडौंको स्युचाटारस्थित प्राधिकरणको भारप्रेषण केन्द्र पुगे। बिद्युत माग, आपुर्ती र लोड सेडिङ्को निर्णय लिने र व्यवस्थापन मिलाउने कार्यालय त्यहि हो।
    साँझ पर्दै गए पछि उपत्यकाको विद्युत मागको पारो उकालो लाग्न थाल्यो। स्युचाटार डाँडाबाट उपत्यकाको झिलिमिली तर्फ पनि आँखा लगाउँदै घिसिङ कार्यालयमा रहेको बिजुली माग र आपुर्तीको मिटर अनवरत हेरि रहेका थिए। मागको पारो माथि चढ्दै जाँदा उनको पनि मुटुको धड्कन बढ्दै थियो।
    उनलाई तिहारमा लोडसेडिङ गर्न पाइन्न भनेर कसैले निर्देशन दिएको होइन। उनी आफैंले आफुलाई चुनौति दिएका थिए। सबैभन्दा कठिन परिक्षा त्यहि हुन्छ जब आफैंले आफुलाई चुनौति दिइन्छ।
    घिसिङ यहि तनावमा थिए। मागको पारो बढ्दै गएर ३०० सय मेगावाट नाघ्यो। त्यतिन्जेलसम्म पनि कतै विद्युत काट्नु परेको थिएन। घिसिङ धैर्य पुर्वक प्रतिक्षामा थिए।
    ३१५ मेगावाटमा पुगेर मागको पारो अडियो। घिसिङले लामो स्वास ताने।
    साँझ टर्दै जाँदा अब मागको पारो ओरालो लाग्न थाल्यो। आठ बजेसम्म हेरेपछि अब थप दबाव पर्दैन भन्नेमा उनी ढुक्क भए।
    राजधानीमा सबै क्षेत्रमा बत्ति त दिइयो। लोडसेडिङ पनि भएन। तर, त्यस अनुरुप सिष्टमले सपोर्ट गर्योि कि गरेन? सबै ठाउँमा बत्ति बल्यो कि बलेन? अब घिसिङ बितरण केन्द्रहरु चियाउन थाले।
    सबै केन्द्रमा जहाँ समस्या आउँछ त्यहाँ तत्काल मर्मतमा दौडी हाल्ने ‘नो लाइट’को जनशक्ति सहितका गाडी स्ट्यान्डबाइ थिए।
    आठ बजे भारप्रेषण केन्द्रबाट निस्किएर दुई घण्टा उपत्यकाका नो लाइट सेन्टरहरु घुमे उनी। कतै पनि कुनै गुनासो आएको थिएन। बत्ति गयो मर्मत गर्न आउनुस भन्ने गुनासोबाट वाक्क दिक्क भएका नो लाइटका कर्मचारी समेत त्यो दिन अचम्मित भए।
    झन्डै ४० लाख जनसंख्या रहेको उपत्याकामा लक्ष्मी पूजाको साँझ जम्मा एक ठाउँको ट्रान्सफरमरमा समस्या देखियो। बुढानिलकण्ठको एउटा ट्रान्फरमरको एउटा फेजमा समस्या थियो। त्यो फेजबाट विद्युत जाने केही घरको बत्ती भोल्टेज नपुगेपछि मधुरो बलेको थियो।
    ट्रान्सफरमरका तीनमध्ये दुईवटा फेज चालु थिए। बिग्रेको फेजका ग्राहकलाई प्राधिकरणको प्राविधिक टोलीले तत्काल चालु रहेका दुई फेज अन्तर्गत सारिदिए।
    तर, त्यहींबाट धेरै लामो तार तानेर बिजुली लगेका दुई घरमा भने फेज सिफ्ट गरेर बिद्युत पठाउन संभव नै भएन। यसरी लक्ष्मीपुजाको साँझ बुढानिलकण्ठका ती दुई घर बाहेक बत्ति नपाउने अरु कुनै घर थिएनन्।
    त्यहि एउटा ट्रान्सफरमरबाहेक अरु कतै पनि समस्या नदेखिएपछि काठमाडौँको वितरण प्रणाली चुस्त छ भन्नेमा घिसिङ ढुक्क भए।
