अनुसन्धान केन्द्र बनाउन यसकारण चाहियो जलविद्युत प्रोजेक्ट- महावीर पुन

    1383

    एउटा अनुसन्धान केन्द्र दिगो रुपमा चलाउन र त्यसलाई उत्पादनमुलक बनाई देश बिकासमा साँच्चिकै टेवा पुर्याउने कामको सुरुवात गर्ने हो भने प्रति बर्ष कम्तिमा पनि १० देखि १५ करोड रुपैयाको प्रारम्भिक बजेटको आबश्यक पर्दछ । उक्त रकमबाट हामीले कम्तिमा पनि प्रति बर्ष ५० देखि १०० जना सम्म अति सृजनशील र प्रतिभाशाली व्यक्तिहरुलाई लालनपालन गरेर हुर्काउन सक्छौं । सो रकमको जगेर्ना प्रति बर्ष कसरी गर्ने भन्ने बारेमा धेरै छलफल र सम्बाद पछि निस्केका धेरै उपायहरु मध्यबाट हामी १० मेगावाटको जलविद्युत स्टेशन बनाएर संचालन गर्ने निष्कर्षमा पुगेका छौं । यस बाहेक केन्द्रको लागी अटुट आम्दानी हुने अन्य उपायहरु भविष्यमा जुरेको खण्डमा ति उपायहरु पनि अबलम्बन गरिने छ  ।

    धेरै आलोचकहरुले उठाउने गरेको मुख्य प्रश्न के हो भने हामीले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न किन १० मेगावाटको जलविद्युत स्टेसनको निर्माण गर्नु पर्यो र त्यसो गर्दा लक्ष्य एकातिर र काम कुरा अर्को तिर हुँदैन र भन्ने उनीहरुको भनाई छ । राष्ट्रिय आविष्कार केन्द्रको दिगो बिकासको लागी जलविद्युत नै किन बनाउने भन्ने कारणहरु निम्न अनुसार छन्  ।

    • नेपाल जलश्रोतमा विश्वको दोश्रो धनी देश मानिन्छ । त्यसैले हामीसंग भएकै पुनर्नविकरणीय जलश्रोतलाई उपयोग गरी आविष्कार केन्द्रलाई दिगो बनाउने कदम अति उपयुक्त हुन्छ भन्ने ठम्याई हाम्रो मात्र होइन कि धेरै बिशेषज्ञहरुको पनि ठम्याई त्यहि छ |
    • आर्थिक आयको लागी जलविद्युत अन्य श्रोतहरु भन्दा धेरै नै भर पर्दो र स्थायी हुन्छ भन्ने हाम्रो मान्यता छ । कुनै पनि जलविद्युत स्टेशनबाट बर्षमा कति सम्म बिद्ध्युत उत्पादन हुन्छ, कति पैसा आम्दानी हुन्छ र कति पैसा बचाएर यसकेन्द्रलाई दिगो बनाउन सकिन्छ भनि सजिलैसंग हिसाब निकाल्न सकिन्छ | यो भन्दा सजिलो र भर पर्दो अन्य श्रोतहरु पाउन धेरै कठिन छ ।
    • जलविद्युत स्टेसन बनाउन एक पटक मात्र लगानी गर्नु पर्दछ र निर्माण गर्न ४ देखि ५ बर्षसम्म लाग्छ | त्यसपछि जबसम्म नदीमा पानी बगी रहन्छ तब सम्म त्यसले बिद्ध्युत उत्पादन गरी आविष्कार केन्द्रलाई अटुट रुपमा आर्थिक श्रोत उपलब्ध गराई रहन्छ | यसरी यसता प्रकृतिका कामहरु गर्न हामीले हरेक बर्ष नेपाल सरकारलाई बजेट माग गरी रहनु पर्दैन र अन्य कुनै दात्री संस्थाहरु संग सहयोगको लागी हात फैलाई रहन पर्दैन |

