प्रविधि र उपकरणले सस्तो हुँदै सौर्य ऊर्जा

    20

    काठमडौं– जलविद्युत्को तुलनामा सौर्य विद्युत् सस्तो हुन थालेको छ । सौर्य ऊर्जाको प्रविधि र उपकरण सस्तो हुदै जाँदा सौर्य आयोजना पनि सस्तो हुँदै गएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

    अहिले सौर्य ऊर्जा प्रतिमेगावाट ८ देखि १० करोड रुपैयाँसम्ममा उत्पादन गर्न सकिने देखिएको छ । तर, जलविद्युत् आयोजना निर्माण गर्दा भने प्रतिमेगावाट १५ देखि २० करोड रुपैयाँसम्म लाग्दै आएको छ । अझ चमेलियाजस्ता अपवादका केही सरकारी आयोजनामा त प्रतिमेगावाट ५३ करोडसम्म पनि लागेको छ ।

    ‘केही वर्षअघिसम्म जलविद्युत् आयोजनाको तुलनामा सौर्य ऊर्जा धेरै महँगो थियो,’ उनले भने, ‘प्रविधिमा आएको आमूल परिवर्तन र सौर्य ऊर्जा उपकरण उत्पादनमा आएको प्रतिस्पर्धाका कारण जलविद्युत्भन्दा सौर्य विद्युत् धेरै नै सस्तो भएको छ ।’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमका सौर्य ऊर्जा विज्ञ जीवन मल्लिक पनि अधिकारीको भनाइसँग सहमत छन् । आजभन्दा ४–५ वर्षअघिसम्म सौर्य ऊर्जा प्लान्ट स्थापना गर्न जमिन प्रतिमेगावाट २० करोड रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् ।

    ‘सौर्य ऊर्जा उत्पादनको होड बढ्दै जाँदा ४ र ५ वर्षअघिको तुलनामा सोलार प्यानल, इन्भर्टर, ब्याट्री सबैको मूल्य आधा नै सस्तो भएको छ,’ मल्लिकले भने, ‘सोही कारण सन् २००७ मा कुल ८ हजार मेगावाट जडित क्षमता रहेको विश्वकै कुल सौर्य ऊर्जा प्रणालीको जडित क्षमता २०१७ सम्म ९१० वर्ष०मा ४ लाख २ हजार मेगावाट पुगिसकेको छ ।’

    युरोपियन फोटो भोल्टिक इन्डस्ट्री एसोसिएसनको दाबीलाई मान्ने हो भने यो बढेर २०२० सम्ममा ५ लाख मेगावाटसम्म पुग्नेछ । र, २०५० सम्ममा सौर्य ऊर्जा नै विद्युतीय ऊर्जाको प्रमुख स्रोत बन्नेछ । तर, हाल नेपालमा सौर्य विद्युत् उत्पादनका लागि जग्गा महत्वपूर्ण लगानीका रूपमा देखिएको छ । किनभने, प्रतिमेगावाट सौर्य विद्युत् उत्पादनका लागि २५ रोपनी ९दुई बिघा०सम्म जमिन आवश्यक हुने देखिएको छ । ‘सोलार प्लान्टमा जमिनमा मुख्य लगानी आवश्यक भए पनि यसलाई छानामा पनि उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘चीनले समुद्रमाथि र भारतले मरुभूमिमा यस्तो प्लान्ट स्थापना गरिरहेका छन् ।’

    पूरक बन्न सक्छ सौर्य ऊर्जा

    नेपाल राम्रोसँग घाम लाग्ने (सन साइन) देशहरूकै सूचीमा पर्छ । सोहीकारण सस्तो हुँदै आएको अवस्थामा सौर्य विद्युत्को उत्पादन बढाउन सकिने सम्भावना छ । ‘सौर्य ऊर्जा १ प्रतिशत पनि उत्पादन नगरेको विश्वकै जलस्रोतको धनी देश ब्राजिलले २०३५ सम्म आफ्नो राष्ट्रिय विद्युत् ग्रिडमा सौर्य ऊर्जाको हिस्सा ९ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ,’ उनले भने, ‘विविध स्रोतबाट प्राप्त गर्न सकिने ऊर्जालाई राष्ट्रिय प्रसारणमा मिसाउनु विश्वमा अनिवार्यजस्तै  भएको छ ।’

    उनका अनुसार जलविद्युत् आयोजनामा ६० प्रतिशत हिस्सा सिभिल संरचनाको हुन्छ । तर, सौर्य ऊर्जा प्रणालीमा सिभिल संरचनाको हिस्सा ५ प्रतिशत मात्र हुन्छ । हाल चीनले ३० प्रतिशतसम्म सौर्य ऊर्जा मिश्रण गर्दै आएको छ ।

    सौर्य ऊर्जामा निर्भर हुन नसकिने

    रात (सूर्यास्त) को समय, झरी, बादल, हुस्सुजस्ता मौसममा सौर्य ऊर्जा उत्पादन नै हुन नसक्ने भएकाले पूर्ण रूपमा निर्भर हुन नसकिने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीको भनाइ छ । त्यसैले सौर्य ऊर्जालाई ‘इन्टरमिटेन्ट इनर्जी’ (आपूर्तिलाई आन्तरिक रूपमा जोड्ने) विद्युत्को रूपमा मात्र प्रयोग गर्न सकिन्छ । हाल दिउँसोको समयमा १ सय ३५ मेगावाट सौर्य विद्युत् मात्रै प्रणालीमा आपूर्ति गर्न सकिएमा भारतबाट दिउँसोको समयमा हुने आयातलाई विस्थापित गर्न सकिने मल्लिकको भनाइ छ ।

