भारतीय विद्युत् बजारमा विभेदरहित पहुँच अझै सुनिश्चित भएन

    193

    भारत र नेपालबीच भएको विद्युत् व्यापार सम्झौता (पिटिए) अनुसार भारतीय विद्युत् बजारमा नेपालको विभेदरहित पहुँच अझै सुनिश्चित हुन सकेको छैन । बिहीबार भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न परराष्ट्रमन्त्री सम्मिलित नेपाल–भारत संयुक्त आयोगको बैठकले पनि यस विषयमा टुंगो नलगाएको हो । बैठकमा नेपालले पिटिएमा भएको खुला बजारको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने विषय प्रमुख रूपमा उठाएको थियो ।

    बैठकपछि निकालिएको संयुक्त वक्तव्यमा भनिएको छ, ‘सन् २०१४ मा गरिएको विद्युत् व्यापार सम्झौतामा भएको खुला बजारको व्यवस्था सञ्चालनका लागि नेपालले अनुरोध ग-यो, भारतले विद्युत् व्यापारका लागि नयाँ  सीमापार नियमन तथा निर्देशिकाबारे चाँडै नेपाललाई जानकारी गराउने उल्लेख ग-यो ।’

    यसबाट भारतीय बजारमा अझै नेपालको विभेदरहित पहुँच अझै सुनिश्चित नभएको बैठकमा सहभागी एक नेपाली प्रतिनिधिले बताए । ‘नयाँ सीमापार विद्युत् नियमन तथा निर्देशिका पिटिएमा भएको व्यवस्थाअनुसार बन्छ–बन्दैन अझै सुनिश्चित भएको छैन,’ उनले भने, ‘बैठकमा त्यसबारेमा विस्तृत छलफल पनि भएन ।’ दुई मुलुकबीच ४ कात्तिक ०७१ मा विद्युत् व्यापार, सीमापार प्रसारण लाइन संयोजन एवं प्रसारण सञ्जाल संयोजनसम्बन्धी सम्झौता (पिटिए) भएको थियो । पिटिएको धारा २ (ख)मा दुई मलुकले साझा विद्युत् बजारमा सबै आधिकारिक–अनुमतिपत्रप्राप्त सहभागीलाई सीमापार प्रसारणलाइन संयोजनमा विभेदरहित पहुँच प्रदान गर्न सहमत भएको  उल्लेख छ ।

    भारतले बनाइरहेको नियमन तथा निर्देशिकामा पिटिएको व्यवस्थालाई समेट्न नेपालले विशेष पहल गर्नुपर्ने ती नेपाली प्रतिनिधिले बताए । ‘विभेदरहित खुला बजारको पहुँच भारतको भन्दा नेपालको प्राथमिकता र अहिलेको आवश्यकता हो,’ उनले भने, ‘त्यसैले यसलाई भारतीय नीति तथा निर्देशिकामा पर्ने सुनिश्चित गर्न नेपालले राजनीतिक, कूटनीतिक र प्रशासनिक तहबाट विशेष पहल गर्नुपर्छ ।’ नयाँ नियमन तथा निर्देशिका तयार भएपछि खुला बजारको अवधारणा कार्यान्वयन हुने भारतले बताउँदै आएको छ ।

    एउटै कम्पनीसँग विद्युत् किन्न बाध्य
    पिटिएअनुसार भारतीय विद्युत् बजारमा विभेदरहित पहुँच नपाएपछि नेपालले भारतीय सरकारले तोकेको सम्पर्क निकाय (नोडल एजेन्सी)सँग विद्युत् किन्न बाध्य छ । नेपालसँगको क्रस बोर्डबाट हुने विद्युत्को व्यापारका लागि भारतले एनटिपिसी विद्युत् व्यापार निगमलाई नोडल एजेन्सी तोकेको छ । ‘खुला पहुँच भएमा जुनसकै भारतीय कम्पनीसँग विद्युत् किन्न सक्थ्यौँ,’ नेपाल विद्युत् प्राधिकरण स्रोतले भन्यो, ‘अहिले नोडल एजेन्सीसँग र उसले तोकेको मूल्यमा किन्न बाध्य छौँ ।’

    विद्युत् निकासी गर्ने आयोजना पनि अन्योलमा
    बजार खुला नगरिँदा नेपालमा जलविद्युत् आयोजना बनाएर भारत तथा बंगलादेशमा विद्युत् निर्यात गर्ने लक्ष्य राखेका आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्न सकेका छैनन् । भारतीय कम्पनी जिएमआर र सतजल जलविद्युत् निगमले भारतमा विद्युत् निर्यातको लक्ष्य राखी ९-९ सय मेगावाटका क्रमशः माथिल्लो कर्णाली र अरुण तेस्रो निर्माण गर्न लागेका छन् । दुई कम्पनीले खुला विद्युत् बिक्रीको पहुँचको पहल गरिदिन दुवै पक्षका सरकारी अधिकारीहरूलाई आग्रह गर्दै आएका छन् । अन्य कैयौँ भारतीय कम्पनीले विद्युत् निर्यात गर्ने लक्ष्य राखी नेपालका जलविद्युत् आयोजनका लाइसेन्स लिएका छन् । नर्वेजियन कम्पनी स्ट्याटक्राफ्टले विद्युत् निकासीका लागि अपर्याप्त प्रसारण क्षमता संरचना र नीति तथा नियमको अभाव रहेको भन्दै ६ सय ५० मेगावाटको तामाकोसी तस्रो आयोजना नबनाउने निर्णय गरेको थियो ।

    तिहारमा २५ मेगावाट दिन भारत तयार
    तिहारका वेला ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारणलाइनमार्फत २५ मेगावाट विद्युत् आयात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीका अनुसार, कुकुर तिहार, लक्ष्मीपूजा र गोवद्र्धन पूजाका दिन ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारणलाइनबाट २५ मेगावाट विद्युत् आयात हुनेछ । ‘त्यहाँबाट विद्युत् आयात गर्ने सम्झौताको म्याद नै सकिएको थियो, ऊर्जामन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकको विशेष पहलमा तिहारका ३ दिन २५ मेगावाट दिन एनटिपिसी विद्युत् व्यापार निगमन सहमत भएको हो,’ उनले भने । त्यसरी आयात हुने विद्युत्को खरिद दर प्रतियुनिट ३.६० भारु (५ रुपैयाँ ७६ पैसा) हुने जानकारी उनले दिए ।

    तिहारमा विद्युत्को माग करिब १ हजार ५ सय मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ । त्यसमध्ये ९ सय ५० मेगावाट आपूर्ति हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले तिहारमा उद्योग कलकारखाना बन्द हुँदा माग कम हुने र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए निर्माण सकिने तथा भूकम्पले क्षति पुगेको भोटेकोसीको मर्मत सकिने प्रक्षेपण गरेको थियो । त्यही आधारमा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा ढल्केबर–मुजफ्फपुरबाट विद्युत् आयात नगर्ने निर्णय प्राधिकरणले गरेको थियो । तर, दुवै आयोजनाले विद्युत् उत्पादन गर्न सकेका छैनन् ।

    Posted by: Naya Patrika