    जलविद्युत आयोजनाको SWOT विश्लेषण नै गर्ने हो भने पनि यसबाट निम्न अनुसारको नतिजा निस्कन्छ र जलविद्युत आयोजना बाट धेरै फाइदा र एकदमै थोरै बेफाइदा देखिन्छ ।

    • S (Strengths): नेपाल जलश्रोतको धनी देश भएकोले जलविद्युत स्टेसन निर्माण गर्नको लागी धेरै खोलाहरु उपलब्ध छन् | जलविद्युत स्टेसनबाट निरन्तर रुपमा आर्थिक आम्दानी भै रहन्छ | यो बनाइ सके पछि आविष्कार केन्द्र संचालन गर्नको लागी आर्थिक समस्या पटक्कै पर्दैन | जलविद्युत आयोजनाको ठुलो Strengths यी नै हुन् ।
    • W (Weaknesses): यो बनाउनको लागी कम्तिमा पनि ४ वा ५ बर्ष लाग्छ | त्यति बेला सम्म आविष्कार केन्द्रले आँटेको जस्तो काम गर्न सक्दैन. अर्को कुरा कुनै बर्ष सुक्खा या खडेरी पर्यो भने अनुमान गरे जति बिद्युत उत्पादन हुँदैन र आम्दानी कम हुन्छ | यो एउटा मात्र Weakness भए ता पनि हामीले ४ वा ५ बर्ष पर्खिनु भनेको ठुलो कुरा होइन | नेपालको बिकास हुन्छ कि भनेर हामीले ६० भन्दा बढी बर्षहरु पर्खी सकेका छौं |
    • (Opportunities): जलविद्युत स्टेसनबाट आर्थिक समस्या टरेपछि हामीले बर्षेनी आर्थिक श्रोतको लागि नेपाल सरकार अथवा बिदेशी दातृ संस्थाहरुको ढोका ढक ढक्याउँनु पर्ने छैन. हामीले हाम्रो सम्पूर्ण शक्ति अनुसन्धानकर्ताहरु र नवप्रबर्तकहरुको पालन पोषण गर्न र तिनीहरुलाई हुर्काउन तिर लगाउन पाउने छौं जुन एउटा अति राम्रो र ठुलो Opportunity हो |
    • T (Threats): जलविद्युत आयोजनाको मुख्य Threat भनेको भूकम्प वा पहिरो जस्ता प्राकृतिक प्रकोप बाट स्टेसनलाई क्षति हुन सक्नु हो | त्यसको लागी आयोजना स्थलको छनौट राम्रो संग गर्नु पर्छ र निर्माण कार्य दक्ष प्राबिधिकहरु बाट गराउनु पर्छ | प्राकृतिक प्रकोपबाट हुने Threat लाई न्यूनीकरण गर्ने धेरै उपायहरु छन् |

    क) १० मेगावाटको जलविद्युत स्टेशनबाट हुने बार्षिक आम्दानीको बिबरण

    प्रस्तावित १० मेगावाटको जलविद्युत स्टेशनबाट विद्युत प्राधिकरणको हाल प्रचलित खरिद दर (प्रति महिना बर्षायामको रू. ४.८० र सुक्खायामको रू. ८.४०) अनुसार एक बर्षमा निम्न अनुसारको आम्दानी हुन्छ जुन आम्दानीबाट हामीले सजिलैसंग राष्ट्रिय आविष्कार केन्द्र संचालन गर्न सक्छौं |

    १० मेगावाट बाट सुक्खायामको ४ महिनामा (पौष देखि चैत्र सम्म) हुने आम्दानी निम्न अनुसार छ.

    • प्रति घण्टा हुने आम्दानी: १०,००० किलोवाट x ८.४० रु (प्रति युनिट खरिद दर) = ८४,००० रु.
    • प्रति दिन हुने आम्दानी: २४ घण्टा x ८४,०००रु. = २,०१६,००० रु.
    • बर्षायामको ४ महिनामा हुने आम्दानी= २,०१६,००० रु. x १२० दिन = २४१,९२०,००० रु.

