अाफ्नै बिजुलीले लाेडसेडिङ हटाउन ऊर्जा सम्मेलनकाे तयारी

    758

    काठमाडौँ– सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई साकार पार्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था नेपाल(इपान)ले यही मङ्सिर ३० गतेदेखि ऊर्जा सम्मेलन गर्ने भएको छ।

    ऊर्जा मन्त्रालयको संरक्षकत्वमा इपानले आयोजना गर्ने सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सरोकार भएका निकाय, चीन, भारत, नर्वे, अमेरिकालगायत मुलुकका प्रतिनिधि सहभागी हुने इप्पानका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिए।

    इपानले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सरकारले गत वर्ष सार्वजनिक गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी ९९ बुँदे अवधारणालाई पूर्णरुपमा कार्यान्वयनका लागि आग्रह गर्ने, नेपाली लगानीकर्तालाई लगानीका लागि सहज वातावरण तयार पार्नेलगायत योजना रहेका छन्।

    पछिल्लो पटक सरकारले काठमाडौँ उपत्यकालाई विद्युतभार कटौतीमुक्त पारेकोमा इप्पानले धन्यवाद दिँदै त्यसको स्थायित्वका लागि सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ। नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्न तत्कालका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने भए पनि त्याे दीगाे समाधान नहुने भएकाेले नेपाली लगानीकर्तालाई विद्युत् उत्पादनमा अभिप्रेरित गर्न र आवश्यक सहयोग उपलब्ध गराउन इप्पानले माग गरेको छ।

    “भारतबाट विद्युत् आयात गर्ने मानसिकता त्यागेर आन्तरिक उत्पादन बढाउनतर्फ लाग्नुपर्छ,” विष्टले भने, “ऊर्जा सुरक्षालगायतका विषयका आधारमा नेपाली लगानीकर्तालाई नै विश्वासमा लिएर सरकारले काम गरोस् । आवश्यक परेको समयमा मात्र बिजुली लिन्छु अरु बेला हामीलाई थाहा छैन भन्ने मान्यता नेपाल विद्युत् प्राधिरकणले त्याग्नुपर्छ ।”

    सन् २०२२ सम्म विकासोन्मुख राष्ट्रमा फड्को मार्न १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्नेमा जोड दिँदै उनले आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए। इप्पानका महासचिव कुमार पाण्डेले प्राधिकरणले नेपाली प्रवर्द्धकको विद्युत् सहज तरिकाले खरिद गर्नुपर्ने र कुनै पनि शर्त राख्न नहुने सुझाव दिए। इप्पानकै उपाध्यक्ष शैलेन्द्र गुरागाईंले नेपाली लगानी नेपालभित्रे रहने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे। रासस