पिपिए भए पनि वित्तीय व्यवस्थापन बाँकी

    498

    अघिल्लो वर्ष पिपिए भएका ५१ जलविद्युत् कम्पनीको वित्तीय व्यवस्थापन अझै भएन –

    गत आव ०७३-७४ मा विभिन्न ५१ वटा निजी जलविद्युत् प्रवद्र्धकहरूले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता
    ‘पिपिए’ गरेका छन् । कुल ९ सय १० मेगावाट उत्पादन क्षमता रहेका ती कम्पनीहरूको पिपिए भए पनि वित्तीय व्यवस्थापनको काम भने अझै बाँकी रहेको छ ।

    वित्तीय व्यवस्थापन हुन नसक्दा यी कम्पनीहरूले काम अगाडि बढाउन सकेका छैनन् । वित्तीय व्यवस्थापन हुन नसक्दा आयोजना अगाडि बढाउन नसकेका कम्पनीहरूमा २३ किलोवाटदेखि ६२ मेगावाट क्षमतासम्मका आयोजनाहरू रहेका छन् ।

    वित्तीय व्यवस्थापन हुन नसकेका आयोजनामा सबैभन्दा सानो स्युरी भूमि माइक्रो हाइड्रोले नुवाकोटको लेगुवा खोलामा निर्माण गर्न लागेको २३ किलोवाट क्षमताको आयोजना रहेको छ भने सबैभन्दा ठूलो सालासुंगी पावर लिमिटेडले रसुवामा निर्माण गर्न लागेको ७८ मेगावाटको सान्जेन खोला रहेको छ । ती आयोजनाहरू वातावरणीय मूल्यांकन र प्राधिकरणसँग केही सर्तमा नेगोसिएसन गरिरहेका कारण केही समस्या भएको हुन सक्ने स्वतन्त्र ऊर्जा उत्पादक संघ ‘इपान’का पूर्वअध्यक्ष खड्गबहादुर विष्टले बताए । ‘मुख्य रूपमा पिपिए र इआइएका बारेमा धेरै समय लाग्छ,’ विष्टले भने, ‘कुनै–कुनै आयोजनामा विद्युत् उत्पादन लाइसेन्स नभएका कारण पनि केही समस्या परेको हुन सक्छ ।’

    तरलता अभावले लगानी जुटाउन समस्या
    वित्तीय व्यवस्थापनको मुख्य पाटो लगानी जुटाउनु हो । जलविद्युत् आयोजनामा लामो समयका लागि ठूलो लगानी गर्नुपर्ने भएकाले पनि यस्तो समस्या देखिने गरेको अध्यक्ष विष्टले बताए । ‘प्रवद्र्धकहरूले लगानी जुटाउन बैंकसँग ऋण लिनैपर्ने हुन्छ,’ उनले भने, ‘अहिले बैंकमा देखिएको तरलता अभावको ब्याज चर्को रहेको छ, त्यसले पनि लगानी जुटाउन समस्या भएको हो ।’ प्राधिकरणले वातावरणीय मूल्यांकन गरिसकेपछि पिपिएको कन्डिसनका आधारमा लगानी जुटाउन न्यूनतम १८ महिनादेखि २ वर्षसम्मको म्याद दिएको हुन्छ । तर, वेलैमा लगानी जुटाउन नसक्दा एकातिर आयोजनाको आन्तरिक खर्च धेरै हुन्छ भने समयमा आयोजना सम्पन्न हुन सक्दैनन् ।

    यी हुन् वित्तीय व्यवस्थापन नभएका आयोजना
    वित्तीय व्यवस्थापन हुन नसकेका आयोजनाहरूमा बलेफीखोला सिन्धुपाल्चोक २३ मेगावाट, अपर मैलुन खोला रसुवा १४ मेगावाट, सभाखोला संखुवासभा ८.३ मेगावाट, खिम्ती–२ दोलखा ४९ मेगावाट र युनाइटेड मोदी १०.५ मेगावाट पर्वत रहेका छन् । त्यस्तै आँखुखोला धादिङ ३४ मेगावाट, त्रिशूली गल्छी नुवाकोट र धादिङ ७५ मेगावाट, लिपिङ खोला सिन्धुपाल्चोक १६ मेगावाट, अपर लाप्चे दोलखा ५३ मेगावाट, अपर न्यासम खोला सिन्धुपाल्चोक ४२ मेगावाट र लोअर लिखु रामेछाप २८ मेगावाटको पनि वित्तीय व्यवस्थापन हुन बाँकी छ । त्यस्तै वित्तीय व्यवस्थापन हुन बाँकी अन्य आयोजनामा मध्य तमोर ताप्लेजुङ ५२ मेगावाट, अपर मादी कास्की ४४ मेगावाट, निलगिरि खोला म्याग्दी ३८ मेगावाट सुपर आँखुखोला–२ धादिङ २३.५ मेगावाट रहेका छन् ।

     

    स्रोत : नयाँ पत्रिका