पर्वत । चौधरी ग्रूपको लगानीमा पर्वतको मोदीखोलामा निर्माणाधीन मध्यमोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । अहिलेसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । २०७१ मङ्सिर ७ गतेदेखि औपचारिक रूपमा निर्माण कार्य शुरू गरेको आयोजनाको आधा काम सकिएको आयोजना कार्यालयले जानकारी दिएको हो । आयोजनाको कुल लागत रू. २ अर्ब ८० करोड रहेको छ । १५ दशमलव १ मेगावाट क्षमताको सो आयोजनाको निर्माण भूकम्प, नाकाबन्दीलगायत कारणले ढिलाइ भएको आयोजना स्रोतले बताएको हो । आयोजनाको २०७४ मङ्सिरभित्र निर्माण पूरा गरी उत्पादन थाल्ने तयारी थियो ।
आयोजना प्रमुख सुदर्शन शेरचनले भूकम्प र नाकाबन्दीका कारण निर्धारित समयमा निर्माण पूरा हुन नसके पनि पछिल्लो १ वर्षमा निर्माण कार्य तीव्ररूपमा भइरहेको बताए । उनका अनुसार अहिले काम भइरहेकै गतिमा काम भएमा अबको १ वर्षभित्र आयोजना पूरा हुन्छ । सम्झौताअनुसारको समयमा काम नसकिएपछि आयोजनाको वित्तीय खर्च पनि बढ्ने उनले बताए । आयोजना स्रोतका अनुसार आयोजनामा ५० प्रतिशत लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको भारतीय कोष्टर कम्पनीले लगानीमा चासो नदेखाउँदा आयोजना शुरू हुन ४ महीना ढिलाइ भएको थियो । कन्ष्ट्रक्शन निर्माणको जिम्मा लिएको हिमाल हाइड्रोले गतवर्षदेखि सबकण्ट्याक्टमा केही भागको काम फेवा कन्ष्ट्रक्शनलाई जिम्मा लगाएको थियो । अहिले सुरुङ, बाँध र विद्युत्गृह निर्माणको काम अघि बढिरहेको आयोजनाका इञ्जिनीयर सञ्जीव कार्कीले बताए ।
सुरुङ निर्माण गरी बाँध र ट्रान्समिशन निर्माणको काम भइरहेको आयोजनाले बताएको छ । बाँधदेखि विद्युत्गृहसम्म २ हजार ८ सय मिटर लामो सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलाको किनारमा खसाएर विद्युत् उत्पादन गरिनेछ । देउपुरको केरुङमा जोड्ने गरी २ ओटा टावर निर्माणको प्राविधिकतर्फको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख शेरचनले बताए । आयोजनासम्म सामान ढुवानी गर्न मोदीखोलामा पुल, आयोजनाको आफ्नै क्रशर उद्योग सञ्चालन भइसकेका छन् ।
अहिलेसम्म झण्डै १ हजार ८ सय मिटर सुरुङ खनिसकिएको छ । ‘पावरहाउसमा निर्माणको काम भइरहेको छ, सुरुङको काम पनि भइरहेको छ,’ आयोजनाका कर्मचारी कृष्ण रिमालले भने, ‘१ सातामा विद्युत्गृहलगायतका संरचना सम्पन्न हुनेछ ।’
पछिल्ला केही महीनायता समग्र प्रगति उत्साहजनक रहेको उनले बताए । सुरुङको काम ६० प्रतिशत सकिए पनि समग्र प्राविधिक र भौतिकतर्फको प्रगति तुलना गर्दा ५० प्रतिशतको हाराहारीमा सकिएको रिमालले जानकारी दिए ।
-आर्थिक अभियान राष्ट्रिय दैनिक