पेनस्टक पाइपमा राखिने स्टिलको भन्सार घट्यो

2075

आश्विन २०, २०७७

काठमाडौँ — यो वर्षको बजेटमार्फत बढाइएको पेनस्टक पाइपमा लाग्ने स्टिलको भन्सार महसुल दर घटेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार महसुल दर घटाउने निर्णय गरेको थियो ।

जलविद्युत् आयोजनामा प्रयोग हुने पेनस्टक पाइपमा लाग्ने भन्सार महसुल यो वर्षको बजेटमार्फत १ बाट १३ प्रतिशत पुर्‍याइएको थियो । भन्सार महसुल दर बढाउने निर्णयले जलविद्युत् आयोजनाको लागत बढ्ने भन्दै ऊर्जा उत्पादकहरूले विरोध जनाएका थिए । ‘ऊर्जा मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पेनस्टक पाइपमा प्रयोग हुने स्टिलमा बढेको भन्सार महसुल दर घटाएर पुरानै कायम गर्ने निर्णय गरेको हो,’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

यो वर्षको बजेटमार्फत पेनस्टक पाइपमा जडान हुने स्टिलमा लाग्दै आएको भन्सार दर बढेपछि ऊर्जा उत्पादकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गुनासोसमेत गरेका थिए । बिहीबारकै मन्त्रिपरिषद् बैठकले विद्युतीय सवारीमा बढाइएको भन्सार महसुल पनि पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।

स्रोत:कान्तिपुर