माथिल्लो तामाकोसी प्रसारणलाइन निर्माणको काम आधा सकियो

    1103

    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् जोडिने निर्माणाधीन गोंगर–खिम्ती २ सय २० केभी डबल सर्किट प्रसारणलाइनको काम आधा सकिएको छ । आयोजनाको विद्युत्गृह गोंगरदेखि खिम्तीसम्म निर्माण हुने ४७ किलोमिटर प्रसारणलाइनको काम अहिले भइरहेको छ ।

    आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी आफैंँले प्रसारणलाइन निर्माणको काम गरिरहेको छ । कुल १ सय २७ टावर रहने प्रसारण लाइनको अहिलेसम्म १ सयवटा टावर निर्माण भइसकेको छ । त्यस्तै २० वटा टावर निर्माण गर्न जग (फाउन्डेसन) तयार भएको र ७ वटा भने बाँकी रहेको माथिल्लो तामाकोसीका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

    भारतीय कम्पनी केइसी इन्टरनेसनलले गरिरहेको  प्रसारणलाइनको काम ३ खण्डमा भइरहेको छ । गाेंगरदेखि सुनखानीसम्म एउटा खण्ड, सुनखानीदेखि भिरकोटसम्म दोस्रो खण्ड र भिरकोटदेखि रामेछापको फुलासीसम्म तेस्रो खण्डका रूपमा काम बाँडफाँड गरी अघि बढाइएको प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार ठडिएका टावरमा १४ किलोमिटर तार तान्ने काम पनि सकिएको छ ।

    आयोजनाको विद्युत् जोडिने रामेछापको फुलासीस्थित न्यू खिम्ती सबस्टेसन निर्माणको काम पनि सुरु हुन लागेको छ । अधिकांश स्थानीयले जग्गाको मुआब्जा बुझेपछि सबस्टेसन निर्माण गर्न माटो परीक्षण भइरहेको छ । प्रसारणलाइन र सबस्टेसन निर्माणको सम्पूर्ण काम १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले ०७५ असारदेखि विद्युत् उत्पादन थाल्ने न्यौपानेले बताए । आयोजनाले पहिलो युनिट असारदेखि उत्पादन सुरु गरेर २०१८ को डिसेम्बरसम्म पूर्ण क्षमतामा सञ्चालन हुने कार्यतालिका बनाएको छ । आयोजनाले प्रसारणलाइनको काम ०७५ जेठसम्म पूरा गर्नुपर्ने सम्झौता छ ।

    फुलासीमा प्रस्ताव गरेको न्यू खिम्ती सबस्टेसन समयमा नबन्दा आयोजनाको विद्युत् खेर जाने शंका थियो । तर, अहिले सो आशंका समाधान भएको छ । नेपाल विद्युत् प्राधिकरणले जग्गा व्यवस्थापन गर्ने र माथिल्लो तामाकोसीले सबस्टेसन निर्माण गर्ने जग्गाको मुआब्जाको विषयमा ४ वर्षदेखि विवाद थियो ।

    आयोजनाकै पहलमा जग्गाधनीहरूसँग समन्वय गरी जग्गाधनीले मुआब्जा बुझेका हुन् । अहिले आयोजनाले सबस्टेसन निर्माणको कामसमेत सुरु गरेको हो । दोलखा, रामेछाप र ओखलढुंगामा उत्पादन भएको विद्युत् न्यू खिम्तीमा जोडेर तराई र काठमाडौंका प्रसारणलाइनमा जोड्ने प्राधिकरणको योजना रहेको छ ।

    स्रोत:नयाँपत्रीका