    ४३ मेगावाट सौर्य  विद्युत्को पिपिए

    प्रवक्ता अधिकारीका अनुसार ऊर्जा संकट न्यूनीकरण कार्ययोजना २०७२ ले सौर्य विद्युत्लाई ९ रुपैयाँ ६१ पैसा प्रतियुनिटको ‘बेन्चमार्क’ बनाउने नीति लिएको थियो । सोहीअनुसार सौर्य विद्युत् खरिद गर्न सरकारले विद्युत् प्राधिकरणलाई अनुमति दियो । त्यसपछि प्राधिकरणले ६१ मेगावाट क्षमताबराबरका सौर्य ऊर्जा उत्पादनका लागि प्रस्ताव आह्वान गरेको थियो ।

    सो आह्वानअनुसार प्रस्ताव पेस गर्नेमध्येबाट हालसम्म ४३ मेगावाटबराबरको सौर्य ऊर्जाको पिपिए प्राधिकरणले गरिसकेको छ । विश्व बैंकको सहयोगमा प्राधिकरणले नै नुवाकोटमा प्रवद्र्धन गरिरहेको २५ मेगावाटसहित हाल ६८ मेगावाट सौर्य विद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । थपिएकासमेत गरी ३९ मेगावाटको पिपिए हुने प्रक्रियामा छन् भने नवलपरासीमा ९ सय ६० किलोवाट र ललितपुरमा ६ सय किलोवाटको सौर्य ऊर्जा  सञ्चालनमा छन् ।

    तर, सौर्य ऊर्जाको पिपिएदर ९७ रुपैयाँ ३० पैसा० वैज्ञानिक नभएको नेपाल सौर्य ऊर्जा उत्पादक संघका अध्यक्ष किरण गौतमको गुनासो छ । उनका अनुसार हाल भारत (राजस्थान) मा न्यूनतम २ रुपैयाँ ४० पैसा भारुमा सौर्य ऊर्जा खरिद–बिक्री भइरहेको छ ।

    चालू दरमै विद्युत् प्राधिकरणले घर तथा उद्योग, प्रतिष्ठानमा जडान गरिएको सोलार प्लान्टबाट उत्पादन भएको बढी विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने नीतिसमेत कार्यान्वयनमा ल्याएको छ । यो नीतिकै आधारमा रुफटप सोलारसम्बन्धी निर्देशिका कार्यान्वयनमा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल इन्जिनियरिङ एसोसिएसन र इसिमोडले नेट मिटरिङ जडान गरी आफूलाई बढी भएको दिउँसोको सौर्य विद्युत् प्राधिकरणलाई बिक्री गर्दै आएका छन् ।

    २१ हजार मेगावाट  सौर्य विद्युत्को सम्भावना

    सोलार एन्ड विन्ड इनर्जी एसेसमेन्ट (स्वेरा) प्रोग्रामले २००६ मा गरेको आध्ययनअनुसार नेपालमा २१ हजार मेगावाट सौर्य ऊर्जा उत्पादनको सम्भावना देखिएको थियो । यो छानाबाहेक घाम लाग्ने ठाउँमा सोलार प्लान्टबाट उत्पादन हुन सक्ने विद्युत्को अनुमान हो । यसबाहेक काठमाडौं, पोखरा र विराटनगरका ३ सहरमा रहेका भवनका छानाबाट २ हजार ६ सय ३ मेगावाट विद्युत् उत्पादन हुने सम्भावना रहेको एइपिसीको अध्ययनले देखाएको छ ।

    २०१६ मा एइपिसीले गरेको अध्ययनअनुसार काठमाडौंका आवासीय, औद्योगिक तथा व्यावसायिक भवनका छानाबाट २ हजार १ सय ९८ मेगावाट सौर्य विद्युत् उत्पादन गर्न सकिन्छ । त्यस्तै, पोखरामा २ सय ८३ मेगावाट र विराटनगरमा १ सय २२ मेगावाट सौर्य विद्युत् उत्पादन हुन सक्ने सम्भावना छ । भवनका छानाको ३० प्रतिशत भागको प्रयोगबाट सो परिमाणको विद्युत् उत्पादन हुने अध्ययनले देखाएको सौर्य ऊर्जा विज्ञ मल्लिकले बताए ।

    तत्काल १६० मेगावाट प्रणालीमा

    हाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण सञ्जालमा १ हजार ८० मेगावाट जडित क्षमताका आयोजनाहरूले विद्युत् आपूर्ति गरिरहेका छन् । यसमध्ये ५ सय ७ मेगावाट प्राधिकरणको, ५ सय २० मेगावाट निजी उत्पादकको र ५३ मेगावाटको थर्मल प्लान्ट रहेका छन् । यसको १५ प्रतिशत अर्थात् झन्डै १ सय ६० मेगावाट सौर्य विद्युत् हालअनुसार प्राधिकरणको सञ्जालमा मिसाउन सकिने प्रवक्ता प्रबल अधिकारीको भनाइ छ । नयाँपत्रिकाबाट

     

    अर्थ संसार