सुरू भयो रूग्ण उद्योगको अध्ययन

2068

भाद्र २६, २०७७

काठमाडौँ : रुग्ण उद्योगहरूको पहिचान, वर्गीकरण गरी पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन गठन भएको समितिले काम सुरु गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको समितिले हाल पूर्वकार्य समीक्षा गरिरहेको छ । चार महिनाभित्र प्रतिवेदन बुझाउने गरी काम अघि बढाएको बताइएको छ ।

समितिका संयोजक दीपक सुवेदीले भन्नुभयो, “भर्खर समितिका दुईवटा बैठक सम्पन्न भए । यसअघि भएका अध्ययन तथा काम र ऐन कानुनको अध्ययन गरिरहेका छौँ । रुग्ण उद्योगका बारेमा २०७०÷७१ मा नीतिगत हिसाबले अध्ययन भएको रहेछ । यी कुराको सबै अध्ययन गरिसकेपछि हामी उद्योगहरूको अवस्था अध्ययनमा लाग्छौँ । ” समितिले औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार नेपाल सरकारको लगानीमा स्थापित मन्त्रालय सम्बद्ध उद्योगहरू र निजी क्षेत्रको हकमा सङ्घीय सरकारको अधिकार क्षेत्रमा पर्ने उद्योगको भौतिक, वित्तीय, प्रविधिगत र व्यवस्थापकीय लगायतका पक्षको डीडीए (ड्यु, डिलिजेन्स अडिट) विश्लेषण गरी रुग्ण उद्योगको पहिचान गर्नेछ ।

सरकारको लगानी भएका पूर्ण रुग्ण, रुग्ण र रुग्ण उन्मुख उद्योगहरूको रुग्णताको अवस्थाको छुट्टाछुट्टै अध्ययन गरी रुग्ण उद्योगहरूको पुनरुत्थान, सुदृढीकरण, सञ्चालन एवं व्यवस्थापन गर्न अपनाउनुपर्ने मोडालिटी तयार गर्ने समितिको जिम्मेवारी भएको संयोजक सुवदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिले निजी क्षेत्रका पूर्ण रुग्ण, रुग्ण र रुग्ण उन्मुख उद्योगहरूमध्ये सम्भावितलाई पुनरुत्थान, पुनर्निर्माण र व्यवस्थापन गर्ने सम्बन्धमा सम्बन्धित उद्योग र सरकारले लिनुपर्ने पहलकदमीबारे सिफारिस गर्नेछ । पूर्ण रुग्ण, रुग्ण र रुग्ण उन्मुख उद्योगहरूले पाउनुपर्ने थप छुट, सुविधा वा सहुलियतसम्बन्धी नीतिगत, कानुनी एवं व्यवस्थापकीय विषयमा गर्नुपर्ने सुधारको सिफारिस पनि गर्नेछ ।

औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार उद्योगले आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ भएदेखि न्यूनतम पाँच वर्षसम्म सञ्चालनमा रही उद्योगको आफ्नो नियतवश वा व्यवस्थापकीय कमजोरीका कारणले नभई काबुबाहिरको परिस्थिति परी लगातार पछिल्ला तीन वर्षसम्म उद्योगको जडित क्षमताभन्दा ३० प्रतिशत वा सोभन्दा कम क्षमतामा सञ्चालन भई तीन वर्ष लगातार घाटामा रहेको उद्योगलाई रुग्ण उद्योगका रूपमा घोषणा गर्नेसक्ने व्यवस्था छ । पूर्ण रुग्ण, रुग्ण र रुग्ण उन्मुख भनेर तीन वर्गीकरणमा रुग्ण उद्योगहरूको पहिचान गर्न सकिने व्यवस्था छ ।
मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीका अनुसार अहिले के कति उद्योग रुग्ण छन् भनेर भन्न सकिने अवस्था छैन, त्यसैका लागि अध्ययन गर्न लागिएको हो ।

स्रोत: कान्तिपुर