कालंगागाड जलविद्युत् योजना : ३० प्रतिशत निर्माण सकियो

    1211

    बझाङ — कालंगागाड जलविद्युत् योजनाको निर्माण कार्य ३० प्रतिशत सम्पन्न भएको छ । तीव्र रूपमा निर्माणको काम भइरहेको यस आयोजनाबाट तोकिएकै समयमा विद्युत् उत्पादन सुरु हुने लक्ष्य रहेको छ ।

    निजी क्षेत्रको लगानीमा निर्माण थालिएको यो देशभरिकै पहिलो ठूलो आयोजना हो ।
    ३ वटा अलग–अलग खोलाबाट करिब ६५ मेगावाट विद्युत् उत्पादन गरेर एकै ठाउँबाट वितरण गर्ने गरी निर्माण थालिएको यस आयोजनाको १५ दशमलव ३३ मेगावाटको कालंगागाडको काम आधा जति सकिन लागेको हो । कुल ३ किलोमिटरको सुरुङमार्ग निर्माण गर्नुपर्ने कालंगामा १ किलोमिटर बढी सुरुङको काम सकिएको, ड्याम साइट र बक्स कल्भर्टको काम पनि आधा सकिएको साइट इन्चार्ज सन्तोष मल्लले बताए ।
    यस्तै ३८.४६ मेगावाट विद्युत् उत्पादन हुने सानीगाडको काम पनि ३० प्रतिशतको हाराहारीमा सम्पन्न भएको मल्लले बताए । उता १० मेगावाट विद्युत् उत्पादन हुने अपर कालंगाको काम पनि १० प्रतिशत जति सम्पन्न भएको र तीनवटै ठाउँमा युद्धस्तरमा काम भैरहेको उनले बताए ।
    २०६५ सालदेखि सम्भाव्यता अध्ययन सुरु भएको यस जलविद्युत् आयोजनाको निर्माणका लागि ३ वटा बैंकहरूसँग ऋण लगानी सम्झौता भएपछि गत वर्षबाट निर्माण कार्य सुरु गरिएको थियो । सन् २०२० अर्थात् २०७७ साल असोजसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाले निर्माणका लागि आवश्यक पर्ने २ सय रोपनी जग्गा गत वर्ष नै खरिद गरिएको थियो ।
    १३ अर्बको लागत अनुमान गरिएको यस आयोजनामा ५६ प्रतिशत बैंकहरूको र २५ प्रतिशत विभिन्न क्षेत्रका निजी व्यवसायीहरूको लगानी रहेको छ भने १० प्रतिशत सेयर स्थानीयलाई वितरण गर्ने बताइएको छ ।
    यो आयोजनाको ३ ठाउँमा संरचना निर्माण हुँदै छ । ३८.४६ मेगावाटभन्दा दहबगरमा इन्टेक बनेर खिरातडीको बिजगाडमा पावर हाउस बन्नेछ । कालंगा हाइड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको करिब १५.३३ मेगावाटको खिरातडीको पाउटामा इन्टेक निर्माण हुने र सुनकुडाको घोडादाउनमा पावर हाउस निर्माण गरिनेछ । सानीगाड हाइड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको झन्डै १०.०७ मेगावाटभन्दा बढी क्षमताको विद्युत् कफलसेरीको जुनैबाट झारेर पीपलकोटको खौलाधारमा पावरहाउस निर्माण गरिने तयारी छ । अहिले यहाँ सुरुङ खन्ने काम तीव्र रूपमा चलिरहेको छ । तीनवटा आयोजनामध्ये कालंगा हाइडोमा ३.८ किलोमिटर, अपर कालंगामा ८.२ किलोमिटर र सानीगाडमा २ दशमलव १ किलोमिटर गरी करिब १५ किलोमिटर सुरुङ निर्माण गरिने आयोजनाका संस्थापक वीरेन्द्र मल्लले बताए ।
    अहिले यस आयोजनाका स्थानीय तथा अन्य जिल्लाका गरी दुई हजारभन्दा बढीले रोजगार पाएका छन् । यो आयोजना सुदूरपश्चिमकै गौरवको आयोजना भएकाले यो निर्माणका लागि स्थानीय सरकारले पनि सक्दो सहयोग गर्ने बुङगल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले बताए ।
    स्रोत:कान्तिपुर