लिबर्टी इनर्जीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

    1230

    लिबर्टी इनर्जी कम्पनी, काठमाडौँद्वारा प्रवद्र्धित लमजुङ जिल्लास्थित २५ मेवा क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको प्रभावित स्थानीय तथा सर्वसाधारण समेतका लागि साधारण सेयर जारी गर्न प्रवद्र्धक कम्पनी लिबर्टी इनर्जी कम्पनी र बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटलबीच साधारण सेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    उक्त सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबीन्द्रध्वज जोशीले हस्ताक्षर गरे । कम्पनीको हाल अधिकृत पुँजी १ अर्व ५० करोड रहेकोमा उक्त पुँजीको १० प्रतिशतका दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता सेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरूलाई र थप १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणहरूमा जारी गर्ने योजना छ ।

    यसरी सेयर जारी गरी बाँडफाँट गरेपश्चात् कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनेछ । कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाउँपालिका (साविक फलेनी र ढोडेनी गाविस) मा अवस्थित छ ।

    उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सोको फिनिसिङ कार्य भइरहेको, पेनस्टक पाइप राख्ने काम अन्तिम चरणमा पुगिसकेको, हेडवक्र्स तथा डिसेन्डर र पावर हाउस तथा टेलरेसको कार्यसमेत अन्तिम चरणमा पुगेको र पावरहाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरू साइटसम्म ढुवानी भइरहेको तथा जडानका लागि समेत तयारी भइरहेको छ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भइसकेको छ साथै आगामी चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको पनि जनाएको छ ।

     

    स्रोत:कारोबार