     मेगावाटबाट वर्षायामको ८ महिनामा (बैशाखदेखि मङ्सिरसम्म) हुने आम्दानी निम्न अनुसार छ:

    • प्रति घण्टा हुने आम्दानी: १०,००० किलोवाट x रु. ४.८० (प्रति युनिट खरिद दर) = रु. ४८,०००
    • प्रति दिन हुने आम्दानी: २४ घण्टा x ४८,००० रु. = रु. १,१५२,०००
    • प्रति ८ महिनामा हुने आम्दानी: १,१५२,००० रु. x २४० दिन = रु.२७६,४८०,०००

    सुक्खा र वर्षायाम गरेर हुने कुल आम्दानी: रु. २४१,९२०,००० + रु. २७६,४८०,००० = रु. ५१८,४००,००० (प्रति बर्ष हुने कुल आम्दानी अक्षेरुपी ५१ करोड ८४ लाख रुपैंया मात्र)

    माथि उल्लेखित आम्दानी कुल आम्दानी मात्र हो. जलविद्युत बिशेषज्ञहरुको ईस्टिमेट अनुसार वास्तविक आम्दानी कुल आम्दानीको ६५% देखि ७०% सम्म मात्र हुन्छ. त्यसैलाई आधार मानेर हामीले १० मेगावाट हाइड्रो पावरबाट निम्न अनुसारको वास्तविक आम्दानी हुने अनुमान गरेका छौं:

    प्रति बर्ष हुने वास्तविक आम्दानी = रु. ५१८,४००,००० x ६५%= रु. ३३६,९६०,००० (अक्षेरुपी ३३ करोड ६९ लाख ५२ हजार रुपैंया मात्र)

    बिद्युत उत्पादन सुरु भए पछी प्रति बर्ष आउने उपरोक्त बास्तविक आम्दानीको २५% रकम (करिब १० करोड रुपिंया) राष्ट्रिय आविष्कार केन्द्रमा लगाइने छ र बास्तविक आम्दानीको ७५% रकम वित्तीय संस्थाहरुको बार्षिक ब्याज र ऋण तिर्न तथा मर्मत सम्भारमा लगाइने छ. वित्तीय संस्थाहरु बात लिइएको ऋण ८ बर्षमा चुक्ता गरी सकिने छ |

    माथि देखाइएको हिसाब अनुसार सुरुका बर्षहरुमा कम्तिमा पनि रु. १० करोड प्रति बर्ष आविष्कार केन्द्रमा आउने देखिन्छ | यो रकम सानो रकम होइन र यसबाट इमान्दारीपुर्बक धेरै काम गर्न सकिन्छ | अनुमान गरिए अनुसार ८ बर्षमा वित्तीय संस्थाहरुको सम्पूर्ण ऋण भुक्तानी गरि सके पछि राष्ट्रिय आविष्कार केन्द्रलाई मर्मत सम्भार खर्च कटाएर कम्तिमा पनि बार्षिक रु. २० करोड प्रति बर्ष प्राप्त हुनेछ |

     ख) जलविद्युत स्टेसनको निर्माण गर्ने योजना र त्यसको मोडेल

    १० मेगावाटको जलविद्युत स्टेसन निर्माण गर्नु नै राष्ट्रिय आविष्कार केन्द्रको मुख्य उद्येश्य होइन | सो जलविद्युत स्टेसन निर्माण गर्नुको मुख्य उद्येश्य आविष्कार केन्द्रको लागि एउटा दरिलो आर्थिक श्रोत बनाउनु मात्र हो | साथै सो जलविद्युत स्टेसन सके सम्म राष्ट्रिय आविष्कार केन्द्र एक्लैले बनाउन सकेको खण्डमा त्यसको सम्पूर्ण Divident आविष्कार केन्द्रलाई आउने छ र आविष्कार केन्द्रको आर्थिक स्थिति दरिलो हुने छ | तर त्यसो गर्न नसकेको अथवा नमिलेको खण्डमा सो जलविद्युत स्टेसन Public Private Partnership को मोडलमा खोलिने छ | सो जलविद्युत स्टेसन बनाउन नेपाल सरकारको कम्पनी ऐन अनुसार एउटा छुट्टै कम्पनी खोलिने छ जसमा अधिकतम शेयर (कम्तिमा ७०% – ८०% सम्म) राष्ट्रिय आविष्कार केन्द्रको हुने छ | सो कम्पनीको बाँकी रहेको शेयर अन्य लगानीकर्ताहरुलाई र स्थानीय जनताहरुलाई बेचिने छ | राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो भागमा आएको मुनाफा केन्द्रको बिकासको लागी खर्च गर्नेछ |

