पेट्रोलियम पदार्थबाट २१ अर्ब संकलन

    922

    बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि निगमले आर्थिक वर्ष २०७३/७४ को १६ जेठदेखि भन्सार विन्दुबाट प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गर्दै आएको थियो ।

    बूढीगण्डकी जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २१ अर्ब रुपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले जुन महिनासम्म इन्धनबाट सो रकम संकलन गरेको हो ।

    निगमले इन्धन आयात हुने भन्सार विन्दुमा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गर्दै आएको छ । जुन महिनासम्म २१ अर्ब ४२ करोड रुपैयाँ संकलन भएको निगमले जानकारी दिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि निगमले आर्थिक वर्ष ०७३/७४ को १६ जेठदेखि भन्सार विन्दुबाट प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गर्दै आएको थियो । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बूढीगण्डकीको नाममा जुन महिनासम्म २१ अर्ब ४२ करोड रुपैयाँ संकलन भएको जानकारी दिए । “प्रत्येक महिना इन्धनबाट संकलन गरिएको रकम सरकारको खातामा जम्मा हुने गरेको छ,” उनले भने “महिनामा ७० देखि ८० करोड रुपैयाँका दरले संकलन हुने गर्छ ।” निगमले अघिल्लो वर्ष ११ अर्ब रुपैयाँ संकलन गरेको थियो ।

    सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेट बजेटमामार्फत ७ अर्ब रुपैयाँ उठाउने लक्ष्यसहित इन्धनमा कर लगाउने घोषणा गरेको थियो । सोहीअनुसार निगमले एक वर्षमै लक्ष्य भन्दा बढी रकम संकलन गरेको थियो ।
    उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी सरकारले इन्धन आयात हुने सम्बन्धित भन्सार विन्दुबाट डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा पाँच रुपैयाँका दरले रकम संकलन गर्दै आएको छ । निगमले अन्य शीर्षकमा पनि उपभोक्ताबाट रकम असुल गर्दै आएको छ । प्रशासनिक खर्च, पूर्वाधार शुल्क, वातावरण प्रदूषण शुल्क र सडक मर्मत शुल्क गरी विभिन्न शीर्षकमा उपभोक्ताबाट रकम संकलन गर्ने गर्दछ । विभिन्न शीर्षकमा रकम संकलन गरिए पनि रकम खर्च नभई राज्यको कोषमा जम्मा हुने गर्छ ।

    सरकारले आफ्नो आम्दानी बढाउन इन्धनबाट विभिन्न शीर्षकमा उपभोक्ताबाट रकम संकलन गर्ने गर्छ । इन्धनबाट संकलन गरिएको रकम बूढीगण्डकी प्रभावितलाई मुआब्जा दिने काम भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । इन्धनबाट संकलन गरिएको रकम १२ सय मेघावाटको बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणमा खर्च गरिने छ ।

    बूढीगण्डकी प्रभावितलाई मुआव्जा दिने काम अझै सकिएको छैन । २ खर्ब ५९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि आवश्यक रकममध्ये निर्माण अवधिमा झन्डै एक खर्ब पेट्रोलियम पदार्थमा लगाइएको करबाट संकलन हुने र बाँकी रकमसमेत जुटाउन सकिने बताइएको छ ।

    स्रोत: कारोबार