नेसम खोला ईपीसी मोडेलमा बन्ने

1685

बुधवार, माघ २३, २०७५

दोलखा-अपर नेसम खोला जलविद्युत् आयोजना इन्जिनियरिङ खरिद र निर्माण (ईपीसी) मोडेलमा बन्ने भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ मा बन्ने ४३ मेगावाट क्षमताको अपर नेसम ईपीसी मोडेलमा निर्माण प्रक्रियाअघि बढेको हो ।

सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने आयोजनाको ईपीसी मोडेलमा निर्माण गर्ने कम्पनीका प्रबन्ध सञ्चालक बद्रीबहादुर कार्कीले जानकारी दिए । “आयोजनाको ईपीसी मोडेलमा निर्माणका लागि टेन्डर आह्वान गरिसकेका छौं,” उनले भने, “७ वटा कम्पनीले प्रस्ताव पेस गरेका छौं, खोलेर मूल्यांकन गर्न बाँकी छ ।” प्रस्ताव पत्र पेश गर्ने कम्पनीको प्राविधिक तथा आर्थिक प्रस्ताव उपयुक्त कम्पनीसँग सम्झौता गरी आयोजना अघि बढाउने उनले जानकारी दिए ।

चिनियाँ र भारतीय कम्पनीद्वारा प्रस्ताव पेस
ईपीसी मोडेलमा आयोजना बनाउनका लागि चिनियाँ र भारतीय कम्पनीले प्रस्ताव पेस गरेका छन् । यस आयोजनामा कम्पनीलाई कार्यतालिका अनुसार सम्झौता गरेर जिम्मा दिने र त्यसको प्रवद्र्धकले सुपरीवेक्षण गर्ने योजना छ । तर सामाजिक तथा वातावरणीय कामको जिम्मा भने प्रवद्र्धक आफैंले गर्ने उनले बताए ।

अनुमानित लागत ७ अर्ब रुपैयाँ
आयोजनाको अनुमानित लागत ७ अर्ब रुपैयाँ छ । यस कम्पनीको अधिकृत पुँजी र जारी पुँजी २ अर्ब ५० करोड छ । संस्थापक सेयरधनीको लगानी ७५ प्रतिशत, आयोजना प्रभावित स्थानीयवासीको १० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि १५ प्रतिशत सेयरको व्यवस्था गरेको छ ।

आयोजना सकेसम्म तोकिएकै समयमा पूरा गर्ने लक्ष्य रहेको उनले बताए । थोरै सुरुङसहितको संरचना, उच्च हेडका कारण राम्रो आयोजना भएकाले उत्पादन भएको पहिलो वर्षमै लगानीकर्तालाई २० प्रतिशत बोनस दिनसक्ने अवस्थामा रहेको उनले दाबी गरे ।

आयोजनामा प्रभु बैंकको नेतृत्वमा अन्य बैंकको सहभागितामा ५ अर्ब २५ करोडको ऋण सम्झौता भएको प्रबन्ध सञ्चालक कार्कीले जानकारी दिए । आयोजना सुरु भएको ३ वर्षमा पूरा गर्ने तयारी छ । ‘रन अफ रिभर’ प्रकृतिको यो आयोजना अरनिको राजमार्गको बलेफीदेखि करिब ५० किमि उत्तरमा पर्दछ ।

१३ सय मिटर सुरुङमार्ग
नेसम खोला र लामपोखरी खोलाको पानीलाई १ हजार ३ सय मिटर लामो सुरुङ तथा २ हजार ८ सय ४ मिटर लामो हेडरेस तथा पेनस्टक पाइपद्वारा विद्युत्गृहमा पानी खसालिने योजना रहेको आयोजना प्रमुख देवेन्द्र केसीले जानकारी दिए । आयोजना हिमाली क्षेत्रमा भएको र पानीको स्रोत विभिन्न हिमश्रृङ्खला भएकोले वार्षिक बहावमा खासै उतारचढाव नहुनु यो आयोजनाको राम्रो विशेषता भएको उनले बताए । आयोजनाका खोलाहरू हिमाली क्षेत्र हुँदै बहने भएकोले सेडिमेन्टको मात्रा कम हुने अध्ययनबाट देखिएको छ ।

यो आयोजनाको पानीको बहाव ५ हजार ८७० लिटर प्रतिसेकेण्ड छ भने ग्रस हेड ८ सय ६० दशमलव ३० मिटर छ । आयोजनाको स्रोत क्षेत्र अर्थात् क्याचमेन्ट क्षेत्रले ६२ वर्गकिमि क्षेत्रफल ओगटेको छ ।

४३ मेगावाट विद्युत् उत्पादन हुने
आयोजनाको विद्युत्गृहमा ३ वटा पेलटन टर्बाइन जडान गरी ४३ मेगावाट विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको जुगल गाउँपालिका पाङताङ सबस्टेसन बलेफी करिडोरमा जडान गरिने छ । यसका लागि आयोजनाले १३२ केभीएको १३ किमि लामो प्रसारणलाइन निर्माण गर्नुपर्नेछ ।

आयोजनाको ४ वर्ष अघि नै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पनि नेपाल सरकारले स्वीकृत गरिसकेको छ । आयोजना निर्माणका लागि अहिले आयोजनास्थलसम्म पुग्ने प्रवेशमार्ग निर्माण र क्याप निर्माण कार्य जारी रहेको उनले बताए ।

कम्पनीले २१ मेगावाटको अर्को आयोजना माथिल्लो नेसम खोला ए जलविद्युत् आयोजना निर्माणको लागि समेत सर्वेक्षण अुनमतिपत्र प्राप्त गरिसकेको छ । यो आयोजनाको पनि विद्युत् खरिद सम्झौता भइसकेको छ । यस आयोजनाको अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ । तर उक्त आयोजनाको लागि वित्तीय व्यवस्थापनको काम बाँकी छ ।

दुवै आयोजना समानान्तर रूपमा अघि बढाउने आयोजना प्रमुख केसीले जानकारी दिए । माथिल्लो नेसम खोला एको क्यासकेट आयोजनाबाट ४३ मेगावाटको माथिल्लो नेसम आयोजना निर्माण हुने उनले बताए । कम्पनीमा वर्तमान र पूर्व प्रशासकको संस्थापक सेयर बढी छ । संस्थापक सेयरमा स्थानीयवासीलाई समेत अवसर दिएको कम्पनीले जनाएको छ ।

 

स्रोत:कारोबार