Over 400 transformers explode

    1137

    Transformers explode, 33 crore loss , Who will be responsible ?

    फ्युज नजली सीधै पड्किए, ३३ करोडको क्षति, जिम्मा कसले लिने ? 

    उपभोक्तालाई बिजुली छैन, प्राधिकरणलाई आर्थिक क्षति

    • काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा रहेका १८ वटा वितरण केन्द्रअन्तर्गत चार सय १४ ट्रान्सफर्मर जलिसकेका छन् । जलेको एउटा ट्रान्सफर्मरको पूर्ण मर्मत गर्न पाँच दिनसम्म लाग्ने गरेको छ । मर्मत गर्दा ट्रान्सफर्मरको लोड केही बढाइदिएर क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा तारमा आगलागी हुने घटना पनि बढ्न थालेका छन् ।
    • अहिले दिनमा ११ घन्टा लोडसेडिङ छ । तर, त्यसपछि पनि बिजुली आउादैन । किनकि धमाधम ट्रान्सफर्मर पड्किएका छन् । यसरी उपभोक्ताले बिजुली बाल्न पाएका छैनन् भने प्राधिकरणलाई ठूलो आर्थिक क्षति पुगेको छ । सुरक्षा प्रणालीमा प्राविधिक त्रुटि भएकाले ट्रान्सफर्मर जलेको प्राधिकरणका अधिकारी बताउँछन् ।
    • फ्युज र एमसिबीभन्दा पहिल्यै किन पड्किए ट्रान्सफर्मर ?
    • भारतीय नाकाबन्दीले इन्धन आपूर्तिमा समस्या भएपछि खाना पकाउन इन्डक्सन चुलो, हिटरलगायतका विद्युतीय उपकरणको प्रयोगले विद्युत्को माग बढिरहेको छ । स्वीकृत क्षमताभन्दा बढी विद्युत् प्रभावित भई क्षति पुग्न नदिन सुरक्षाका लागि ट्रान्सफर्मरमा फ्युज र एमसिबी राखिएको हुन्छ । लोड बढी भएमा फ्युज र एमसिबी जल्नुपर्नेमा ट्रान्सफर्मर नै पड्किएका छन् ।
    • खासमा फ्युज जलेमा मर्मत गर्न पटकपटक जानुपर्ने झन्झटबाट मुक्ति पाउन बढी क्षमताको तार राख्ने गरिएको छ । त्यसैले विनारोकटोक आएको लोडले ट्रान्सफर्मर पड्किने गरेको प्राधिकरणकै विज्ञहरूले बताएका छन् । प्राधिकरणका एक इलेक्ट्रिकल इन्जिनियरले फ्युजको गुणस्तर र रेटिङको प्राविधिक पक्षमा ध्यान नदिएकाले ट्रान्सफर्मर पड्किरहेको जानकारी दिए । ‘बढी करेन्ट प्रवाह हुनेबित्तिकै फ्युज र एमसिबी जल्नुपर्नेमा ट्रान्सफर्मर पड्किरहेका छन्,’ उनले भने, ‘ट्रान्सफर्मरको सुरक्षाका लागि फ्युज र एमसिबी राखिएकोमा तिनीहरूको सुरक्षाका लागि ट्रान्सफर्मर राखिएजस्तो भइरहेको छ ।’
    • पूर्वसञ्चालक भन्छन्–प्राधिकरणकै प्राविधिक त्रुटि हो
    • प्राधिकरणले बत्ती बाल्नका लागि मात्रै वितरण लाइन र ट्रान्सफर्मर प्रयोगमा ल्याइएको जनाएको छ । नाकाबन्दीसँगै खाना पकाउन पनि विद्युतीय उपकरणको प्रयोग बढ्दा लोडले धान्न नसकी ट्रान्सफर्मर पड्किएको प्राधिकरणले बताउँदै आएको छ । तर, ट्रान्सफर्मरको सुरक्षाका लागि राखिएका कुनै पनि उपकरणमा क्षति नपुग्नु, तर ट्रान्सफर्मर जल्नु प्राविधिक त्रुटि भएको प्राधिकरणका पूर्वसञ्चालक कृष्णप्रसाद दुलालले बताए ।
