तादीमा ५ मेगावाटको बुद्धभूमि हाइड्रोपावर बन्ने

    3138

    नुवाकोट, आश्विन ५ –
    तादी खोलामा साना जलविद्युत्गृह निर्माण हुने क्रम बढेको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने तादी खोलामा ५ मेगावाट क्षमताको आदिशक्ति हाइड्रोपावर निर्माण अन्तिम चरणमा पुगेको छ । त्यसैगरी आदिशक्तिसँगै स्थानीय व्यक्तिहरू प्रवर्द्धक रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको ५ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण हुने अवस्थामा छ । त्यस्तै तादीमै अर्को ५ मेगावाटको तत्कालीन ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले शिलान्यास गरेको ‘तादी खोला हाइड्रोपावर’ निर्माणाधीन अवस्थामा छ । आर्थिक वर्ष ६९/७० बाट सुरु हुने तल्लो तादी खोला जलविद्युत् आयोजनाको लागत ८७ करोड रुपैयाँ छ ।

    Tadi Khola Hydropower Project
    Tadi Khola Hydropower Project

    तादी खोलाको बायाँतर्फ सबै संरचना निर्माण हुने तल्लो तादी जलविद्युत् आयोजनाको समुद्रटार नजिक बाँध रहने र त्यहाँबाट डिसिल्टिङ बेसिनमार्फत ३ किलोमिटर लामो रेडरेस पाइप जडान गरी थप्रेक ४ आरुखर्कको नौटारीमा विद्युत् उत्पादन गरिने आयोजना सञ्चालक बाबुराम खतिवडाले बताए ।

    यसै आर्थिक वर्षबाट सुरु हुने हाइड्रोपावर आगामी तीन वर्षभित्र सकिने छ । स्थानीय सामाजिक संघसंस्था र व्यक्तिहरूलाई सेयरमा आबद्ध गरी निर्माण हुने हाइड्रोपावरमा स्थानीय जनताको श्रमशक्ति पनि परिचालन गरिने छ ।

    नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीसँग आबद्ध गरिने विद्युत् शक्ति आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

    Source : Kantipur