१० वर्षपछि समुदायको पहलमा तीन गाविसमा विद्युत विस्तार

    2633

    कात्तिक ४, खोटाङ  । समुदायको पहलमा खोटाङको पश्चिमी तीन गाविसमा विद्युत विस्तार गरिएको छ । हलेसी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड दुर्छिमको पहलमा दुर्छिम, बडहरे र मङ्गलटार गाविसमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरिएको हो ।

    दुर्छिमको छापडाँडामा बुधवार आयोजना गरिएको विद्युत् उद्घाटन कार्यक्रममा पञ्चेबाजासहित सांसद पाँचकर्ण राई (पिके)ले स्विच दबाएर उद्घाटन गरेका हुन् । विद्युत् उद्घाटनसँगै तीन गाविसका पाँच सय ५० घरमा बत्ती बलेको छ । दुई करोड चार लाखको लगानीमा पहिलो चरणमा दुर्छिम का वडा नं १, ५, ६, ७ र ८, बडहरे का वडा नं ७, ८ र ९ तथा मङ्गलटारका वडा नं ८ र ९ मा १० वर्षको प्रयासपछि विद्युत् विस्तार गरिएको सहकारी संस्थाका उपाध्यक्ष खडेन्द्र राईले बताए ।

    दोस्रो चरणमा दुर्छिम, बडहरे र मङ्गलटारका अन्य वडामा विद्युत् विस्तारका काम गरिने उपाध्यक्ष राईले जानकारी दिए ।  दातृ निकाय जिआइजेडको रू. २१ लाख, पाँच गाविसको रू. ३८ लाख, जिविसको रू. एक लाख र शेयर सदस्यबाट सङ्कलित रू. दुई लाख ३८ हजार गरी जम्मा रू. ६२ लाख ३८ हजारको खर्चमा तीन गाविसका केही वडामा बत्ती बिस्तार गरिएको सहकारीका अध्यक्ष कुवेर राईले जानकारी दिए । हलेसी क्षेत्रका महादेवस्थान, धितुङ, दुर्छिम, सल्ले, मङ्गलटार, च्यास्मिटार, बाहुनीडाँडा र डिकुवा गाविसमा बत्ती बाल्ने लक्ष्यका साथ दश वर्षअघि काम थालिएको थियो । रासस