Pm Oli to proposed generation of 2200 MW electricity to China

    1260

    काठमाडौं: चीनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणमा नेपालको प्राथमिकता बारेमा सरकारसंग ठोस जानकारी मागेको छ । नेपालले आफ्ना प्राथमिकताहरु तय गरी चीन सरकारलाई जानकारी गराउने अन्तिम तयारी गरेको छ ।

    चैत ७ देखि शुरु हुने प्रधानमन्त्री ओलीको पांच दिने चीन भ्रमणमा टुंगिनसक्ने द्विपक्षिय मुद्दा र भ्रमणपछि जारी हुने संयुक्त वक्तव्यका बिषयमा नेपालस्थित चिनियां राजदूत उ चुन्ताईले परराष्ट्र सचिव शंकरदास बैरागीसंग आइतबार विस्तृत छलफल गरेका छन् ।

    त्यस्तै बेइजिङ्स्थित नेपाली राजदूत डा. महेश कुमार मास्केसंग अघिल्लो साता भएको भेटमा चिनियाँ बिदेश मन्त्रालयका उच्च अधिकारीले प्रधानमन्त्री ओलीको भ्रमणमा नेपालका तर्फबाट के—के बिषय प्राथमिकतामा छन् भनि जानकारी मागेका थिए ।

    बेइजिङ्स्थित नेपाली दूतावास स्रोतका अनुशार चिनियाँ बिदेश मन्त्रालयका अधिकारीहरुले नेपालकै प्राथमिकता अनुशार द्विपक्षिय मुद्दाहरु टुङयाउन तयार रहेको जवाफ नेपाली पक्षलाई दिएका छन् । नेपालले सक्दो चांडो भ्रमणमा नेपालका प्राथमिकता तय गरेर उपलब्ध गराओस् भन्ने चाहना चिनियां अधिकारीहरुले राखेका थिए  

    भेटमा चिनियां अधिकारीहरुले संयुक्त वक्तव्य जारी गर्ने या नगर्ने भनि सोधेका थिए । ‘नेपालले पहिले संयुक्त वक्तव्यको मस्यौदा तयार गरेर पठाओस् । त्यसमा हामी सुझाव सहित जारी गर्न तयार छौं भन्ने उनीहरुको भनाई थियो, स्रोतले भन्यो । परराष्ट्रले प्रधानमन्त्रीको भ्रमणमा जारी हुने संयुक्त वक्तव्यको मस्यौदा तयार गरी चिनियां पक्षलाई पठाउने अन्तिम तयारी गरेको छ  

    प्रधानमन्त्रीको भ्रमणका क्रममा टुंगिनसक्ने द्विपक्षिय मुद्दाहरुबारे परराष्ट्र, अर्थ, वाणिज्य, उद्योग, भौतिक योजना मन्त्रालयका उच्च अधिकारीहरुबीच दिनहुंजसो बैठकहरु भइरहेका छन् । सोमबार पनि वाणिज्य र परराष्ट्र मन्त्रालयमा प्रधानमन्त्रीको भ्रमणमा प्रस्तुत हुने एजेन्डाका बिषयमा छलफल भएको थियो । 

    उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले गत शनिबार परराष्ट्र मन्त्रालयमा डाकेको उच्चस्तरीय बैठकमा मन्त्रालयहरुबीच छलफल गरी एक साताबीच चीनसंग टुंगिने द्विपक्षिय बिषयहरुमा तयारी गर्ने सहमति भएको थियो ।

     प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सरकारले तीनवटा ठूला जलविद्युत् आयोजनाहरु अघि बढाउने तयारी गरेको छ । भ्रमण तयारीका सन्दर्भमा सरकारी अधिकारीहरुबीच भएको छलफल जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावाट), किमाथान्का अरुण (४ सय मेगावाट) र सुनेकासी तेस्रो (पाँच सय ८५ मेगावाट) निर्माणमा सघाउन चीनलाई प्रस्ताव गर्न लागिएको ऊर्जा सचिव सुमनप्रसाद शर्माले बताए ।

    मुलुकको दीर्घकालीन ऊर्जा संकट कम गर्न सक्ने बूढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा छ । दुई खर्ब ५० अर्ब रुपैयाँ लागतको बूढीगण्डकी यसअघि भारत सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण गर्ने चर्चा चलेको थियो ।

