लोडसेडिङ हट्दै जाँदा ६० अर्ब रुपैयाँ बचत

    1608

    काठमाडौँः नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङलाई हटाउँदै लगेयता देशको ढुकुटीमा करिब ६० अर्ब रुपैयाँ बचत भएको छ ।

    प्राधिकरणमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएपछि सुरु भएको लोडसेडिङ अन्त्य अभियानसँगै यति ठुलो परिमाणको रकम बचत हुन पुगेको हो ।

    दक्षिण कोरियाको सोलमा त्यहाँ रोजगारी गरिरहेका नेपालीहरुसँगको अन्तरक्रियाका क्रममा ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो जानकारी दिएका हुन् ।

    ‘लोडसेडिङ घटाउने अभियान थालेसँगै ठुलो परिमाणमा रकम बचत भएको छ । हामीलाई प्राप्त विवरणअनुसार ६० अर्ब रुपैयाँ भन्दा धेरै बचत भएको पाइएको छ’, शर्माले भने, ‘हिजोसम्म घाटामा गएका होटल र अन्य व्यवसाय पनि अहिले नाफामा जान थालेका छन् । साधरण होटलले पनि नाफा गर्न थालेको सुन्न पाएको छु ।’

    फरक प्रसङ्गमा मन्त्री शर्माले नौ वटा ठुला जलविद्युत आयोजना लगानीको फरक फरक मोडेलमा बनाउनेतर्फ सरकारले तीब्र गतिमा काम थालेको बताए ।

    उनका अनुसार तीनवटा ठुला आयोजना नेपालीकै पैसबाट बनाउने तयारी थालिएको छ । ‘तीनवटा ठुला आयोजना नेपालीकै पैसाबाट बनाइने छ, यसबाट आउने फाइदा नेपालीलाई नै बाँड्छौँ’, शर्माले भने, ‘अन्य तीनवटा आयोजना अन्तरराष्ट्रिय दातृनिकायबाट ऋण लिएर बनाउने तयारी भइरहेको छ ।’

    अन्य तीनवटा ठुला आयोजना भने नेपाल सरकारको कम्तिमा पनि ३० प्रतिशत सेयर रहने गरी अन्तरराष्ट्रिय लगानीकर्तासँग मिलेर बनाइने मन्त्री शर्माले बताए ।

    ‘ठुलो लगानीका र महँगा आयोजना विदेशी लगानीमा बनाउँछौ, जसमा नेपालको पनि कम्तिमा ३० प्रतिशत सेयर हुनेछ’, उनले भने, ‘यो मोडलमा सबै योजना सफल भए भने हामीले कुनै देशसँग परनिर्भर भएर बाँच्नै पर्दैन ।’

    मन्त्री शर्माले कर्णालीबासीको जीवनस्तरमा सुधार गर्न तिलाकर्णाली आयोजनामा त्यहाँका जनताको अनिवार्य लगानी हुनुपर्ने व्यवस्था गरिएको बताए ।

    ‘तिलाकर्णालीमा सरकारले पनि लगानी गर्नेछ । कर्णालीका पाँचै जिल्लाका जनताले एक एक लाख लगानी गर्नेछन्’, उनले भने, ‘सबैभन्दा सस्तो मानिएको तिलाकर्णालीमा कर्णालीबासीले एक लाख रुपैयाँ हाल्दा कम्तिमा पनि २० लाखको हुनेछ । यसले कर्णालीबासीलाई सम्पन्नताको बाटोमा लैजान्छ ।’

    स्रोत:कारोबार