जलाशययुक्त आयोजना नहुँदा सधैँ हिउँदमा विद्युत् संकट

Kulekhani Reservoir

१५ माघ, २०७५

-१९ मंसिर ०३९ मा कुलेखानी आयोजना निर्माण भएपछिको ३६ वर्षमा एउटा पनि जलाशययुक्त आयोजना बनेका छैनन्, लोडसेडिङ अन्त्य गर्न भारतकै भर पर्नुपरेको छ

– कुल क्षमताको ९ प्रतिशत मात्र जलाशययुक्त आयोजना, ५२० मेगावाट जडित क्षमता भएका निजी क्षेत्रका एउटै छैनन् 

नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा कुल जडित क्षमता १ हजार ८० मेगावाट छ । त्यसमध्ये ९२ मेगावाट मात्रै जलाशययुक्त आयोजना छन् । यो कुल जडित क्षमताको ८ दशमलव ९५ प्रतिशत मात्रै हो ।

सामान्यतया नेपालमा नदीका स्रोत र बहावको प्रकृतिअनुसार हिउँदका ६ महिना विद्युत्को माग बढ्छ, तर सोही समयमा नदी बहावमा आधारित (आरओआर) आयोजनाको उत्पादन भने घट्छ । अहिले प्राधिकरणको कुलेखानी–१ र २ गरी ९२ मेगावाट मात्रै जलाशयमा आधारित आयोजना छन्, कुलेखानी १ बाट निस्किएकै पानीबाट २ चलिरहेको छ । त्यस्तै १४ मेगावाटको कुलेखानी निर्माणका क्रममा रहेकाले तीनवटै आयोजना एउटै जलाशय (इन्द्रसरोवर)को पानीले चल्नेछन् । १९ मंसिर ०३९ मा कुलेखानी विद्युत् आयोजना निर्माण भएपछिको ३६ वर्षमा एउटा पनि जलाशयुक्त आयोजना बनेका छैनन् ।

निजी क्षेत्रले भने हालसम्म जलाशययुक्त आयोजना निर्माण गर्न सकेका छैनन् । सामान्यतया माग र आपूर्तिको व्यवस्थापन मिलाउन कम्तीमा पनि ३३ प्रतिशत आयोजना जलाशयमा आधारित हुनुपर्ने ऊर्जाविज्ञहरू बताउँछन् । सरकारले पछिल्लो अहिले ल्याएको १५ हजार विद्युत् उत्पादनको नीतिमा पनि जलाशय, पिआरओआर र आरओआर सोही अनुपात नै छ ।
जलाशययुक्त आयोजनाको अभावमा हिउँदमा सधैँ विद्युत्को संकट हुने गरेको छ । विगतमा हिउँदमा लामो समय लोडसेडिङ हुने गरे पनि हाल भारतबाट आयात गरेर विद्युत् अभाव हुन दिइएको छैन । तर, आन्तरिक भागको दुईतिहाइसम्म आयातीत विद्युत्को भर पर्नुपरेको छ ।

ऊर्जा आपूर्तिमा अर्धजलाशययुक्त आयोजनाको टेको 
नेपाल विद्युत् प्राधिकरणका ४ र प्राधिकरणकै सहायक कम्पनी चिलिमे हाइड्रो पावरले प्रवद्र्धन गरेको एक गरी ५ वटा आयोजना दैनिक जलसञ्चय गरी उच्च मागका वेला चलाउन सकिने (पिआरओआर) आयोजनाका रूपमा सञ्चालनमा छन् । यी आयोजनाहरूले ३३ देखि ४० प्रतिशतसम्म औसत उत्पादन दिइरहेका छन् । १ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’लाई नै उदाहरण मान्ने हो भने यो आयोजना पूर्ण क्षमतामा चल्न नदीमा पानीको बहाव १ सय ४१ क्युमेक हुनुपर्छ ।

