Preparing to buy 200 MW from India

    1767
    काठमाडौं—सरकारले भारतबाट थप २ सय मेगावाट बिजुली किन्ने प्रक्रिया सुरु गरेको छ । हिउँदमा लोडसेडिङ अवधि दैनिक १२ घन्टाबाट बढ्न नदिन नेपाल विद्युत प्राधिकरणले गत वर्षभन्दा बढाएर बिजुली किन्ने तयारी अघि बढाएको हो ।
    थप बिजुली आयातनिम्ति भारतीय सीमा क्षेत्रका प्रसारण लाइन मर्मत र स्तरोन्नति गर्न प्राधिकरणले भारतीय सरकारी अधिकारीसँग वार्ता गरिरहेको छ । विद्युत व्यापार कर्पोरेसन (पिटिसी) सँग यसबारे वार्ता गर्न प्राधिकरण प्रसारण निर्देशनालयका निमित्त उप–कार्यकारी निर्देशक कन्हैयाकुमार मानन्धर, इन्जिनियर अनिल राजभण्डारी र मनिलनिधि तिवारी नयाँदिल्ली पुगेका छन् ।
    nepal-india-interconnection

    भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव देवेन्द्र चौधरीको संयोजकत्वमा थप बिजुली ल्याउनेबारे आइतबार र सोमबार वार्ता भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए । ‘२ सय मेगावाट बिजुली थप किन्ने प्रस्ताव राखेका छौं, सहमति भए हिउँदको लोडसेडिङ १० घन्टामा झार्न सकिन्छ,’ उनले सोमबार नागरिकसँग भने, ‘दिल्लीमा रहेको प्राधिकरणको टोलीले मंगलबार अन्तिम छलफल सकेर यसबारे टुंगो लगाउनेछ ।’

    थप बिजुली किन्न नसके पनि अधिकतम १२ घन्टाभन्दा बढी बिजुली कटौती नहुने पाण्डेयको दाबी छ । प्राधिकरणकै भारप्रेषण केन्द्रले भने आउँदो हिउँदमा प्रसारण प्रणालीमा बिजुली थपिने सम्भावना कम रहेकाले १६ देखि १७ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरेको छ ।

    प्राधिकरणले गत हिउँदमा भारतबाट औसत ८ रुपैयाँ ६४ पैसा प्रतियुनिटमा अधिकतम १ सय ९० मेगावाटसम्म बिजुली किनेको थियो । यस वर्ष २ सय मेगावाटसम्म ल्याउन सके लोडसेडिङ कम गर्न सघाउ पुग्ने पाण्डेयले जनाए ।

    कुशहा–कटैया १३२ केभी प्रसारण लाइनबाट गत वर्ष उच्च माग हुँदा ८० मेगावाटसम्म किनिएको थियो । उक्त लाइन सुधार गर्ने र नयाँ लाइन बनाएर थप सय मेगावाट ल्याउन सकिने प्राधिकरणको योजना छ । बिहार इलेक्ट्रिसिटी बोर्डसँग यसबारे छलफल भइरहेको प्राधिकरण अधिकारी बताउँछन् ।

    गत वर्ष १० मेगावाट बिजुली किनिएको वाल्मीकि–रामनगरबाट २५ मेगावाट थप किन्न सकिनेछ । १३२ केभी प्रसारण लाइन टनकपुरबाट गत वर्ष व्यापारिक दरमा ३० मेगावाट ल्याइएको थियो । लाइन स्तरोन्नति गरेर २५ मेगावाट थप्न सकिने प्राधिकरणले जनाएको छ ।

    सीमा क्षेत्रका दर्जनभन्दा बढी ३३ केभी प्रसारण लाइन मर्मत गर्ने र सञ्चालनमा नरहेका वा नचलेका लाइन सञ्चालन गरे २ सय मेगावाट बिजुली सजिलै थप्न सकिने प्राधिकरण अधिकारीको दाबी छ । ३३ केभीका दुहबी–कटैवा, वीरगन्ज–रक्सौल, आनन्दनगर–भैरहवा, कृष्णनगर, लोहिया–गड्डाचौकी, नेपालगन्ज, धनगढी–बलिया प्रसारण लाइनबाट गत वर्षको तुलनामा १० देखि २० मेगावाटसम्म थप किन्ने प्राधिकरणको योजना छ ।