    • ‘हाम्रो घरमा पनि स्वीकृत लोडभन्दा बढी बिजुली खपत गर्ने उपकरण प्रयोग गरिएमा पहिले फ्युज जान्छ, त्यस्तै प्रणाली ट्रान्सफर्मरमा पनि जडान गरिएको हुन्छ,’ उनले भने, ‘फ्युज जलेमा बनाउन जान झन्झट मानेर ट्रान्सफर्मरको भन्दा बढी क्षमताका फ्युज राखिएकाले ट्रान्सफर्मर पड्किएको हुन सक्छ ।’
    • गुणस्तरहीन ट्रान्सफर्मरको प्रयोग अर्को समस्या
    • पूर्वसञ्चालक कृष्णप्रसाद दुलाल नेतृत्वको उपसमितिले गरेको छानबिनबाट प्राधिकरणमा गुणस्तरहीन ट्रान्सफर्मर प्रयोग भएको पत्ता लागेको थियो । पछि अख्तियारले गुणस्तरहीन ट्रान्सफर्मर खरिदमा संलग्न भन्दै प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादव, पूर्वकार्यकारी निर्देशक जीवेन्द्र झालगायतका कर्मचारीलाई करोडौँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
    • प्राधिकरण प्रमुख संवेदनहीन देखिए : कर्मचारी
    • ४१४ ट्रान्सफर्मर जले पनि प्राधिकरणको कार्यकारी निर्देशक मुकेशराज काफ्ले, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेय, क्षेत्रीय कार्यालयका प्रमुखलगायत समस्या समाधानका लागि गम्भीर नभएको कर्मचारीहरूको भनाइ छ । प्राधिकरणको एक वितरण शाखाका प्रमुखले प्राधिकरणको नेतृत्व जवाफदेही नहुँदा अहिलेको समस्या आएको आरोप लगाए । ‘प्राविधिक पक्षलाई ध्यान नै नदिई तल्लो तहका गैरप्राविधिक कर्मचारीबाट फ्युज जडान गरिन्छ,’ उनले भने, ‘विगतमा
      प्राधिकरणमा अनियमितता हुनेबित्तिकै छानबिन कमिटी बनाएर दोषीलाई कारबाही हुन्थ्यो, अहिलेको व्यवस्थापन संवेदनहीन भएर बसेको छ ।’
    • अख्तियारले टोली नै बनाएर थाल्यो छानबिन
    • ट्रान्सफर्मर पड्किन थालेपछि अख्तियारले पनि टोली नै गठन गरी छानबिन थालेको छ । अख्तियारले ट्रान्सफर्मरको सम्पूर्ण विवरण उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिइसकेको छ । ‘गुणस्तहीन ट्रान्सफर्मर प्रयोगमा ल्याइएको छ, नियमित मर्मतसम्भार गरिँदैन,’ दुलालले भने, ‘यसमा प्राधिकरणको गम्भीर लापरबाही देखिन्छ ।’
    • ट्रान्सफर्मर पड्किए पाँच दिन बिजुली गायब
      ट्रान्सफर्मर पड्किएपछि सम्बन्धित क्षेत्रमा करिब पााच दिन बिजुली आउादैन । काठमाडौंका लागि लैनचौरमा र हेटौँडामा केन्द्रीय वर्कसप छन् । तर, त्यहाा जनशक्तिको अभाव छ । त्यसमाथि एकैपटक धेरै ट्रान्सफर्मर पड्किएकाले पालैपालो बनाउन धेरै समय लाग्ने गरेको छ । लैनचौरको वर्कसपको अनुगमन गर्दै ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ट्रान्सफर्मर पड्किनुको कारण सोध्दै कमीकमजोरी सच्याउन निर्देशन दिएका थिए । तर, न ट्रान्सफर्मर पड्किने क्रम रोकिएको छ, न मर्मत छिटो हुन सकेको छ ।

    सचेन गौतमको रिपोर्ट

    Source : enayapatrika