जोखिममा जलविद्युत

उच्च जोखिममा रहेको ठुलागी हिमताल । तस्वीर सौजन्य: इसिमोड

एउटै नदीमा दर्जनौँ जलविद्युत आयोजनाहरु निर्माण गर्दा एउटै प्रकोपबाट सबै आयोजना स्वाहा हुने र राज्यले बेहोर्नै नसक्ने क्षति हुन सक्छ ।

Middle Marsyangdi Pwerhouseगत ४ साउन बिहान चार बजे चार मेगावाट क्षमताको खुदी जलविद्युत आयोजनामा अचानक पानीको अभाव भयो । बाँधमा पानी कम हुँदै गएको खबर आएपछि एउटा मात्र टर्वाईन चलाइयो तर, केही बेरमा त्यो पनि बन्द गर्नु पर्ने अवस्था आयो ।

खुदी खोलाको सिरान प्रोवीमा गएको पहिरोले खोला थुनेपछि पूर्ण क्षमतामा चलिरहेको आयोजना बन्द गर्नुपर्‍यो । धन्न, पहिरोले थुनिएको बाँध एकै पटक फुटेन । त्यसो भएको भए खुदी खोला किनारका सिम्पानी, खुदी बजार लगायतका बस्तीहरु स्वाहा हुनसक्थे भने पावर हाउस पनि नरहनसक्थ्यो । खुदी जलविद्युत आयोजना नेपालको सबभन्दा जोखिममा रहेको आयोजना भएको यसका प्रवर्द्धकहरु स्वीकार्छन् ।

नेपालले भोगिरहेको उर्जा संकट कम गर्न जलविद्युतलाई सरकारले प्रोत्साहन गरिरहेका बेला स्वदेशी–विदेशी लगानीकर्ताहरु उत्साहित भएपनि निर्माणका बेला प्रकोप जोखिमप्रति पर्याप्त ध्यान नदिँदा आयोजनाहरु जोखिममा छन् । यसको एउटा उदाहरण खुदी जलविद्युत आयोजना नै हो, जसको बाँधदेखि पावर हाउसम्मको पाईपलाईन खोला किनारमा राखिएको छ । खोलामा बाढी आएपिच्छे पाईप बगाउने र पावर हाउसमा पनि पानी पस्ने गरेको छ । आयोजनाका फिल्ड कार्यालय प्रमुख कमल रोका भन्छन्, “पावर हाउसको संरचना खोलाको पानीले छुने गरी बनाउनु हुँदैनथ्यो ।”

जलविद्युतको जोखिम
मनाङको खाङसार र जारसाङ खोला मिलेर बनेको मर्स्याङ्दी नदीमा मात्र अहिले १२ देखि ६०० मेगावाट (कुल २१८४ मेगावाट) क्षमताका १८ आयोजना/परियोजना निर्माणधिन छन् । हिउँ पग्लेर बग्ने यो हिमनदीमा पानीको बहाव तिब्र भएकाले विद्युत उत्पादनका लागि उपुयुक्त मानिएको छ । तर, मर्स्याङ्दी प्राकृतिक प्रकोपको दृष्टीकोणले उच्च जोखिममा रहेको नदी भएको जलविद्युत आयोजनाको बातावरणिय प्रभाव मुल्याङ्कन गर्ने हाईड्रो कन्सर्न प्रालि काठमाडौँका डा. चुडामणी जोशी बताउँछन् ।

मनाङ र लमजुङका हिमतालहरु फुट्ने र हिउँ पहिरोले नदी थुनिने जोखिम मस्र्याङ्दीमा उच्च छ । एउटै ठूलो प्रकोपले मर्स्याङ्दीका सबै जलविद्युत आयोजना बढारिदिने खतरा छ । लमजुङ र मनाङका सबै नदी–नाला मिसिने मर्स्याङ्दीलाई मनाङको ताल बजार क्षेत्रको ठूलो पहरो र नदीको वीचका ठूला ढुङ्गाहरुले कुनै पनि बेला थुन्नसक्ने खतरा छ ।

उच्च जोखिममा रहेका मनाङका ठुलागी, तिलिचो, गंगापूर्ण लगायतका हिमतालहरु फुट्दा वा हिम पहिरो आउँदा मस्र्याङ्दी नदीमै मिसिन्छन् ।

खर्बौंको क्षति 
एक मेगावाट विद्युत उत्पादनका लागि रु. १२ करोडदेखि २० करोड सम्म लाग्ने जानकारहरु बताउँछन् । मध्यमर्स्याङ्दी जस्ता आयोजनामा त यसको दोब्बर लागत लागेको छ । रु.१३ अर्व अनुमानित लागतको मध्यमर्स्याङ्दी निर्माण सम्पन्न गर्दा रु.२६ अर्व लागेको थियो । मर्स्याङ्दी नदीमा निर्माणाधिन आयोजनाहरुको लागत एक मेगावाट बराबर रु.१५ करोडदेखि २६ करोडसम्म छ । यी आयोजनाहरु सकिंदा रु.४ खर्ब ३७ अर्ब लाग्छ ।

हाईड्रो कन्सर्न प्रालि काठमाडौँका डा. चुडामणी जोशी जलविद्युत आयोजनाले देशलाई जति फाईदा हुन्छ, यसको विनाश हुँदा दोब्बर घाटा हुने बताउँछन् । यस्तो अवस्थामा सबभन्दा पहिले त जलविद्युत आयोजनाको अनुमति दिँदा सरकारले नै बढी बिचार पुर्‍याउनुपर्ने देखिन्छ ।

मर्स्याङदीमा डेढ दर्जन आयोजनाः
नाम                                                          क्षमता

१. माथिल्लो मर्स्याङदी २ ———————— ६०० मेगावाट

२. माथिल्लो मर्स्याङदी १ ———————–  १५० मेगावाट

३. अपर मर्स्याङदी १  ————————— १३८ मेगावाट

४. माथिल्लो मर्स्याङदी  १ ———————– १०० मेगावाट

५. माथिल्लो मर्स्याङदी ————————- ८० मेगावाट

६. मध्यमर्स्याङदी——————————- ७० मेगावाट (सम्पन्न)

७. मर्स्याङदी————————————६९ मेगावाट (सम्पन्न )

८. माथिल्लो मर्स्याङदी ए————————-५० मेगावाट

९. मर्स्याङदी बेसी ——————————-५० मेगावाट

१०. मर्स्याङदी चिप्ला—————————-५५.५ मेगावाट

११. मर्स्याङदी———————————–५० मेगावाट

१२. तल्लो मर्स्याङदी—————————-२१० मेगावाट

१३. मर्स्याङदी बगरछाप————————-६० मेगावाट

१४. अपर मर्स्याङदी ७—————————४८ मेगावाट

१५. मर्स्याङदी स्याँगे—————————-२० मेगावाट

१६. हुम्डे मर्स्याङदी——————————१२ मेगावट

१७. मनाङ मर्स्याङदी—————————-१४० मेगावाट

१८. लोअर मनाङ मर्स्याङ्दी———————-१४० मेगावाट

@ हिमालखबर