जलविद्युत् निर्माण धमाधम प्रसारणलाइन सुस्त

    1170
    प्रसारण लाइन निर्माण कार्य सुस्त गतिमा भइरहँदा उत्पादित विद्युत् खेर जाने चिन्ता प्रवर्द्धकमा छ 
    लमजुङ — विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको जेठ दोस्रो साता दोर्दी करिडोर भ्रमण गर्दा जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूलाई भनेका थिए, ‘आयोजना समयमा सक्नोस्, म एक युनिट पनि बिजुली खेर जान दिन्न ।’
    हौसिएका प्रवद्र्धकले निर्माणाधीन आयोजनाको कामलाई तीव्रता दिए । प्रसारण लाइनको पर्खाइमा बसेका  आयोजनाको कामले गति लियो । आश्वासनको ६ महिना बितिसक्दा पनि प्रसारण लाइन निर्माणको काम देखिने गरी हुन नसकेको गुनासो आयोजना प्रवद्र्धकहरूले गर्न थालेका छन् ।
    जलविद्युत् आयोजनाहरूको निर्माणका काम धमाधम छ । प्रसारण लाइन निर्माण कार्य सुस्त गतिमा भइरहँदा उत्पादित विद्युत् खेर जाने चिन्ता प्रवद्र्धकमा छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले आगामी चैत महिनाभित्र विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।
    आयोजनाको प्रवद्र्धक लिबर्टी इनर्जी कम्पनी लिमिटेडका अध्यक्ष कुशकुमार जोशीले निर्माणकार्य अन्तिम चरणमा आइपुग्दासमेत प्रसारण लाइन निर्माणले गति लिन नसकेको बताए । ‘हाम्रो काम ८५ देखि ९० प्रतिशत सकियो । हामी तोकिएकै समयमा निर्माण पूरा गर्छौं,’ उनले भने, ‘कुलमान घिसिङजीले उत्पादित विद्युत् १ मेगावाट पनि खेर जान दिन्नौं भनेकाले विद्युत् खेर नजानेमा आशावादी छौं । प्रसारण लाइन निर्माणको गति देख्दा उत्पादित विद्युत् खेर जाने चिन्ताले सताएको छ ।’
    दोर्दी करिडोरमा निर्माणाधीन १३२ केभीएको प्रसारण लाइन निर्माणमा सुस्त देखिएको भन्दै यसमा सरकार र विद्युत् प्राधिकरण जिम्मेवार बन्नुपर्ने प्रवद्र्धक कम्पनीका अधिकारीहरू बताउँछन् । दोर्दीखोलामै निर्माणाधीन २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको सुरुवाती लक्ष्य २०७४ असारसम्म निर्माण सक्ने थियो । एक वर्षपछि सरेको लक्ष्य अब आगामी चैत हुँदै भदौभित्र सक्ने कार्यतालिकामा सारेको छ ।
    इन्जिनियर दीपक ज्ञवालीका अनुसार आयोजनाको ७० प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ । प्रवद्र्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले प्रसारण लाइन समयमा बन्ने संकेत नदेखिएकाले पटकपटक म्याद थप गरेर आयोजना निर्माण गर्नुपरेको बताए । ‘कति पटक म्याद थप्यौं । प्रसारण लाइनको कार्य देखिने गरी भएन । हामी आयोजना निर्माण सक्छौं । विद्युत् खेर गयो भने विद्युत् प्राधिकरण र सरकार जवाफदेही हुनेछ,’उनले भने ।
    दोर्दी करिडोरमा मात्रै १ सय १८ मेगावाटका ४ आयोजना निर्माणाधीन छन् । अन्य आयोजनाको डिजाइन भइरहेको छ । ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ र १२ मेगावाटको दोदी –१ को निर्माण कार्य धमाधम भइरहेको छ । २०७६ असोजभित्र निर्माण सक्ने प्रक्षेपण गरिएको सुपर दोर्दी ‘ख’ ले पछिल्लो समय ०७७ असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    दोर्दी १ आयोजनाले ०७६ मंसिरभित्र निर्माण सक्ने लक्ष्य लिएको छ । तोकिएको समयमा प्रसारण लाइन नबन्दा विद्युत् उत्पादन खेर जाने भन्दै उनीहरूले जलविद्युत् निर्माणमा ‘आलटाल’ गर्नुपरेको गुनासो गरेका छन् । उदिपुर–कीर्तिपुर १३२ प्रसारण लाइन आयोजनाले भने निर्माण कार्य तोकिएको समयमा हुनेबताएको छ ।