तर, हाल सो नदीमा पानीको बहाव ८० क्युमेक मात्रै रहेको नेपाल विद्युत् प्राधिकरण ठूला आयोजना सञ्चालन तथा व्यवस्थापन विभागका निर्देशक मदन तिमल्सिनाले बताए । पानीको बहाव घट्दा १३ माघको औसत उत्पादन ६५ मेगावाट छ । उनका अनुसार पिआरओआर आयोजनाको उत्पादनसमेत ३३ प्रतिशतसम्ममा खुम्चिन सक्छ । योबाहेक मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, चमेलिया, चिलिमेलगायतको उत्पादन पनि करिब यही अनुपातमा भइरहेको छ । तर, नदी प्रवाही (आरओआर) आयोजनाको उत्पदन धेरै नै घटेको छ ।

अन्तिम चरणमा १४ मेगावाटको जलाशय, ४ सय ५६ को पिआरओआर 
कुलेखानीकै जलाशयबाट पहिलो र दोस्रो आयोजनाले प्रयोग गरेर जाने पानीबाट कुलेखानी तेस्रो आयोजना निर्माण भइरहेको छ । यो आयोजना निर्माणको अन्तिम चरणमा रहेकाले १४ मेगावाटको जलाशययुक्त आयोजना थप हुने भएको हो । त्यस्तै, ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पनि पिआरओआर आयोजनकै रूपमा निर्माण गरिएको छ । यो आयोजना पनि अन्तिम चरणमै रहेकाले आउँदो कात्तिकबाट सञ्चालनमा आउने भएको छ ।

 निजी क्षेत्रले किन बनाएनन् जलाशययुक्त आयोजना ? 
राष्ट्रिय प्रसारणमा प्रणालीमा ५ सय २० मेगावाट जडित क्षमता निजी आयोजनाको छ । तर, यसमा जलाशययुक्त आयोजनाहरू छैनन् । पिआरओआर आयोजनासमेत निजीले बनाएका छैनन् । निर्माण लागत र प्राधिकरणले दिने कम दरकै कारण निजी प्रवद्र्धकले जलाशययुक्त आयोजना निर्माण गर्न नसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंको भनाइ छ । ‘आरओआर बनाउन लाग्ने लागतको साढे २ गुणासम्म बढी लागत जलाशययुक्त आयोजनामा लाग्छ,’ उनले भने, ‘तर, प्राधिकरणले दिने प्रतियुनिट १२ रुपैयाँ जलाशयका लागि उपयुक्त दर होइन ।’ जलाशययुक्त आयोजनाको डुबान क्षेत्र बढी हुने र डुबान क्षेत्रमा पर्ने जग्गा अघिग्रहण गर्न समस्या हुने उनको भनाइ छ ।  प्राधिकरणले पिआरओआर आयोजनाका लागि भने १ देखि ६ घन्टासम्म पिक लोडमा चल्न सक्ने क्षमताका आधारमा प्रतियुनिट ११ रुपैयाँसम्म विद्युत्को खरिद दर दिने व्यवस्था गरेको छ ।

कुलेखानीको जलसञ्चय ३ वर्षकै उच्च 
कुलेखानीको जलाशयमा यो वर्ष अघिल्ला दुई वर्षको भन्दा बढी पानी सञ्चय गरिएएको छ । यस वर्ष जलाशयमा समुद्र सतहबाट १ हजार ५ सय २६ दशमलव ६२ मिटरसम्म जलसतहको स्तर पुगेको छ । अघिल्लो वर्ष यही समयमा १ हजार ५ सय २४ दशमलव ३९ मिटर रहेको थियो ।

जबकि, कुलेखानीको जलसञ्चय क्षमता १ हजार ५ सय ३० मिटरसम्म रहेको प्राधिकरणले जनाएको छ । कुलेखानीलाई प्राधिकरणले ‘ब्याकअप इनर्जी’का रूपमा राखेको छ । त्यसो हुँदा नदी प्रवाही आयोजनाको उत्पादन न्यून बिन्दुमा हुने हिउँदमा आवश्यकताअनुसार जलाशय सञ्चालन गरिन्छ । गत माघ १३ गते दिउँसो तथा साँझको समयमा १५ मेगावाटदेखि पूर्ण क्षमता ६० मेगावाटसम्ममा आयोजनालाई ३ घन्टा सञ्चालन गरिएको छ ।

 

पुष्प कोइराला

स्रोत:नयाँपत्रीका

 

Leave a comment