    हिजो र आजको कर्मचारीदेखि सिष्टमसम्म सबै त्यहि थियो। विद्युत उत्पादन गर्ने आयोजना तिनै थिए, भारतदेखि आपूर्ती गर्ने र एकदेखि अर्को ठाउँसम्म विद्युत लोड पठाउने प्रशारण लाइन त्यही थियो। मात्रै विद्युत प्राधिकरणको नेतृत्व मात्र फेरिएको थियो। एउटा मात्र मान्छे परिवर्तन हुँदा पनि यत्रो धेरै चमत्कार हुन्छ? घिसिङलाई बिजमाण्डूको प्रश्न थियो।
    उनले जवाफ दिए- ‘हो नेतृत्वको प्रतिबद्धता र अपनत्वभावले संस्थाको गतिलाई अवश्य प्रभाव पार्छ।’
    घिसिङ इलेक्ट्रिकल इन्जिनयर हुन्। उनले प्राधिकरणको सिष्टम बुझेका छन्। साथसाथै उनको अतिरिक्त क्षमता हो व्यवस्थापन। एमबिए पनि गरेका उनले भने, अरुलाई के हुन्छ थाहा छैन तर विद्युतको व्यवस्थापन गर्न मलाई केहि सहज लाग्छ।
    त्यसबाहेक यो नतिजा हासिल गर्न भार प्रेषण केन्द्रका कर्मचारीहरुको दृढता र उत्प्रेरणाको ठूलो हात रहेको उनको भनाइ छ।
    तर, प्रश्न यहाँ व्यवस्थापनको मात्र होइन। विद्युत स्रोत उपलब्धताको पनि हो। सुरु देखि नै लोडसेडिङको उपहार पाएको काठमाडौँका लागि आखिर कहाँबाट ल्याए त घिसिङले त्यत्रो बिजुली?
    उनका अनुसार कुनै नयाँ स्रोतबाट उपत्यकामा बिद्युत भित्र्याएको होइन। मात्र कुशल व्यवस्थापनले यो उपलब्धि हासिल भएको हो।
    काठमाडौँको गृडमा अहिलेसम्म भारतबाट आयात हुने विद्युत जोडिएको छैन।आसपासकै मर्स्याङ्दी, खिम्ती, लामोसाँघु एवं त्रिशुली करिडोरका प्रोजेक्टबाट यहाँ बिजुली आपूर्ति हुँदै आएको छ। यी आयोजनाबाट उत्पादित विद्युतलाई माग र आपुर्तीको सन्तुलन मिलाएर हामीले व्यवस्थापन गर्यौं, उनले भने। अर्थात हिजो जुन बिजुलीका कारण लोडसेडिङ हुन्थ्यो, घिसिङ व्यवस्थापनमा त्यही छेलोखेलो भयो।
    यहाँ रिजर्भवायरको रुपमा जलाशययुक्त ९० मेगावाटको कुलेखानी आयोजना र हेटौँडामा १० मेगावाटको डिजेल प्लान्ट पनि छ।
    घिसिङले यी दुवै प्लान्ट पिक आवरमा मात्र चलाउन भने। अरु बेला अन्य आयोजनाबाट उत्पादित विद्युतको सन्तुलित वितरणले नै लोडसेडिङ हुन दिएनन्।
    तिहारमा काठमाडौंभन्दा पनि बाहिरका लागि कुलेखानी चलाइयो। परिमाण स्वरुप उपत्यकामा त लोडसेडिङ भएन नै। बाहिर समेत कुनै ठाउँमा आपत परेको स्थानमा मात्रै त्यो पनि आधा घण्टाभन्दा बढी बत्ति गएन। धेरै औद्योगिक फिडर भएको क्षेत्रमा मात्र केही समय बिजुली काटिएको उनले बताए।
    ‘तिहारको माग व्यवस्थापन हाम्रो सबै स्रोतलाई अधिकतम उपयोग गरेर गरिएको हो’ घिसिङ भन्छन्।
    जब उपत्यका र बाहिरका समेत धेरै जसो स्थानमा सर्वाधिक मागको दिनसमेत बिना लोडसेडिङ बिजुली पुर्यामउन सफल भए अनि घिसिङको मनमा नयाँ आइडिया जन्मियो- ‘आखिर काठमाडौँको सिष्टम त्यत्रो विधी ठूलो होइन रहेछ।
    अत्यधिक माग हुँदा पनि ३०० मेगावाटभन्दा केहि माथि मात्र बिजुली चाहिने। त्यो पनि बर्षमा एक दिन लक्ष्मी पुजा गर्दा जम्मा दुई घण्टाको हाराहारीमा। अनि किन यहाँ सधैं २४ घण्टा उज्यालो बनाउन नसकिने?’
