जलविद्युत कम्पनीमा लाभांश कम, सेयर मूल्य बढ्दो

    1240

    लाभांश दिने क्षमता कमजोर रहेका केही जलविद्युत कम्पनीहरुको अहिले बजारमा सेयर मूल्य उच्च दरले बढेको छ। अस्वभाविक रुपमा जलविद्युतसहित केही कम्पनीहरुको सेयर मूल्य बढेपछि नेपाल धितोपत्र बोर्डले समेत लगानीकर्ताहरुलाई २ पटकसम्म सजगता गराइसकेको छ।

    दोस्रो बजारमा जलविद्युत कम्पनीहरुको सेयर किनेर तत्कालै लिने लाभांश तुलनात्मक रुपमा कम रहेको विश्लेषकहरुको भनाई छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको वित्तीय अवस्था हेर्दा पनि आगामी वर्षमा केही कम्पनीको लाभांश दिने क्षमता शून्य छ।

    तत्काल प्रतिफल नदिने निश्चित भइसकेका जलविद्युत कम्पनीको सेयर मूल्य समेत निकै माथि चढेको छ। वित्तीय अवस्था मजबुत भएका कम्पनीहरुको सेयर मूल्य बढ्नु स्वभाविक भए पनि वित्तीय अवस्था कमजोर हुँदै गएका केही कम्पनीहरुको सेयर मूल्य समेत बढ्नुले जुनसुकै बेला लगानीकर्ता जोखिममा पर्न सक्ने छन्।

    सेयर बजारमा हात हालिसकेपछि त्यसको सम्पूर्ण जोखिम स्वयम् लगानीकर्ताले ब्यहोर्नुपर्दछ। अर्थात लगानीकर्ताले जतिसुकै क्षति ब्यहोरे पनि राहतका लागि कोष छैन। तसर्थ लगानीकर्ताहरुलाई आफूले लगानी गर्ने कम्पनीको सम्पूर्ण वित्तीय अवस्था तथा विगतमा दिइएका प्रतिफल हेरेर मात्रै लगानी गर्न विज्ञहरु सुझाव दिन्छन्।

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय अवस्था मूल्याङ्कन गरेर मात्रै दोस्रो बजारमा जलविद्युत कम्पनीहरुको सेयर किन्न उनीहरुको सुझाव छ।

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म कुन जलविद्युत कम्पनीको कम्पनीको वित्तीय अवस्था कस्तो छ त ?

    बरुण हाइड्रो पावर कम्पनी

    बरुण हाइड्रो पावर कम्पनीको वित्तीय अवस्था भने सन्तोषजनक देखिँदैन। कम्पनीको जगेडा कोष ऋणात्मक छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २ करोड ६७ लाख रुपैयाँ ऋणात्मक बनेको कोष दोस्रो त्रैमासिक अवधिमा बढेर ३ करोड १८ लाख पुगेको छ।

    त्यस्तै पहिलो त्रैमासिक अवधिमा कम्पनी ९७ लाख रुपैयाँले नोक्सान रहेकोमा दोस्रो त्रैमासिक अवधिमा बढेर १ करोड २५ लाख पुगेको छ। एक अधिकारीका अनुसार सो कम्पनीको विद्युत उत्पादन १० महिना बन्द भई फागुनबाट पुनः उत्पादन सुरु भएको छ।

    भूकम्पको क्षतिका कारण कम्पनीको विद्युत विक्री लामो समयसम्म ठप्प रह्यो। कम्पनीको जगेडा कोष धनात्मक भई लगानीकर्ताले कहिले नाफा पाउँछन् भन्ने कुरा अनिश्चित छ। अझै केही वर्ष कम्पनीले प्रतिफल दिन सक्ने स्थिति देखिँदैन।

    वित्तीय अवस्था खस्कँदै गर्दा पनि कम्पनीको सेयर मूल्य भने घट्नुको साटो बढ्दै गएको छ। गत पुस १३ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय ७८ रुपैयाँ थियो। जगेडा कोषको ऋणात्मक आकार र नोक्सान बढ्दै गएका बेला सेयर मूल्य भने हाल बढेर प्रतिकित्ता ५ सय नाघेको छ।