    प्राधिकरणले सीमा क्षेत्रका रुग्न लाइन स्तरोन्नति र मर्मत गरिदिन पिटिसीलाई आग्रह गर्दै आएको छ । प्राधिकरणका अनुसार १० मेगावाट आइरहेको आनन्दनगर–भैरहवाबाट मर्मतपछि १५ मेगावाट आउनेछ । त्यस्तै, कृष्णनगरबाट १०, लोहिया–गडाचौकीबाट ५, नेपालगन्जबाट १०, धनगढी–बलियाबाट ५ मेगावाट थप बिजुली आउन सक्नेछ ।

    सीमा क्षेत्रका आधा दर्जन नाकामा भारततर्फको ३३ केभी प्रसारण लाइन सञ्चालनमा छैन । हावाहुरीले पोल ढालेका र त्यस्ता ठाउँबाट स्थानीयले तार चोरेकाले ती क्षेत्र अस्तव्यस्त छन् । यिनलाई सञ्चालनमा ल्याउन सके यो वर्षको योजना पूरा हुने पाण्डेयको तर्क छ ।

    भारतबाट बिजुली ल्याउने सम्भावित सबै प्रयास भइरहेको जानकारी दिँदै विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले आउँदो हिउँदको लोडसेडिङ १२ घन्टाभन्दा नहुने दाबी गरे । ‘दुई मेगावाट नै थप्न नसके पनि गत वर्षभन्दा ५० देखि ६० मेगावाट थप्न सकिन्छ,’ उनले भने, ‘थर्मल प्लान्ट चलाएर भए पनि लोडसेडिङ बढ्न दिइनेछैन ।’

    हिउँदसम्म प्रणालीमा करिब ८ सय मेगावाट बिजुली जोडिने प्राधिकरणले जनाएको छ । ९२ मेगावाटको कुलेखानीबाहेक सबै आयोजना नदी प्रवाही (रन अफ रिभर) मा आधारित रहेकाले हिउँदमा ३ सय मेगावाटभन्दा बढी उत्पादन हुँदैन ।

    भारतबाट २ सय ५० मेगावाट किन्ने र ३० मेगावाटसम्म थर्मल सञ्चालन गरे पनि जम्मा ६ सय मेगावाटभन्दा बढी आपूर्ति हुँदैन । लक्ष्यअनुसार बिजुली किन्न नसके भार प्रेषण केन्द्रले गरेको प्रक्षेपणकै अवस्था आउने शाक्यको भनाइ छ । केन्द्रले भने आउँदो हिउँदमा कुलेखानी जलाशय भरिए पनि दैनिक १६÷१७ घन्टासम्म विद्युत कटौती हुने अनुमान गरेको छ । कुलेखानी नभरिए लोडसेडिङ अझ भयावह हुने केन्द्रका अधिकारी बताउँछन् ।

    टनकपुरबाट ३५ मेगावाट किन्न सम्झौता

    काठमाडौं– विद्युत प्राधिकरणले टनकपुर नाकाबाट आउँदो हिउँदमा अधिकतम ३५ मेगावाटसम्म बिजुली किन्न भारतीय विद्युत व्यापार कर्पोरेसनसँग सम्झौता गरेको छ।

    ऊर्जामन्त्री तथा प्राधिकरण अध्यक्ष राधा ज्ञवालीको अनुमतिका आधारमा गत शनिबार सम्झौता गरिएको हो । सम्झौतामा माग बढी हुँदा बढी र कम हुँदा कम बिजुली किन्न पाइने प्रावधान छ ।

    प्राधिकरणअनुसार सेप्टेम्बरमा १५, अक्टोबर र नोभेम्बरमा २२ र डिसेम्बरमा ३५ मेगावाट प्रतियुनिट ६ रुपैयाँ ३२ पैसा (३ रुपैयाँ ९५ पैसा भारु) मा किन्ने सम्झौता भएको छ । यो गत वर्षभन्दा २० पैसा भारू महँगो हो । भारतमा यो वर्ष ‘सर्ट टर्म’ बजारमा बिजुलीको भाउ बढेकाले महँगो भएको विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

    नेपाल–भारत महाकाली सन्धिअनुसार उक्त नाकाबाट प्राधिकरणले वर्षको ७ करोड युनिट (करिब १० मेगावाट) बिजुली निःशुल्क ल्याउने गरेको छ । त्यसपछि बाँकी सबै व्यापारिक दरमा किन्नुपर्छ ।

    Source : Nagarik News