८ जलविद्युत् कम्पनीको सेयर आउँदै

1556

भाद्र ३०, २०७६

काठमाडौँ — निकट भविष्यमा दर्जन जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन् ।

बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्नेर् कानुनी व्यवस्था छ ।

हाल विभिन्न क्षेत्रका १२ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदै छ । तीमध्ये ८ वटा जलविद्युत् कम्पनी, ३ वटा अन्य र एक मर्चेन्ट बैंकिङ क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांशले स्थानीयवासी र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांकअनुसार विभिन्न क्षेत्रका दर्जन कम्पनीले कुल ४ अर्ब १४ करोड ४८ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको ४ करोड १४ लाख ४८ हजार ५ सय ६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।

सेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् क्षेत्रका कम्पनीमा सिंगटी हाइड्रो इनर्जी, शुभम् पावर, ग्रिनलाइफ हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, युनाइटेड इदिमर्दी एन्ड आरबी हाइड्रोपावर, मैलुङखोला जलविद्युत्, माउन्टेन इनर्जी नेपाल र शिव श्रीहाइड्रोपावरले बोर्डमा आवेदन दिएका हुन् । यस्तै अन्य क्षेत्रका नेपाल पुनर्बिमा, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्टक्चर लिमिटेडको आवेदन पनि बोर्डमा दर्ता भएको छ । मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ ।

हाल सेयर बजारमा ३२ वटा जलविद्युत् कम्पनी सूचीकृत छ । यो वर्ष यस्तो संख्या बढेर ५० हाराहारीमा पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जन बढी पुग्ने जानकाहरू बताउँछन् ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । हाल सेयर बजारको कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा औसत करिब ४ प्रतिशत मात्र छ । सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने बताइएको छ ।

जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ । स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जलविद्युत्लगायत उत्पादनमूलक क्षेत्रका कम्पनीले आयोजना प्रभावितलाई बाहेक थप कम्तीमा १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ ।

विगत लामो समयदेखि सेयर बजारमा वित्तीय क्षेत्रको प्रभुत्व रहँदै आएको छ । कुल सूचीकृत कम्पनीमध्ये ८० देखि ८५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको छ । यसकारण राष्ट्र बैंक र बिमा समितिका ससाना निर्देशनले पनि सेयर बजार नराम्ररी प्रभावित हुँदै आएको छ ।

पछिल्ला वर्षमा सेयर बजारमा अपेक्षित रूपमा उत्पादनमूलक (वास्तविक) क्षेत्रका कम्पनी भित्र्याउन नसकेको आरोप सरकार र नियामक निकायलाई लाग्दै आएको छ । जलविद्युत् कम्पनीको संख्या बढेसँगै सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीको प्रभुत्व घट्ने जानकारहरू बताउँछन् ।

आर्थिक वर्ष ०७५/७६ मा सेयर बजारमा ३५ अर्ब रुपैयाँ बराबरको प्राथमिक निष्कासन भएको छ । गत वर्षको तुलनामा कुल प्राथमिक सेयर निष्कासन ३४ प्रतिशतले कम हो । यो चालु आर्थिक वर्षमा आईपीओ, हकप्रद, एफपीओ, ऋणपत्र र सामूहिक लगानी कोषले निष्कासन गरेको कुल रकम हो । आर्थिक वर्ष ०७४/७५ मा कुल ५३ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन भएको थियो ।

स्रोत:कान्तिपुर