    अपि पावर कम्पनी

    अपि पावर कम्पनीको पनि जगेडा कोष ऋणात्मक छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म जगेडा कोष १ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ। गत वर्षको यही अवधिमा यो रकम ६९ लाख रुपैयाँ मात्रै ऋणात्मक थियो। जगेडा कोषमा ऋणात्मक रकम बढे पनि कम्पनीको नाफामा भने सुधार आएको छ।

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले ८४ लाख रुपैयाँ नाफा कमाएको छ। जबकि पहिलो त्रैमासिक अवधिमा २४ लाख ९१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो।
    कम्पनीको नाफा बढे पनि ऋणात्मक जगेडा कोष भने घटेको छैन।

    एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य न्यूनतम प्रतिकित्ता ३ सय ७ रुपैयाँसम्म कारोबार भएको छ। पछिल्लो समय यो कम्पनीको बजार सेयर मूल्य ६ सय ३० रुपैयाँको हाराहारीमा छ। दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको प्रतिएकाई सेयर आम्दानी ८४ पैसा मात्रै रहेको छ।

    नेसनल हाइड्रो पावर कम्पनी

    नेसनल हाइड्रो पावर कम्पनीको नाफा तथा जगेडा कोषमा दोस्रो त्रैमासिक अवधिसम्म ३९ करोड ५२ लाख रुपैयाँ रहेको छ। पहिलो त्रैमासिक अवधिसम्म यो रकम ३३ करोड ९४ लाख रुपैयाँ थियो। ‘इनकम ट्याक्स’ छुट्याउनुअघि कम्पनीको खुद आम्दानी ५ करोड ५८ लाख रुपैयाँ रहेको छ। पहिलो त्रैमासिक अवधिमा यो रकम ३ करोड रुपैयाँ थियो।

    कम्पनीको व्यवसायिक उत्पादन सुरु भएको १३ वर्षपछि कम्पनीको ऋण समाप्त भएको छ। आगामी दिनहरुमा कम्पनीले लगानीकर्तालाई केही नाफा दिन सक्ने क्षमता बढेको छ। १ वर्षको अवधिमा कम्पनीको सेयर मूल्य न्यूनतम १ सय ४ रुपैयाँमा कारोबार भए पनि हाल १ सय ८० रुपैयाँको हाराहारीमा रहेको छ।

    सानिमा माई हाइड्रो पावर

    दोस्रो त्रैमासिक विवरणअनुसार कम्पनीसँग ‘रिटैण्ड अर्निङ’ १ करोड ९३ लाख रुपैयाँ रहेको छ। जवकि पहिलो त्रैमासिक अवधिसम्म ५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक थियो। दोस्रो त्रैमासिक अवधिसम्म कम्पनी १ करोड ९२ लाख रुपैयाँ नोक्सानमा छ।

    पहिलो त्रैमासिक अवधिसम्म यो रकम ९ करोड ७९ लाख रुपैयाँ थियो। गत वर्षको समिक्षा अवधिमा भने कम्पनीको नोक्सान १ करोड ८६ लाख रुपैयाँ थियो। कम्पनीको वित्तीय अवस्था सुधारोन्मुख देखिन्छ। १ वर्षको अवधिमा कम्पनीको न्यूनतम सेयर मूल्य प्रतिकित्ता ६ सय ३३ रुपैयाँ तथा अधिकतम ९ सय ५ रुपैयाँसम्म कारोबार भएको छ।

    दोस्रो चौमासिक अवधिमा कम्पनीको प्रतिकित्ता सेयर आम्दानी १ रुपैयाँ ८३ पैसा छ। पछिल्लो पटक बजारमा कम्पनीको सेयर मूल्य प्र्रतिकित्ता ८ सय ६० रुपैयाँको हाराहारीमा छ।

    चिलिमे हाइड्रोपावर कम्पनी

    यो लगानीकर्तालाई प्रतिफल दिइरहेको हाइड्रो कम्पनी हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको जगेडा कोषमा ४३ लाख  ४८ हजार रुपैयाँ रहेको छ। पहिलो त्रैमासिक अवधिमा ४८ लाख ३१ हजार रुपैयाँ थियो।

