जलविद्युत् कम्पनीको नियमन विद्युत् नियमन आयोगबाट

1005

शुक्रवार, जेठ १०, २०७६

जलविद्युत् क्षेत्रमा कम्पनीहरूको नियमन नभएको गुनासो भएकाले नेपाल धितोपत्र बोर्डले बुधबार निर्देशन दिँदै प्राथमिक सेयर निष्कासन गर्नु पूर्व विद्युत् नियमन आयोगको स्वीकृति लिनुपर्ने बताएको छ ।

हाल सेयर निष्कासनको तयारीमा रहेका कम्पनीले समेत उक्त प्रावधान अनुरूप स्वीकृति लिनुपर्ने भएको छ । यसअघि नियामक निकायको अभावमा जलविद्युत् क्षेत्रको कम्पनीका सेयरमा चलखेल हुने गरेको आरोप लग्दै आएको थियो । बोर्डको निर्देशनअनुसार प्राथमिक सेयर निष्कासन गर्ने कम्पनीले विद्युत् नियमन आयोग ऐन, २०७४ र सोसम्बन्धी विद्युत् नियमन आयोग नियमावली, २०७५ को नियम ४५ अनुसार विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम गर्न उक्त नियमअनुसार आयोगबाट पूर्वस्वीकृति लिनुपर्ने छ ।

हालसम्म विद्युत् क्षेत्रमा प्रत्यक्ष नियमन निकायको अभाव भइरहेकोमा नेपाल सरकारले विद्युत् नियमन आयोग ऐन, २०७४ र सोसम्बन्धी विद्युत् नियमन आयोग नियमावली, २०७५ कार्यान्वयनमा ल्याइसकेपछि आयोगले नियमन गर्ने भएको हो ।

विद्युत् नियमन आयोग नियमावली, २०७५ को नियम ४५ अनुसार विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम गर्न अनुमति प्राप्त कम्पनी वा संस्थाले सार्वजनिक रूपमा सेयर निष्काशन गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था भएको बोर्डले जनाएको हो । विद्युत् नियमन आयोग गठन भई कार्य सञ्चालन सुरु गरेकाले विद्युत् नियमन आयोग ऐन, २०७४ र विद्युत् नियमन आयोग नियमावली, २०७५ बमोजिम गर्न गराउन भनी उक्त आयोगको पत्र बोर्डमा प्राप्त भएको चन्दै बोर्डले जलविद्युत् कम्पनीको सार्वजनिक निष्काशनका लागि बोर्डमा निवेदन पेश गर्दा तथा निवेदन दिई स्वीकृत हुन बाँकी रहेका कम्पनीको हकमा समेत विद्युत् नियमन आयोगको पूर्व स्वीकृति पेश गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

 

स्रोत: कारोबार