तनहुँ जलविद्युत् आयोजनाको हेडबक्सकाे जिम्मा भियतनामी कम्पनीलाई

1156

चैत्र १०, २०७७

काठमाडौँ:
निर्माण कम्पनीसँगको असमझदारीका कारण निर्माण कार्य अवरुद्ध रहँदै आएको तनहुँ जलविद्युत् आयोजनाको निर्माणले गति लिने भएको छ ।

पहिलो प्याकेजका काम गर्न इटालियन निर्माण कम्पनी सीएमसी डी राभेनासँग दुई वर्ष पहिले नै ठेक्का सम्झौता तोडिएकामा अहिले सोही कार्यका लागि आयोजना प्रवर्धकले नयाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको सो आयोजनाको नदी फर्काउने, बाँध बनाउनेलगायतका हेडबक्सकाे काम भियतनामी र एक नेपाली निर्माण कम्पनीको संयुक्त उपक्रम (जेभी)ले पाएको हो ।

पहिलो प्याकेजको निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्र) लि. नेपाल जेभी र आयोजना प्रवद्र्धकबीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेका अनुसार ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको प्रबन्ध–सञ्चालक थिकेले बताउनुभयो । कम्पनीसँग १६ अर्ब ६२ करोड रुपियाँमा निर्माण सम्झौता भएको हो ।

सम्झौतामा प्रबन्ध–सञ्चालक थिके र सोङ दा–कालिका जेभीका तर्फबाट विक्रम पाण्डेले हस्ताक्षर गर्नुभएको हो । हाइड्रो मेकानिकल र प्रसारण लाइनका काम भने अहिले नियमित छन् । हेडवक्र्सको काम गर्न नसकेपछि आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माणका लागि निर्माण कम्पनी सीएमसी डी राभेना, इटालीसँग गरेको सम्झौता ०७५ असोजमा भङ्ग गरिएको थियो ।

नयाँ निर्माण कम्पनी खोज्नका लागि ०७६ वैशाखमा आह्वान गरेको बोलपत्रका सबै आवेदन प्रवर्धकले रद्द गरेको थियो । २०७६ फागुनमा आह्वान गरिएको बोलपत्रका आवेदकबाट किफायती र प्रभावकारी मानेर अहिले ठेकेदारसँग सम्झौता गरिको हो । तीनवटा अन्तर्राष्ट्रिय बोलपत्रदाताहरूले बोलपत्र पेस गरेका थिए ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माणकार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत् गृह खन्ने कार्यहरूको अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य गरिरहेको थिकेले जानकारी दिनुभयो ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण जारी छ । आयोजनाको प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी लागत अनुमान गरिएको छ ।

आयोजनामा एसियाली विकास बैङ्कको १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)को १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार:नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

स्रोत: गोर्खापत्र