बालुवा थिग्रिएर कुलेखानीबाट कम बिजुली

Kulekhani Reservoir

विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयको पिँधमा बालुवा माटो, पातपतिंगरलगायत वस्तु जमेर पानी कम भएपछि उत्पादन घटेको छ । आयोजनाका अनुसार पिँध बढेकाले ६ करोड ३३ लाख युनिट बिजुली कम उत्पादन हुन थालेको छ ।

सुरुमा संकलन गरिएको पानीबाट २१ करोड ११ लाख युनिट उत्पादन हुने गथ्र्यो । अहिले क्षमतामा ह्रास आएर १४ करोड ४७ लाख युनिट मात्र उत्पादन भइरहेको छ । ‘पानी संकलन क्षमतामा ह्रास आएकाले विद्युत् उत्पादनमा कमी आएको हो,’ कुलेखानी प्रथम प्रमुख बद्रीप्रसाद फुँयालले भने, ‘पानी संकलन घटेपछि उत्पादन स्वत: प्रभावित हुन्छ ।’ मुलुकको एक मात्र जलाशययुक्त आयोजनाको क्षमता घटेकाले लोडसेडिङको मार पनि थपिने छ । पिँध भरिएकाले करिब २७ मिलियन क्युसेक पानी अट्ने क्षमतामा ह्रास आएको छ ।

स्थापनाकालमा समुद्र सतहबाट १ हजार ४ सय ७३ मिटर पानीको सतह झर्दासम्म विद्युत् उत्पादन गर्न सकिन्थ्यो । सतह बढेकाले अहिले १ हजार ४ सय ८६ मिटरसम्मको पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ । ‘डेब्रिज’ नझिकेमा बर्सेनि जलाशयको सतह बढ्छ, विद्युत् उत्पादन गर्ने पानीमा कमी आउँछ,’ आयोजनाका फुँयालले भने, ‘रिजर्भवायरमा सिल्कट, बालुवा, ढुंगा खोलाले बगाएर नल्याउन विभिन्न खोलामा चेकड्याम बनाउने गरिएको छ ।’

जलाधार क्षेत्रका खोलाले बगाएर ल्याउने ढुंगा, माटो, बालुवा र पातपतिंगर जलाशयमा थुप्रिने गर्छन् । त्यसले इन्द्रसरोवरको सतह बढेकाले पानी अट्ने क्षमता खुम्चिँदै गएको हो । सुरु अवस्थामा कुलेखानी जलाशयमा ८५ दशमलव ३ मिलियन क्युसेक पानी अट्ने क्षमता थियो । अहिले ह्रास आएर ५९ दशमलव ९९ मिलियन क्युसेकमा झरेको कुलेखानी प्रथमका एक वरिष्ठ प्राविधिकले जनाए । सञ्चालनमा आएको ३३ वर्षमा १३ मिटरभन्दा बढी पिँधको सतह वृद्धि भएको छ । सतह बढेकाले जलाशयको पानी संकलन गर्ने क्षमतामा ३० प्रतिशत गिरावट आएको हो ।

२०३९ सालमा यो सञ्चालनमा आउँदा जलाशयमा संंकलन भएको पानीमध्ये ५७ मिटरबाट विद्युत् उत्पादन गर्न सकिन्थ्यो । २०५० सालको बाढीपछि ५० मिटरबाट मात्रै उत्पादन गर्न मिल्ने भयो । अहिले करिब ४४ मिटर मात्र पानी विद्युत् उत्पादनमा गर्न प्रयोग हुन्छ । जलाशयमा ‘डेब्रिज’ थुप्रिएपछि पानीको सतह न्यून हुने प्राविधिकहरूको भनाइ छ ।

२०५० सालको बाढीले ६ मिटर पिँध अग्लो भएको थियो । बढ्ने क्रम जारी छ । मानव निर्मित जलाशयमा अहिले १ लाख ७० हजार मिटर क्यु ‘डेब्रिज’ संकलित भएको एक प्राविधिकले बताए । यसरी जमेका माटो, पातपतिंगर र ढुंगा नझिकेमा क्रमश: कुलेखानी पहिलो, दोस्रो र निर्माणाधीन तेस्रो जलविद्युत् आयोजना प्रभावित हुने उनले बताए । संकलित पानी प्रयोग गर्ने उद्देश्यले कुलेखानी पहिलो र दोस्रो निर्माण गरिएको हो । तिनबाट ९२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यले तेस्रो कुलेखानी भैंसेको सानुटारमा निर्माणाधीन छ ।

यसरी जमेका वस्तु झिक्न आयोजनाले २ वर्षअघि सरकारलाई विस्तृत प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा ७ किलोमिटर लामो कुलेखानीको जलाशय सतह १३ मिटर बढेको उल्लेख छ । यस्ता वस्तु झिक्न ४ अर्ब हाराहारीमा खर्च र कम्तीमा २ महिना समय लाग्ने प्राविधिकले जनाएका छन् । प्राविधिकका अनुसार सुख्यायाममा जलाशयको पानी सबै सुकाएर सिल्कट, माटो एवं पातपतिंगरहरू झिक्नुपर्छ ।

संरक्षण तथा व्यवस्थापन गर्न जिविसले उपलब्ध गराएको विद्युत् रोयल्टीको अधिकांश रकम कुलेखानी जलाशयको संरक्षणमा नभई प्रतिकूल प्रभाव पार्ने कार्यहरू गरिँदै आएको छ । त्यसले पिँध बढिरहेको छ । जिविसले जलाधार क्षेत्र संरक्षण तथा विकास गर्न निश्चित रकम स्थानीय निकायलाई दिने गरेको छ ।

‘विद्युत् रोयल्टीको अधिकांश रकम जलाधार संरक्षण र विद्युत् क्षेत्रमा मात्र प्रयोग गर्नुपर्छ,’ जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले भने, ‘उक्त रकम अन्य क्षेत्रमा प्रयोग गर्न पाइँदैन ।’ विद्युत् रोयल्टीको अधिकांश रकम जलाधार क्षेत्रमा डोजर प्रयोग गरेर मोटरबाटो खन्ने कार्यमा खर्च भइरहेका छन् । डोजर लगाएर मोटरबाटो बनाउन र खानी उत्खन्न गर्न जिविस परिषद् बैठकले अहिले भने रोक लगाएको छ ।

स्रोत : कान्तिपुर