    कीर्तिपुर बेंसीमा विद्युत् सबस्टेसन र उदिपुर–कीर्तिपुर बेंसी १३२ केभी डबल सर्किट प्रसारण लाइन १७ जुलाई २०१९ (चालु आर्थिक वर्षभित्र) मा सक्ने प्राधिकरणको कार्यतालिका छ । प्रसारण लाइन निर्माण कार्य यसअघि २०७३ भित्रै सक्ने भनिएको थियो ।

    तोकिएको समयमा काम नभएपछि प्रवद्र्धकले मन्त्री, प्राधिकरण, सांसद, नेतालाई गुहारेका थिए । उनीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निरीक्षण गर्दा प्रसारण लाइन निर्माण चाँडो गरिदिन दबाबमूलक संयन्त्र बनाइदिनसमेत माग गरेका थिए ।
    उदिपुर–कीर्तिपुर १३२ प्रसारण लाइनका प्रमुख इन्जिनियर रमेश पौडेलले तोकिएको समयमा निर्माण कार्य सक्न आयोजना हरदम तवरले लागिपरेको दाबी गरे । ‘प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । तोकिएको समयमा हामी सक्छौं,’ उनले भने ।

    उनका अनुसार दोर्दी गाउँपालिका ६ कीर्तिपुर बेंसीमा सबस्टेसन निर्माण धमाधम भइरहेको छ । कन्ट्रोल बिल्डिङ, स्विच एडको काम भइरहेको छ । सबस्टेसन निर्माण कार्य नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीलेगरिरहेको छ । जग्गा अधिग्रहणका लागि १ महिनाअघि सूचना निकालेर प्रक्रियामा गइसकेको छ ।

    ‘अब टावर फाउन्डेसनका लागि एनालगहरू आउन बाँकी छ । यो भारतबाट ल्याउनुपर्छ । ठेकेदारलाई समाना छिटो ल्याउन भनेका छौं । करिब १ महिना लाग्ला,’ उनले भने, ‘फाउन्डेसन निर्माण हुँदै गर्दा टावर पनि आउँछ । टावर ४ महिना भित्रमा आउला । टावर पनि भारतबाटै आउने हो । तार नेपालमै पाइन्छ । त्यसपछि देखिने काम हुन्छ ।’ यी कार्यमा ठेकेदारले ढिलाइ गरिरहेको उनलेसंकेत गरे ।
    ‘काम ढिलो नगर्न निर्माण कम्पनीलाई भनेका छौं,’ उनले भने । प्रसारण लाइन निर्माण कार्य मुडवरी एन्ड जोशी कन्स्ट्रक्सनले अघि बढाएको छ । टावर राख्नलाई आवश्यक जग्गा अधिग्रहणपछि मुआब्जा दिने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । चलनचल्ती र सरकारी दररेटलाई समायोजन गरी जग्गाको मूल्य कायम गराउने सन्दर्भमा सहायक प्रजिअ काजीमान सुनारको संयोजकत्वमा ५ सदस्यीय टोलीलाई प्रतिवेदन पेस गर्न भनी खटाएको छ ।

    टोलीले केही दिनमै प्रतिवेदन बुझाउने र मुआब्जा निर्धारण समितिको बैठकले जग्गाको मूल्य टुंग्याएर मुआब्जा दिइने उनले बताए । मुआब्जा वितरणसँगै भौतिक निर्माण कार्य देखिनेगरी अघि बढ्ने आयोजनाले जनाएको छ ।

    प्रसारण लाइनले बहन गर्ने विद्युत् बेंसीसहर नगरपालिका १ उदिपुरमा निर्माण हुने सबस्टेसनमा जोडिनेछ । यसमा ३३ वटा टावर रहनेछन् । उदिपुरमा सबस्टेसन मस्र्याङदी करिडोरमा निर्माण हुने २२० केभी प्रसारण लाइनले निर्माण गर्नेछ । मस्र्याङदी करिडोरले निर्माण गर्ने सबस्टेसन १ वर्षको अवधिमा नसकिने भएकाले उत्पादित विद्युत्लाई ७० मेगावाटको मध्यमस्र्याङदी जलविद्युत् आयोजनामा ‘स्विच एड’ गरिने स्रोतले बताएको छ ।
    आश गुरुङ
    स्रोत:कान्तिपुर