बिजुली कम भएपछि भार व्यवस्थापनमा समस्या झेल्दै प्राधिकरण

    211

    हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ ।

    गत वर्षदेखि देशव्यापी रुपमा नै विद्युत्भार कटौतीमुक्त गरिएको छ । तर त्यसलाई निरन्तरता दिन दैनिकजसो नै प्राधिकरणको उच्च नेतृत्वले पापड पेलिरहेको छ ।

    प्राधिरकणका अनुसार हाल दैनिक विद्युत् माग एक हजार ३८५ मेगावाटको हाराहारीमा छ । केन्द्रीय प्रसारण लाइनमा करिब तीन सय मेगावाट विद्युत् अपुग हुँदै आएको छ । आन्तरिक रुपमा प्राधिकरणको करिब ३८०, निजी प्रवद्र्धकको २८० र भारतबाट ३७० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ ।

    प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घण्टा विद्युत् कटौती गर्दै आएको छ । हाल नेपालको उत्पादित विद्युत् जडित क्षमता एक हजार १० मेगावाट रहेको छ । तर हिउँदको समयमा कूल जडित क्षमताको करिब ५० प्रतिशतको हाराहारीमा मात्रै विद्युत् उत्पादन हुने गरेको छ । माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा विद्युत् व्यवस्थापनका लागि समस्या पर्दै आएको छ ।

    पुराना संरचना र जीर्ण प्रसारण लाइन तथा वितरण प्रणालीका कारण देशका विभिन्न स्थानमा समस्या आइरहेको छ । भक्तपुरमा पछिल्लो दिनमा देखिएको समस्या त्यसैको उपज भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीको भनाइ छ ।

    प्राधिकरणले सबस्टेशनको मर्मत, प्रसारण लाइनको मर्मत तथा नयाँ संरचना निर्माणमा जोड दिएर तत्कालको व्यवस्थापन गर्दै आएको छ । हिउँदको माग सम्बोधन गर्न प्राधिकरणले ४७० मेगावाट आयात गर्ने लक्ष्य राखेको छ । माग र आपूर्तिबीचको चर्को असन्तुलनका कारण विद्युत् वितरणमा समस्या आएको भन्दै सकेसम्म मिलाएर व्यवस्थापन गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

    दशैँलगत्तै भक्तपुरको सबस्टेशनमा मुसा छिरेर प्रसारण प्रणाली अवरुद्ध गरायो भने शुक्रबार बाँकेको कुसुममा जंगली हात्तीले प्रसारण प्रणालीमा क्षति पुरयाउँदा सुदूरुपश्चिम र मध्यपश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या खडा गरेको छ ।

    प्राधिकरणको ‘पावर बैंक’का रुपमा रहेको कुलेखानीमा गत वर्षभन्दा यस वर्ष बढी पानी जम्मा भएका कारण समस्या कम हुने प्राधिकरणको प्रक्षेपण छ । प्रसारण लाइन बिग्रँदा तथा अन्य आयोजनाबाट विद्युत् उत्पादनमा समस्या आउँदा चलाउने गरी कुलेखानीको पानी जम्मा गरेर राखिएको प्राधिकरणको भनाइ छ । भार व्यवस्थापनमा कुलेखानीको यस हिउँदमा महत्वपूर्ण सहयोग हुने कुलेखानी प्रथम आयोजनाका प्रमुख रामकुमार यादवको भनाइ छ ।

    कुलेखानीमा हाल पानीको सतह एक हजार ५२४ मिटरमा रहेको छ । हिउँदभर ९२ मेगावाट विद्युत् उत्पादनका लागि उक्त परिणामको पानी उल्लेख्य रहेको प्राधिकरणको बुझाइ छ । यसै महिनाको अन्तिम साताबाट मात्रै कुलेखानी चलाउने योजनामा प्राधिकरण छ ।

    कुलेखानी जलाशयका कारण हाल दुईवटा विद्युत्गृहले विद्युत् उत्पादन गर्ने गरेको छ । कुलेखानी तेस्रो निर्माणमा संलग्न निर्माण व्यवसायीले समयमा काम नगर्दा थप १४ मेगावाट विद्युत् उत्पादन गर्ने पानी त्यत्तिकै खेर फाल्नु परिरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन गर्ने बताइए पनि सम्भावना कम रहेको बताइन्छ ।

    यस्तै काबेली करिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेका तीन आयोजनासमेत समस्यामा परेका छन् । काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको भए राष्ट्रिय प्रसारण लाइनमा ५७ मेगावाट विद्युत् थप हुने भए पनि प्राधिकरणले ध्यान नदिएको काबेली ‘बी’ एक आयोजनाका प्रमुख रमेशकुमार न्यौपानेको भनाइ छ ।

    उता प्रसारण लाइनको अभावमा दोलखाको सिप्रिङखोला जलविद्युत् आयोजनासमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या पैदा भएको छ । सो आयोजनाले १० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । तीन मेगावाट विद्युत् माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले प्रयोग गरिरहेको छ भने बाँकी विद्युत् खेर गइरहेको छ ।

    चालु आवको ५ महिनामा निजी क्षेत्रका सात आयोजनाले ४० मेगावाट विद्युत् थप गरेका छन् । तर हिउँदमा ती आयोजनाले मात्रै २० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन गरिरहेका छन् । हिउँदको समयमा नदीमा पानीको सतह घटेका कारण प्राधिकरणको ‘पावर बैंक’का रुपमा रहेका मुलुककै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’ले ८० मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाको क्षमता १४४ मेगावाट छ ।

    प्राधिकरणले साँझको समयमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गर्दै विद्युत् व्यवस्थापनमा सहयोग गर्न गत वर्ष जस्तै आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबैको सहयोगले गत वर्ष जस्तै यस वर्षको हिउँदमा समेत विद्युत् व्यवस्थापनमा आफूहरु सफल हुने बताए ।

    प्राधिकरणले यस वर्ष नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाएको २५ मेगावाटको सौर्य ऊर्जा उत्पादन प्रणाली प्रक्रियामा देखिएको विवादका कारण रोकिन गयो ।

    कुलेखानी तेस्रो आयोजनामा निर्माण व्यवसायीले धोका दिए पनि निर्माण शुरु भएको करिब ११ वर्षपछि ३० मेगावाट क्षमताको चमेलिया आयोजना निर्माण सम्पन्न भएको छ । सो आयोजनाका कारण सुदूर र मध्यपश्चिममा विद्युत् व्यवस्थापनमा सहयोग पुग्ने जनाएको छ ।

    रासस