ठेउलेखोला जलविद्युतकाे काम रोकियो

    1172

    बागलुङ :  स्थानीयले जग्गाको मुआब्जा अस्वाभाविक माग गरेपछि ठेउलेखोला जलविद्युत् आयोजनाको निर्माण रोकिएको छ। निर्माणको अन्तिम चरणमा पुगेको यस आयोजनासँग जैमिनी नगरपालिका वडा न. ५ का खगेश्वर शर्माले अस्वाभाविक मुआब्जा माग गरेका कारण अन्तिम समयमा निर्माण कार्य रोकिएको हो।

    शर्माको जग्गामा जम्मा १६ मिटर टनेल (पाइपलाइन) बनाउनुपर्ने भए पनि त्यसका लागि उनले एक करोड पाँच लाख रुपैयाँ मुआब्जा माग गरेरका छन्। परियोजनाका इन्जिनियर सूर्य अधिकारीले मुआब्जाका कारण अन्तिम समयमा काम रोकिएको जानकारी दिए। उनका अनुसार परियोजनाका लागि त्यस क्षेत्रमा प्रतिरोपनी तीन लाख ६० हजार रुपैयाँमा जग्गा अधिग्रहण गरिए पनि शर्माले एक करोड पाँच लाख रुपैयाँ माग गरेपछि टनेल बनाउने काम रोकिएको हो।

    तर, जग्गा धनी खगेश्वर शर्माले भने आफ्नो कारणले नभई आयोजनाकै कारण काम अल्झिएको बताए। ‘म त आयोजनाको काम छिटो होस् भन्ने पक्षमै छु’, उनले भने, ‘तर आयोजनाका कर्मचारीले मिल्ने विकल्पभन्दा पनि प्रहरी प्रशासनको आडमा पेलेर मिल्न बाध्य बनाउन खोज्दा काम अड्किएको छ।’

    जैमिनी नगरपालिका ५ बिनामारेका वडाध्यक्ष गोपालप्रसाद शर्माले आयोजना निर्माणका क्रममा भएको क्षतिलाई बोध गरेर आयोजनाले पनि उपर्युक्त प्रस्ताव गर्नुपर्ने बताए। ‘अहिले दुवै पक्ष आआफ्नै अडानमा हुँदा समस्या देखिएको छ’, उनले भने, ‘स्थानीय बासिन्दासँग पनि पर्याप्त छलफल गरेर व्यावहारिक विकल्प आयोजनाले खोज्नुपर्छ अहिले प्रहरी प्रशासनको बलमा जर्वजस्ती मिल्नुपर्ने मिलाउनुपर्ने भन्ने प्रवृत्ति देखिएको छ। यसमा दुवै पक्षलाई जितको महसुस गराउने विकल्प खोजी हुन आवश्यक छ।’

    आयोजना प्रभावित क्षेत्रमा जग्गापर्नेलाई करिब ९० लाखभन्दा बढी रकम मुआब्जा वितरण गरिसकिएको आयोजना कार्यालयले जानकारी दिएको छ। १६ मिटरको टनेल निर्माणका लागि ४ घण्टा र अन्य काम गर्न जम्मा एक दिन लाग्ने भए पनि अवरोधका कारण दुई महिनादेखि काम हुन सकेको छैन। जग्गा विवादका विषयमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा छलफल भए पनि अहिलेसम्म समाधान हुन सकेको छैन। अहिले समस्या समाधानका लागि समिति समेत गठन गरिएको छ।

    प्रतिरोपनी तीन लाख ६० हजार रुपैयाँमा जग्गा अधिग्रहण गरिए पनि शर्माले एक करोड पाँच लाख रुपैयाँ माग गरेपछि टनेल बनाउने काम रोकिएको हो।

    २०७० चैतमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको साढे एक मेगावाटको ठेउलेखोला निर्माणका क्रममा भारतीय नाकाबन्दी, विनाशकारी भूकम्पका कारण दुई वर्ष ढिलाइ भएको थियो। २०७० मा विद्युत् आयोजना निर्माणको योजना बनाउँदा २६ करोड ५० लाख लागत अनुमान गरिएकामा विनासकारी भूकम्प र नाकाबन्दीका बेला काम रोकिँदा काम गर्ने समय अवधि बढेको, नाकाबन्दीका बेला महँगोमा निर्माण सामग्री खरिदलगायत समस्याका कारण आयोजना निर्माण सम्पन्न गर्न ३३ करोडभन्दा बढी रुपैयाँ खर्च लाग्ने अधिकारीले बताए।

    बाराही हाइड्रोपावर प्रालिले निर्माणको जिम्मा लिएको यस आयोजनामा पावरहाउस निर्माण, सबस्टेसन निर्माण कार्य सम्पन्न भइसकेको छ। सर्कुवा र कुश्मीसेराको सिमानामा बाँध, बिनामारेको मसिना पुल नजिकै पावर हाउस निर्माण र कुश्मीसेराको टुनीबोटमा प्रसारण लाइन तयार गरिएको छ।

    स्रोत:अन्नपूर्ण