आश्विन १५, २०७५ – नेपाल विद्युत प्राधिकरणले सडक बिस्तारका लागि काठमाडौंको बालाजु क्षेत्रमा आज ७ घण्टा विद्युत कटौती गर्ने भएको छ । बालाजु वितरण केन्द्रले सूचना जारी गर्दै बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म करीब सात घण्टा विद्युत कटौती गर्न लागिएको जनाएको हो । वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म विस्तार भइरहेको सडकका पोल स्थानान्तरण गर्न बालाजु वितरण केन्द्रले सो क्षेत्रमा विद्युत कटौती गर्न लागेको हो ।
सो अवधिभर बालाजु–धर्मस्थली र बालाजु–नागार्जुन फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । बालाजु–धर्मस्थली फिडरको आपूर्ति बन्द हुने भएकाले नै पुरानो गुह्ेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर, छत्रे देउरालीलगायत स्थानको समेत विद्युत अवरुद्ध हुने बताइएको छ ।
यस्तै बालाजु–नागार्जुन फिडरको विद्युत कटौती गरिँदा जनजागृती टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटारसम्मको सेवा प्रभावित हुने भएको छ । वनस्थली–बालाजु सडकखण्ड विस्तारको काम भइरहेकाले आलो–पालो प्रणालीका आधारमा विद्युत लाइन काटिएको बालाजु वितरण केन्द्रले जनाएको छ ।