पञ्चेश्वरको विस्तृत वातावरणीय योजना अन्तिम चरणमा : आयोजनाले सामाजिक र वातावरणीय क्षेत्रमा व्यापक प्रभाव पार्ने

    427

    महाकाली नदीमा प्रस्तावित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वातावरणविद्को टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयसँग छलफल गरेपछि विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

    परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनल प्रालिले वातावरणविद्, कृषिविज्ञ र समाजिक विज्ञहरूसँग छलफल गरेको छ । विज्ञहरूले गरेको अध्ययनपछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो । अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनलाई आधार मानेर उच्च बाँध निर्माणस्थलको अध्ययन गरी प्रतिवेदनलाई अन्तिम रूप दिन लागेको छ ।

    स्थानीयको सुझाब संकलन

    नेपाली परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलले गत भदौमा आयोजनाको प्रभावित क्षेत्र बैतडी र दार्चुलाका स्थानीय तहमा गएर नागरिकसँग छलफल गरी सुझाब संकलन गरेको थियो । स्थानीयको सुझाबपछि प्रारम्भिक योजना बनाएको विज्ञहरूको टोलीले अहिले बैतडी र दार्चुलामा जिल्लास्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर सरोकारवालाको सुझाब संकलन गरेको हो ।

    आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजनालाई अब अन्तिम रूप दिने परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलका वातावरणविज्ञ अजयभक्त माथेमाले बताए । ‘विज्ञहरूले गरेको लामो अध्ययनपछि योजनालाई अन्तिम रूप दिने तयारी गरेका छौँ,’ उनले भने ।

    २२ हजार नागरिक विस्थापित हुने

    प्रारम्भिक प्रतिवेदनले बैतडीको पञ्चेश्वरमा बन्ने विश्वकै दोस्रो उच्च बाँधस्थल क्षेत्रमा ठूलो र व्यापक वातावरणीय तथा सामाजिक असर पर्न सक्ने उल्लेख गरेको छ । विशाल तथा जटिल निर्माणको चरण र आयोजना सञ्चालनको चरणमा बस्ती विस्थापन, करिब नौ सय ९४ हेक्टर खेतीयोग्य जमिन डुबान, भौतिक संरचना निर्माणका क्रममा वनजंगल नष्ट भई भूक्षय, वन्यजन्तु र जडीबुटीको विनाश हुने तथा निर्माणस्थलमा विभिन्न महामारी हुन सक्ने खतरा औँल्याइएको छ ।

    जलाशय क्षेत्रबाट दुई हजार नौ सय २६ घरधुरीका २२ हजार सात सय ६५ नागरिकलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने परामर्शदाता कम्पनीका सामाजिक विज्ञ शिव ढकालले बताए । साथै, त्यो क्षेत्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहर नष्ट हुने भन्दै ढकालले आयोजना निर्माण र सञ्चालनका क्रममा सामाजिक र वातावरणीय क्षेत्रमा ठूलो हलचल पैदा हुने पनि बताए ।

    यस्ता छन् व्यवस्थापनका मुख्य योजना

    विस्तृत वातावरणीय व्यवस्थापन योजनामा असरहरू औँल्याएर समाधानका लागि १० वटा उप–योजना बनाइएको छ । उप–योजनामा निर्माण प्रभाव व्यवस्थापन योजना, जल ग्रहण क्षेत्र व्यवस्थापन योजना, प्रदूषण, वन संरक्षण तथा व्यवस्थापन, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन, माछापालन, जडीबुटी र कृषि, पञ्चेश्वर सहयोग योजना र पर्यटन विकास योजना रहेका छन् ।

    यी योजनामा प्रभावित क्षेत्रमा देखिने सबै किसिमका असर तथा प्रभावबाट उत्पन्न समस्या समाधानका लागि गरिने कार्य तथा गतिविधि सूचीकृत गरिएका छन् । संरचना निर्माणका क्रममा हुने वातावरणीय क्षतिलाई व्यवस्थापन गर्दै आयोजनालाई दिगो बनाउन यी योजना लागू हुने वातावरणविद् माथेमाले बताए । विस्तृत योजनालाई पञ्चेश्वर विकास प्राधिकरण र त्यसअन्तर्गतका इकाइ, परामर्शदाता, निर्माण ठेकेदार, विशेषज्ञ टोलीले कार्यान्वयन गर्नेछन् ।

    उच्च बाँधको निर्माणले हुने फाइदा

    पञ्चेश्वर उच्च बाँधको निर्माणबाट आयोजना क्षेत्रका नागरिकलाई विभिन्न फाइदा पनि हुने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘बाँध निर्माणका क्रममा हजारौँ नागरिकले रोजगारी पाउनेछन्,’ वातावरण विज्ञ अजयभक्त माथेमाले भने, ‘बाँध निर्माणका लागि आठ हजारभन्दा बढी कामदार, कर्मचारी आवश्यक पर्छन्, धेरैले रोजगारी पाउँछन् ।’ आयोजना निर्माण क्षेत्रमा होटेल व्यवसाय पनि फस्टाउनेछ भने आयोजना क्षेत्रमा बसोवास गर्ने नागरिकलाई लामो समय रोजगारी मिल्ने विज्ञहरूले बताएका छन् ।

    जलाशय क्षेत्रमा मत्स्य उत्पादनमा वृद्धि हुने, पर्यटनको विकासमा टेवा पुग्ने, रोजगारी वृद्धि भई नागरिकलाई जीविकोपार्जन गर्न सहज हुने तथा गरिबी निवारणमा टेवा पुग्ने विज्ञहरूको भनाइ छ । ‘जलाशयबाट माछापालनको ठूलो सम्भावना छ,’ कृषिविज्ञ गोपीकृष्ण सेढार्इंले भने, ‘पर्यटनको विकासले पनि फड्को मार्ने देखिन्छ ।’

    मिलनप्रकाश ढुंगाल

    स्रोत:नयाँपत्रीका