मेची अञ्चलमा हालसम्म निर्माण गरिएका जलविद्युत् आयोजना मध्ये सबैभन्दा ठूलो जलविद्युत आयोजनाको काम सुरु भएको छ । कात्तिक मसान्त भित्र निर्माण सम्पन्न गर्नेगरी आयोजनाको काम सुरु गरिएको जनाईएको छ । चार सय करोडको लगानीमा काबेली बि एक जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिएको हो । नेपाल सरकारको बिद्युत् विकास विभागबाट अनुमती लिएको छ बर्ष पछि पाँचथरको नागी, थर्पु अमरपुर गाबिस र ताप्लेजुङको थुम्मेदिन गाबिस सहितको क्षेत्रफललाई आयोजना क्षेत्र छुट्याएर काम सुरु गरिएको हो ।
मेची अञ्चलमा निमार्ण भइरहेका अयोजना मध्ये सबैभन्दा उच्च लागतमा यो आयोजनाको काम सुरु गरिएको हो । काबेली ए को निर्माण कार्य सुरु हुन नसकिरहेको अवस्थामा काबेली बी एक नै मेची अञ्चलको सबैभन्दा ठूलो आयोजना भएको बताइएको छ ।
कुल लगानी मध्ये ३० प्रतिशत लगानी अयोजना निर्माण कर्ताले लगाउने सहमती भएको छ । त्यस बाहेकको ७० प्रतिशत लगानी विभिन्न बित्तिय संस्था तथा बैंकले उपलब्ध गराउने सहमति भइसकेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको नेतृत्वमा नौ वटा बैंकले अयोजनाका लागि लगानी गर्न लागेका हुन । पहिलो चरणको सम्झौता पूरा भएपछि निर्माण कार्य सुरु गरिएको हो । २५ मेगावाट क्षमता भएको अयोजना निर्माणको जिम्मेवारी अरुणकाबेली पावर लिमिटेडले लिएको छ । चार बर्ष अघि पीपीए भएको आयोजनामा अहिले पहिलो चरणका काम भइरहेका छन । पहिलो चरणमा पावरहाउस निर्माणका लागि फाउण्डेशन लगायतका काम पुरा भइसकेको आयोजनाका टेक्निकल डाईरेक्टर हस्तमान राईले जानकरी दिए ।
“पहिलो चरणको काम सुरु भएको छ,” राईले भने “ठूलो अयोजना भएकाले काम सुरु गर्न केही ढिालाई भएको हो ।” संबिधान घोषणासंगै सुरु भएको आन्दोलन पछि भएको नाकाबन्दिले समेत आयोजनालाई प्रभाबित बनाएको निर्माण पक्षले जनाएको छ । “अपेक्षाकृत ढंगले काम सकेन,” राईले भने “देशमा भएका बन्द हड्ताल र नाकाबन्दिेले आयोजनाको काम सुरु गर्न ढिलाई भएको हो ।”
आयोजनामा अहिले फलाम प्रयोग हुने सबै क्षेत्रका लागि खरिद प्रकृया पुरा भएको छ भने दोस्रो चरणको ढुवानी प्रक्रिया सुरु भएको छ । आयोजनाका लागि आवश्यक टरवाईन, जेनेरेटर, सबैखाले मेसिनरी सामान, फेब्रीकेसन इरेक्सनको काम भइरहेको छ । त्यस्तै कुल दुरी मध्ये पाँच सय मिटर पाईप बिच्छ्याउने काम पुरा भएको छ ।
आयोजना स्थलमा हाल सात सय बढी कामदार कर्मचारी क्रियाशिल छन । आयोजनाले आफ्नो क्षेत्र भित्र पर्ने दुई सय सय ८८ रोपनि जमिन खरिद गरिसकेको छ । जमिन खरिदका लागि मात्रै करिव छ करोड रुपैया लागानी भइसकेको आयोजनाले जनाएको छ । आयोजना क्षेत्रको ५ किलोमिटर भित्रको जग्गा अधिग्रण गरिएको जनाईएको छ । स्थानीयका लागि १५ करोडको सेयर खुल्ला गरेर आयोजनाको काम अघि बढाईएको हो । स्थानीय तहमा निर्माण थालिएको अयोजनाका लागि अपनत्व कायम गर्नका लागि आयोजनाले त्यस्तो निर्णय गरेको जनाएको छ ।
अयोजनाले शेयर निष्कासनको निर्णय गरेको भए पनि त्यसको अन्तिम प्रकृया सुरु हुन समय लाग्ने राईले तर्क गरे । ताप्लेजुङ र पाँचथर जिल्ला भरका स्थानीयका लागि सेयर खुल्ला गर्न लागिएको हो । न्युनतम प्रति कित्ता एक हजारका दरले एक सय किस्त्ता सेयर खरिद गर्नु पर्ने कम्पनीले नियम बनाएको हो ।
यो आयोजनाको निर्माण सम्पन्न भएपष्चात देशमा विद्यमान लोडसेडिङलाई दुई घण्टा कम गर्न सकिने बताईएको छ । काबेली करिडोरको निर्माण हुन नसकेका कारण ठूला जलविद्युत आयोजनाको काममा ढिलाई गर्नु परेको निर्माण पक्षले बताउँदै आएका छन् । विद्युत उत्पादन गरेर पनि बिक्रि हुन नसक्ने डरले विद्युत् आयोजनाको काममा ढिलाई गरिएको हो । “काबेली कोरीडोर निर्माण नभई उत्पादन भएको विद्युत् बिक्री गर्न सकिदैन,” राईले भने “बिक्री हुने ग्यारेन्टी नभएकै कारण विद्युत् निर्माणको काममा ढिलाई गरिएको हो ।”
स्रोत : कारोबार