    त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५ लाख ६१ हजार रुपैयाँ खुद नाफा रहेको छ। पहिलो त्रैमासिक अवधिमा यो रकम ३ लाख १७ हजार थियो। दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९२ पैसा रहेको छ। प्रतिसेयर आम्दानी राम्रै देखिएकाले कम्पनीको सेयर मूल्य पनि बढी नै छ।

    यो कम्पनीको सेयर मूल्य साढे १३ सय रुपैयाँको हाराहारीमा रहेको छ। १ वर्षको अवधिमा गत साउन १० गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता अधिकतम १७ सय रुपैयाँ पुगेको थियो भने न्यूनतम साढे ११ सय रुपैयाँमा पनि कारोबार भएको थियो।

    अरुणभ्याली हाइड्रोपावर कम्पनी

    यो लगानी कर्ताहरुलाई प्रतिफल दिइरहेकै हाइड्रो कम्पनी हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १४ पैसा रहेको छ। पछिल्लो  सेयर बजार बजार मूल्य ३ सय रुपैयाँको हाराहारीमा रहेको छ।

    १ वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम ३ सय ७५ तथा न्यूनतम २ सय ५३ रुपैयाँसम्म कारोबार भएको छ।

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको जगेडा कोषमा ५ करोड १४ लाख रुपैयाँ रहेको छ भने यस अवधिमा खुद नाफा (इनकम आफ्टर ट्याक्स) ३ करोड १३ लाख रुपैयाँ रहेको छ। पहिलो त्रैमासिक अवधिमा जगेडा कोषमा ३ करोड ४८ लाख रुपैयाँ थियो भने नाफा १ करोड ४८ लाख रुपैयाँ थियो।

    बुटवल पावर कम्पनी

    दोस्रो चौमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९ पैसा रहेको छ। बजारमा सेयर मूल्य ६ सय ३० रुपैयाँको हाराहारीमा रहेको छ। गत एक वर्षको अवधिमा कम्पनीको सेयर अधिकतम ६ सय ७९ तथा न्यूनतम ५ सय १८ रुपैयाँसम्म कारोबार भएको छ।

    दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको जगेडा कोषमा १८ लाख ३३ हजार रुपैयाँ रहेको छ। पहिलो त्रैमासिक अवधिमा १८ लाख ८ हजार रुपैयाँ थियो। बोनस र ट्याक्स भुक्तानीपछि यो अवधिमा कम्पनीको खुद नाफा ८१ हजार रुपैयाँ रहेको छ। पहिलो त्रैमासिक अवधिमा यो नाफा ५३ हजार रुपैयाँ थियो।

    रिडी हाइड्रोपावर डेभलमपेन्ट कम्पनी

    कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ सय ७० रुपैयाँको हाराहारीमा रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३ पैसा रहेको छ। एक वर्षको अवधिमा कम्पनीको अधिकतम सेयर मूल्य ४ सय ८१ तथा न्यूनतम मूल्य ३ सय ४६ रुपैयाँसम्म कारोबार भएको छ।

    कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म जगेडा कोषमा ६ करोड ३४ लाख रुपैयाँ रहेको छ। पहिलो त्रैमासिक अवधिमा यो रकम ५ करोड ६७ लाख रुपैयाँ रहेको थियो। त्यस्तै दोस्रो त्रैमासिक अवधिमा कम्पनीको नाफा ६७ लाख रुपैयाँ रहेको छ। पहिलो त्रैमासिक अवधिमा यो रकम ८० लाख रुपैयाँ रहेको थियो।

    कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ३ पैसा रहेको छ। एक वर्षको अवधिमा कम्पनीको अधिकतम सेयर मूल्य ४ सय ८१ तथा न्यूनतम ३ सय ४६ रुपैयाँसम्म कारोबार भएको छ। आर्थिक वर्ष २०७१-७२ मा कम्पनीले १० प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो।

    सेतोपति :स्रोत