    दोस्रो दिन देखि नै काठमाडौँमा पिक आवरको माग लक्ष्मी पुजाको तुलनामा २५ मेगावाट हाराहारीले घट्यो। अहिले साँझको पिक आवरमा उपत्यकाको विद्युत माग २७५ देखि ३०० मेगावाट हाराहारी पुग्ने गरेको छ।
    दिउँसोको माग त अझ १५० देखि २०० मेगावाट मात्र रहने घिसिङ बताउँछन्। राती ११ देखि बिहान तीन बजेसम्म १०० मेगावाट हाराहारी विद्युतले पुग्छ। काठमाडौंदेखि बनेपा धुलिखेलमा भएका उद्योगको खपत जम्मा १२ मेगावाट मात्र हो।
    त्यही दिन उनी दश वर्षदेखि सात प्रधानमन्त्री, दर्जन हाराहारीका उर्जामन्त्री र आधा दर्जन विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकले फलाकिरहेको तर कहिल्यै पूरा नभएको नयाँ योजनामा जुटे। त्यो थियो लोडसेडिङ मुक्त देश।
    त्यसका लागि घिसिङले काठमाडौंलाई मोडलका रुपमा राखे। ‘व्यवस्थापन गर्न सक्ने आधार हुँदा हुँदै काठमाडौँलाई अँध्यारोमा किन राख्ने? यहाँ लोडसेडिङ किन गर्नु पर्योँ?’ घिसिङले केहि नयाँ गर्ने अठोट लिए।
    उनले भोलिपल्टै प्राधिकरणका सबै उच्च पदस्थको बैठक डाके। त्यहिँबाट उपत्यकालाई लोडसेडिङ मुक्त गराउँदा सिष्टमले कति सघाउँछ भनेर अध्ययन गर्न समिति गठन गरियो।
    घिसिङलाई लाग्छ काठमाडौँलाई लोडसेडिङ मुक्त गराउन प्राविधिक रुपमा कुनै कठिनाइ छैन। देशैभरका मानिस बस्ने यो शहरलाई उज्यालो बनाउन राजनीतिक प्रतिबद्धता भए तत्कालै संभव हुने उनको विश्वास छ। तर, काठमाडौँमा बत्ति दिएर बाहिर अँध्यारो पारियो जस्ता सस्ता राजनीतिक नारा नआउन् भनेर उनले यसमा सबै दलको प्रतिबद्धता खोजेका छन्।
    ‘हाम्रो चाहना बाहिरको भाग खोसेर यहाँ उज्यालो बनाउँ भन्ने बिल्कुल होइन, उनी भन्छन्- बाहिर पनि संभव भएका ठाउँमा क्रमशः लोडसेडिङ अन्त्य गर्दै लैजाने हो, राजधानीमा तत्कालै संभावना देखिएको हुँदा सबैको साथ खोजेका हौँ।’
    एक त राजधानी अर्को त प्राविधिक रुपमा लोड व्यवस्थापन गर्न सहज। यीनै कारण उनले उपत्यकाबाटै लोडसेडिङ मुक्त अभियान सुरु गर्न खोजेका हुन्। ‘२२ घण्टा २०० मेगावाट विद्युत व्यवस्थापन गरे पुग्ने। दिउँसो नचलाउने हो भने पिक आवर दुई घण्टा त कुलेखानीबाट ९० मेगावाट थपिन्छ’ उनी भन्छन्।
    कुलेखानी साँझको लागि जोगाएर बाँकी २०० मेगावाट कताबाट पुर्याेउने ?
    घिसिङले उपाय सुझाए- ‘सुक्खा याममा समेत खिम्ति, त्रिशुली, लामोसाँघु एवं मर्स्याङ्दी करिडोरका प्रोजेक्टबाट २०० मेगावाट विद्युत काठमाडौं आउँछ। साँझमा कुलेखानी हिउँदभरी एकदेखि डेढ घण्टा चलाउन कुनै समस्या पर्दैन। काठमाडौँलाई चाहिएकै त्यति मात्रै हो, त्यहाँभन्दा धेरै होइन्।’
    काठमाडौँलाई लोडसेडिङ मुक्त घोषणा गर्न सबै दल सहमत होलान्/ नहोलान्? अध्ययन समितिले के प्रतिवेदन देला? यी प्रश्नको उत्तर अझै गौण नै छ। तर, घिसिङले माथि उल्लेखित फर्मुला लगाएर तिहार अगावै देखि अझैसम्म निरन्तरत काठमाडौँलाई २४ घण्टा उज्यालोमा राखेका छन्।
    Source: bizmandu