     ग) दिगोपनको लागी थप आर्थिक श्रोत – अनुसन्धानकर्ताहरु र नवप्रबर्तकहरु संगको रोयल्टी साझेदारी

    विश्वमा प्राईभेट रुपमा बिशेष प्रयोजनको लागी  संचालित अनुसन्धान केन्द्रहरुले आफुले लगानी गरेर गरेको आविष्कार तथा नबप्रबर्तनहरुको सर्बाधिकार आफु संग नै राख्दछन र त्यसको फाईदा आफूहरुले नै लिन्छन | बिभिन्न देशहरुमा सरकार द्वारा संचालित अथवा सरकारी सहयोग प्राप्त अनुसन्धान केन्द्रहरु र युनिभर्सिटीहरुले अनुसन्धानकर्ता अथवा आविष्कारकर्ताहरुलाई आबश्यक पर्ने आर्थिक सहयोगका साथै अन्य किसिमका सहयोगहरु गरे बापत उनीहरु संग रोयल्टी बांडफांड गर्ने बेग्ला बेग्लै मोडेलहरु बनाएका हुन्छन | उदाहरणको लागी अमेरीकाको Massachusets Institute of Technology (MIT) ले आफ्नो ल्याबहरुमा भएका आविष्कारहरुको बिकास र त्यसको लागी चाहिने व्यापारिक लगानीहरु भित्र्याउन MIT Technology Licensing Office (http://tlo.mit.edu/about)  स्थापना गरेको छ | त्यसरी नै स्विट्जरल्यान्ड स्थित European Organization for Nuclear Research (CERN) ले सो केन्द्रमा आविष्कार भएका बिज्ञान तथा प्रबिधी र अन्य ज्ञानहरुको बिस्तार गरी त्यसको अधिकतम फाईदाहरु मानव समुदायमा पुर्याउन Knowledge Transfer Group (http://knowledgetransfer.web.cern.ch/our-team/our-mission) स्थापना गरेर काम गरेको छ |

    माथी उल्लेख भए अनुसार हामीले मुनाफा वितरण नगर्ने उद्येश्यले  स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानकर्ता अथवा आविष्कारकहरुलाई गरेको आर्थिक तथा अन्य सहयोगको बदलामा उनीहरु संग रोयल्टी तथा आम्दानी बांडफांड गर्ने आफ्नै मोडेल तयार गर्नु पर्ने हुन्छ | जलविद्युत योजना निर्माणको थालनीको साथ साथै हामीले अनुसन्धान र नबप्रबर्तनका कामहरुमा प्रतिभाशाली व्यक्तिहरुलाई  सहयोग गर्ने काम पनि सुरु गर्ने छौं |

    जलविद्युत स्टेसनको निर्माणमा र सो काममा लागेको ऋण चुक्ता गर्ने लाग्ने ८ बर्षको अबधि भित्रमा पनि राष्ट्रिय आविष्कार केन्द्रले निकै फड्को मारी सकेको हुनेछ र धेरै अनुसन्धानका कामहरु सफल पारी सकेको हुनेछ | ति सफल भैसकेका आविष्कार र अनुसन्धानका कामहरु बाट पनि आविष्कार केन्द्रलाई रोयल्टीको रुपमा थप आम्दानीहरु आउन थाल्नेछन | यसरी राष्ट्रिय आविष्कार केन्द्र लाई दिर्घकालिन रुपमा दिगो र उत्पादनमुलक बनाउन सकिने छ र यो संस्थाको संचालनमा चाहिने  आर्थिक श्रोतको लागी नेपाल सरकारले हरेक बर्ष बजेट छुट्याउनु पर्ने छैन |

