तमोरले ल्यायाे खुसियाली

2343

०५ कार्तिक, २०७६

ताप्लेजुङ – तमोर जलाशययुक्त आयोजना निर्माणका लागि लगानी बोर्ड र चीनको पावर कन्स्ट्रक्सन कोअपरेसन अफ चाइनाबीच सहमति भएलगत्तै ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले ट्विट गर्दै लेखे, ‘जनतालाई जोडिएर गरिएको विकासले जनता खुसी हुने मात्र होइन, पार्टी तथा सरकार बलियो पनि हुन्छ।’

चिनियाँ राष्ट्रपति सि चिनफिङको विचार प्रेरित उनको ट्विट नेपालकै समृद्धिसँग गाँसिएको तमोरको भविष्य कोरिएकामा प्रसन्नताले भरिएर सामाजिक सञ्जालमा छतातुल्ल भएको थियो। साँवा भन्छन्, ‘यसले पूर्वी नेपालको चमक त फेर्छ नै, नेपालकै समृद्धिका लागि महत्वपूर्ण कोसेढुंगा पनि बन्ने छ।’

बहुचर्चित तर, लगानीका दृष्टीले काम अघि बढ्ला त ? भनेर जनताले आशंका समेत साँच्ने गरेको तमोर जलाशययुक्त आयोजनाको निर्माण चर्चा सुरुभएपछि पूर्वी नेपालमा हर्षका तरङ्ग छचल्किएका छन्। पहिलो र दोस्रो संविधानसभामा ताप्लेजुङबाट निर्वाचित डम्बरध्वोज तुम्बाहाम्फे लगानी बोर्ड र चिनियाँ विद्युत् कम्पनीबीचको निर्माण साझेदारीले आयोजनाको भविष्यको आधार कोरिएको बताउँछन्। विद्युत् उत्पादनमा लगानी बढाउँदै गरेका उनले आयोजना निर्माणका लागि भएको सहमति राष्ट्रका लागि महत्वपूर्ण रहेको बताए।

उनले थपे, ‘आयोजना स्थलमात्र पूर्वी नेपालमा हो, यसले सिंगो देशको आर्थिक श्रीवृद्धिमा देशकै नमूना योजनाको रुपमा आफूलाई स्थापित गर्ने छ।’ स्पार्क इलेक्ट्रिक हाइड्रो पावर कम्पनी लिमिटेडका कार्यकारी प्रमुख भानेन्द्रकुमार लिम्बूले तमोर निर्माण भएमा विद्युत्, सिँचाइ र जलयात्रासहित क्षेत्रमा नेपालले बहुआयामिक फाइदा लिनसक्ने बताए। हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्मेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र चाइना पावर कम्पनीबीच एमओयुसमेत भइसकेको अवस्थामा तमारको भविष्य राम्रो भइसकेको उनको बुझाइ छ। उनले यसलाई सफलतापूर्वक सम्पन्न गर्ने दिसामा सबै तहका सरकारले योजना बनाउने र सम्वेदनशील हुनुपर्नेमा जोड दिए। उनी एक सय २८ मेगावाट क्षमताको तमोरमेवा जलविद्युत् आयोजनाको मुख्य प्रवद्र्धक समेत हुन्। जानकारहरुका अनुसार यो आयोजना लगानीका हिसाबले नेपालमा अरु ठूला आयोजनाभन्दा सस्तो पर्ने छ। तमोरमा १२ सय १७ मिलियन अमेरिकी डलर लगानी गर्दा ३३ सय ५५ गिगावाट आवर बिजुली उत्पादन गर्ने अध्यनले देखाएको छ। त्यसैले यो आयोजनालाई धेरैले कम लागत र बहुफाइदाको रुपमा बुझेका छन्। लगानी बोर्डले पत्र दिएपछि पावर चाइनाले नेपालको जलविद्युत् लगानी तथा विकास कम्पनीसँग आयोजना कार्यान्यवन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकेको छ।

तमोर निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको थियो। पर्यटनमन्त्री योगेशकुमार भट्टराईको सचिवालयका अनुसार गत चैत दोस्रो साता सम्पन्न लगानी सम्मेलनमा पनि यो आयोजना निर्माणका लागि पाँचवटा कम्पनी इच्छुक देखिएका थिए। प्राधिकरणले विद्युत् विकास विभागबाट उक्त आयोजना अध्ययनका लागि २०७० साउन १६ गते अनुमति पाएको थियो। सुरुको अध्ययन भने सन् १९८५ मा जाइकाले गरेको मन्त्री भट्टराईको सचिवालयले जानकारी दिएको छ। गृह जिल्लालाई प्रत्यक्ष प्रभाव पार्ने योजनाबारे मन्त्री भट्टराई उल्लेख्य जानकारी र सूचना राख्ने गर्छन्। पूर्वोत्तरको कञ्चनजंघा शीर प्रस्थान बिन्दु मानिने तमोर नदी ताप्लेजुङ, पाँचथर र तेह्रथुमको सीमा भई बग्छ। तमोरको बाँध तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बाको सीमा भएर बग्ने लम्बुदोभानबाट डेढ किलोमिटर तालमार्फत बन्ने अध्ययनले देखाएको छ। लगानीका हिसाबले कम लागतको हुनुमा अर्को रोचक पक्ष पनि छ। प्रारम्भिक अध्ययनअनुसार तमोरमा दुई सय पाँच मिटर बाँध बनाउँदा जम्मा यहाँ जम्मा एक सय २६ घरपरिवारमात्रै विस्थापित हुनेछन्। यो जलाशयका कारण डुबानमा पर्ने जग्गामध्ये पाँच प्रतिशत मात्रै खेतीयोग्य रहेकाले मुआब्जासमेत सस्तो पर्ने अध्ययनको निश्कर्ष छ।

 

स्रोत:नागरिक