काठमाडौँः केही साताअघि मात्रै सञ्चालमा आएको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन अन्तरगतको खिम्ती–ढल्केबर प्रसारण लाइनमा ‘फल्ट’ हुँदा देशको अधिकांश भागको विद्युत् प्रसारण प्रणाली कोल्याप्स भएको छ ।
खिम्ती–ढल्केबरमा अचानक ‘फल्ट’ भएकाले राजधानी काठमाडौँसहित केन्द्रीय प्रसारण लाइन पुगेका देशका अधिकांश भाग मंगलवार राति साढे नौ बजेबाट १० बजेसम्म अन्धकार भएको हो ।
नेपाल विद्युत्त् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले खिम्ती–ढल्केबर प्रसारण लाइनमा ‘फल्ट’ हुँदा कोल्याप्स भएको सिस्टम करिब आधा घन्टा लगाएर उठाइएको जानकारी दिए ।
‘खिम्ती–ढल्केबारको फल्ट समाधान गरेपछि देशभरको प्रसारण लाइनमा बिजुली पुनः पठाउन आधा घन्टा लाग्यो’, अधिकारीले भने, ‘काठमाडौँ, पूर्व र पश्चिमतर्फ अलग अलग फिडरमा छाडिएको बिजुलीको सिस्टम उठाउँदा आधा घन्टा समय लागेको हो ।’
अधिकारीका अनुसार फल्टको कारण भने पत्ता लाग्न सकेको छैन । ‘फल्ट भएपछि प्रत्येक फिडरमा चेक गर्नुपर्ने भएकाले बिजुली पुनःप्रसारण गर्न समय लाग्ने गरेको हो’, अधिकारीले भने, ‘रि–इन्स्टल भइसक्ने बित्तिकै बिजुली आपूर्ति गरिएको हो ।’
स्रोत:कारोबार