सबस्टेशनमा समस्या देखिएपछि कुलमान राति नै फिल्डमा

    1311

    १८ भदौ, काठमाडौं । बालाजु सबस्टेसनमा रहेको ट्रान्सर्फमरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत आपूर्ति अनियमित बनेको छ । स्थानीय क्षत्रेबाट गुनासो आएपछि सबस्टेसनमा भएको समस्या बुझ्न आइतबार राति प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फिल्डमा पुगे ।

    सबस्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सर्फमरमध्ये एउटामा शनिबार राति करिब ७ बजेबाट प्राविधिक समस्या आएको थियो ।

    यसबाट बालाजू क्षेत्रमा विद्युत आपूर्ति अनियमित भएको छ । धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज-१, महाराजगञ्ज-२, टेकु-१, बीआई डी-१, बिआई डि-२, नयाँ बजार फिडरहरुबाट विद्युत आपूर्ति भएका क्षेत्र प्रभावित भएका छन् ।

    घिसिङले बालाजु पुगेर काम छिटो गर्न प्राविधिकलाई प्रोत्साहन गरे । रातिसम्म नै सबस्टेशनमा बसेर उनले मर्मतको कामको निरीक्षण गरे । प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी सहित घिसिङ त्यहाँ पुगेका थिए ।

    उनले समस्या बुझे, समाधानका उपायबारे छलफल गरे ।  मर्मत सम्भार तत्काल सक्न  प्राधिरकरणले गर्नु पर्ने काम तत्काल गर्ने प्रतिबद्धता जनाए ।

    प्राधिकरणका बालाजू वितरण केन्द्र प्रमुख सुरज रेग्मीले त्यस क्षेत्रमा वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति भइरहेको बताए ।

    उनले ट्रान्सर्फमरमा समस्या आउनसाथ प्राविधिक टोली तत्काल खटिई मर्मत गरिरहेको जानकारी दिए । यथासक्य चाँडो मर्मत गरी विद्युत सेवा सुचारु गर्ने प्रति नेपाल विद्युत प्राधिकरण प्रतिबद्ध रहेको र सोहीअनुसार काम भइरहेको रेग्मीले बताए ।

     

     

    स्रोत:अन्लाईन खबर