    चीनले नेपालसंग केही हप्ताअघि सुपुर्दगि सन्धि र पारस्परिक कानुनी सहायता सम्झौतामा हस्ताक्षरका लागि आग्रह गर्दै पत्राचार गरेको भएपनि प्रधानमन्त्रीको भ्रमणमा सो संबन्धमा सामान्य छलफल हुनसक्ने तर हस्ताक्षर हुननसक्ने जवाफ चीनलाई दिएको स्रोतले जनाएको छ । 

    त्यस्तै चीनले आफ्नो लगानीलाई सुरक्षित गर्न विगतमा निकै प्राथमिकतामा राखेको द्विपक्षिय लगानी सुरक्षण तथा प्रबर्धन सम्झौता (बिप्पा) बारे चिनियां पक्षले यतिबेला खासै चासो नदिएको अधिकारीहरुले बताए । ‘बिप्पामा हस्ताक्षर गर्ने बिषयमा अहिले खासै छलफल भएको छैन’ वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्यायले अन्नपूर्णसंग भने । 

    १. भ्रमणमा नेपालका प्राथमिकता के छन् ?

    —पेट्रोलिय पदार्थ आयातका लागि ‘बिजनेश टु बिजनेश डिल’ मा हस्ताक्षर

    —पारवहन तथा यातायात सम्झौता

    —चिनियां सहयोगमा भइरहेको उपत्यका भित्रको रिङ्रोड विस्तार कार्यलाई गति दिने

    —पोखरामा क्षेत्रीय विमानस्थल निर्माणलाई गति दिने

    —काठमाडौमा मोनो रेल निर्माणमा चिनियां सहयोग

    —उत्तरदक्षिण रेलसंजाल विस्तार

    —कोदारी राजमार्गको स्तरोन्नती

    —केरुङ्, तातोपानी र किमथांका नाकाको स्तरोन्नती र सुदृढिकरण

    —बुढीगण्डकी, किमाथांका अरुण र सुनकोसि ते श्रोमा चिनियां लगानी प्रस्ताव गरिने

    —चीनको छेङ्दु र ग्वान्जाओमा नेपाली महावाणिज्यदूतावास स्थापना

    २. भ्रमणमा चीनका प्राथमिकता के छन् ?

    —नेपालमा चिनियां बैंकको शाखा स्थापना घोषणा

    —स्वतन्त्र ब्यापार सम्झौता हस्ताक्षर

    —चीनले अघि सारेको सिल्क रोड इकानोमिक बेल्ट परियोजनामा नेपालको सक्रिय सहभागिताबारे प्रतिबद्दता

    —ट्रेडमार्क रजिष्ट्रेशन एन्ड प्रोटेक्सन एग्रिमेन्टमा हस्ताक्षर

    —सन् २०२० सम्म सीमासम्म आइपुग्ने चिनियां रेल काठमाडौसम्म जोड्न आग्रह

    —केरुङ् र तातोपानीमा भौतिक पूर्वाधार विस्तारका लागि आन्तरिक तयारी गर्न नेपाललाई आग्रह गर्ने

    —भूकम्प पछिको पुर्ननिर्माणका लागि चीनले दिएको ७६ अर्ब अनुदान सहायताको परिचालन

    —नेपाल र चीनबीच फ्रि ट्रेड डाइलग गर्ने

    चैत ७ गते बेइजिङ् पुगी प्रधानमन्त्री ओलीले द्विपक्षिय भेटवार्ता र बैठक गर्नेछन् । चिनियां प्रधानमन्त्री लि खछ्याङ्को निमन्त्रणामा चीन जान लागेका प्रधानमन्त्री ओलीले ८ गते बेइजिङ्मा राष्ट्रपति सि जिनपिङ्, प्रधानमन्त्री खछ्याङ् र उपराष्ट्रपति लि युआन चाओसंग भेट्नेछन् ।

    प्रधानमन्त्री ओलीसंग चिनियां बिदेशमन्त्री वाङ् यिले भेट्ने तय भएको छ । ओली चैत ९ गतेदेखि चीनको हाइनान प्रान्तमा हुने ‘बोआओ फोरम फर एसिया, सम्मेलनमा सहभागि हुनेछन् । प्रधानमन्त्री चीनको स्वाशषित क्षेत्र तिब्बतको ल्हासा हुंदै स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोलीबारे परराष्ट्र र प्रधानमन्त्री कार्यालयले तयारी गरिरहेका छन् ।

    स्रोत: अन्नपूर्ण पोष्ट