    साथै यस केन्द्रले भविष्यमा बिभिन्न स्वदेशी तथा बिदेशी कम्पनीहरु र अनुसन्धान केन्द्रहरु संग पनि साझेदारी गर्ने छ जसबाट केन्द्रलाई थप आर्थिक तथा प्राबिधिक सहयोगहरु प्राप्त हुने छन् |

    सफलतापुर्बक सम्पन्न भएका अनुसन्धान र नवप्रबर्तनका कामहरुबाट निम्न अनुसारको रोयल्टी राष्ट्रिय आविष्कार केन्द्रमा आउने छ जसले राष्ट्रिय आविष्कार केन्द्रलाई दिगो बनाउन र यसको निरन्तर बिकास गर्न थप मदत गर्ने छ | रोयल्टी साझेदारीको मोडेल निम्न अनुसार हुनेछ |

    • अनुसन्धानकर्ता र नवप्रबर्तकहरुले आफुले गरेको अनुसन्धान, डिजाइन तथा फर्मुलाका सम्पूर्ण अधिकार अनुसन्धान केन्द्रलाई बिक्रि गर्न चाहेमा संचालक समितिले निर्णय गरेको एकमुष्ट मुल्य लिई बिक्रि गर्न सक्ने छन्;
    • कुनै क्रेताहरुले अनुसन्धानकर्ता वा नवप्रबर्तकहरुको बौद्धिक सम्पती अधिकार (Intellectual Property Right) किनेमा त्यस बापत उनीहरुले पाउने रोयल्टीको केहि अंश राष्ट्रिय आविष्कार केन्द्रलाई पनि दिनु पर्ने छ;
    • अनुसन्धानकर्ता र नवप्रबर्तकहरुले आफुले गरेको डिजाइन अथवा अनुसन्धानका कुराहरु बेच्दा त्यसको क्रेताहरुसंग गर्ने, सम्झौताका धेरै शर्तहरुमध्य एउटा शर्त सो बिक्रीको रोयल्टीको केहि अंश कसरी आविष्कार केन्द्रलाई बुझाउने भनेर उल्लेख गर्नु पर्नेछ;
    • रोयल्टी साझेदारी कसरी निर्धारण गर्ने भन्ने कुरा आपसी छलफल द्वारा गरिने छ. अनुसन्धानकर्ता र नवप्रबर्तकहरुले बौद्धिक सम्पती अधिकार आफुसंग नै राख्ने र त्यसको उपयोग व्यापारिक प्रयोजनको लागी क्रेताहरुलाई उपयोग गर्न दिन सक्नेछन | यसो गर्दा प्रथम पटक लगाइने रोयल्टीको २०% रकम अनुसन्धान केन्द्र लाई दिनु पर्ने र समयान्तरमा क्रेताले सो बौद्धिक सम्पती अधिकार प्रयोग गर्दा लगाईने रोयल्टीको १०% आविष्कार केन्द्र लाई बुझाउनु पर्नेछ;
    • प्राप्त हुने रोयल्टीमा आविष्कारक वा अनुसन्धानकर्ता वा नवप्रबर्तकहरु र राष्ट्रिय आविष्कार केन्द्र बिचको साझेदारीको अनुपात ७५:२५ को हुनेछ;
    • प्राप्त हुने रोयल्टीको साझेदारी अनुसन्धानकर्ताहरु, नवप्रबर्तकहरु र राष्ट्रिय आविष्कार केन्द्रले कुन अनुपातमा लिने दिने भन्ने कुरा आपसी समझदारी अनुसार निर्धारण गरिने छ |

    स्रोत : बिजपाटी