विद्युत् प्राधिकरण स्वचालित बन्दै

2297

नेपाल विद्युत् प्राधिकरणले परम्परागत कार्यपद्धतिलाई विस्थापित गर्दै स्वचालित र डिजिटलाइजेसनमा जाने भएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसका लागि काम भइरहेको बताएका छन्।

‘पुनर्संरचनाको प्रारम्भिक ढाँचासहित प्राधिकरणको संस्थागत विकास योजना, २०७६ प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत भइसकेको छ,’ उनले भने, ‘अबदेखि प्राधिकरणका समग्र कामकारवाही एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गरिनेछ।’

प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणका समग्र काम कारवाही स्वचालित र डिजिटल बनाउने घोषणा गरेका छन्। प्राधिकरणले काठमाडौं उपत्यकामा भूमिगत विद्युत् प्रसारण लाइन र आधुनिक मिटर जडान कार्य सुरु गरिसकेको छ।

उनले कर्मचारी लगायत सम्बन्धित पक्षसँगको सहकार्य र सहमतिमा सबैले अपनत्व लिने गरी एवं कर्मचारीको सेवाको सुरक्षा र सुविधाको सुनिश्चितता गरी प्राधिकरणको संस्थागत पुनर्संरचना गर्ने तयारीमा रहेको बताए।

चालु आर्थिक वर्षमा माथिल्लो तामाकोसी लगायत करिब १३ सय मेगावाट क्षमताका जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आउने भएकाले विद्युत् खपतको वातावरण बनाउनेतर्फ प्राधिकरण अग्रसर भएको बताए। ‘चालु आवमै १३ सय मेगावाट बिजुली उत्पादन भएर राष्ट्रिय ग्रिडमा जोडिनेछ,’ उनले भने, ‘विद्युत् उत्पादन तथा आपूर्तिमा नेपाल आत्मनिर्भर बन्ने दिर्घकालीन लक्ष्य प्राप्त गर्ने दिशातर्फ लम्किएका छौं। यसले हामीलाई थप हौसला बढाएको छ।’

प्रबन्ध निर्देशक घिसिङले कोभिड–१९ महामारीको कारण संस्थाको नियमित काम कारवाही तथा आयोजना निर्माण प्रभावित हुँदा आगामी दिनलाई केही चुनौती थपिएको बताए। उनले स्वदेशमा विद्युत् खपत बढाउन सवारी साधन चार्जिङ स्टेसन निर्माण गरी विद्युनीय सवारी साधनको प्रवद्र्घन गर्ने, लिफ्ट सिँचाइलाई बढावा दिने र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने जस्ता कार्यक्रम अगाडि बढाउने घोषणा गरेका छन्।

काठमाडौं उपत्यकामा भूमिगत विद्युत् प्रसारण लाइन र आधुनिक मिटर जडान जस्ता काम सुरु भइसकेको छ।  

‘यस वर्षलाई विद्युत खपत वृद्धि वर्षको रुपमा घोषणा गरी विविध कार्यक्रम सञ्चालन गरिने छ। यो वर्ष खपत बढाऔं, इन्धनको परनिर्भरता घटाऔं भन्ने अभियानलाई मूर्त रुपमा अघि बढाउनेछौं,’ उनले भने। प्राधिकरणले आगामी वर्षहरुमा पनि खर्च, चुहावट, महसुल र आयात घटाउने तथा आम्दानी, खपत, उत्पादन र निर्यात बढाउने कार्य प्रभावकारी रुपले सम्पादन गर्ने जनाएको छ।

प्रबन्ध निर्देशक घिसिङले संस्थाभित्रको आर्थिक पारदर्शिता, जवाफदेहीपन र सुशासनलाई कठोरताका लागू गर्ने घोषणा गरेका छन्। ‘नियमित, भरपर्दो, र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित नेपाल विद्युत् प्राधिकरण उज्यालो नेपालको सम्बाहकको रुपमा अहोरात्र खटिनेछ,’ उनले भने, ‘हाम्रो हरेक प्रयास अझ राम्रो र सक्षम प्राधिकरण निर्माणमा केन्द्रित हुनेछ।’

प्राधिकरणले अन्तरदेशीय विद्युत् व्यापारको लागि महत्वपूर्ण मानिएको ढल्केवर सबस्टेसनमा ४००÷२०० केभी, ३१५ एमभिए क्षमताको तीन थान ट्रान्सफर्मर जडान गर्ने कार्य अबको १० दिनभित्रै सम्पन्न हुने जनाएको छ।

‘प्राधिकरणको आर्थिक अवस्थालाई प्रतिकूल प्रभाव पर्न नदिन उत्पादित बिजुली स्वदेशमै खपत गर्न तथा बढी भएको छिमेकी बजारमा बिक्री गर्न बजार अध्ययन, विस्तार र पूर्वाधार निर्माण गरिनेछ,’ उनले भने। प्रबन्ध निर्देशक घिसिङले विशेष सुरक्षा र सूचना प्रणाली जडान गरी नेपालको राष्ट्रिय प्रसारण ग्रिड र भारतको प्रसारण ग्रिड सिंक्रोनाइजेसन गर्ने कार्य अन्तिम चरणमा रहेको बताए। ‘अत्पकालीन, मध्यकालीन र दिर्घकालीन विद्युत् व्यापार लगायतमा सहभागी हुने र अन्य सबै किसिमको अन्तरदेशीय विद्युत् व्यापार गर्न नेपाल सरकारबाट प्राधिकरणलाई पूर्वस्वीकृति प्राप्त भएको छ,’ उनले भने, ‘अब भारत सरकारको सहमतिपछि प्राधिकरणले नेपालमा उपभोग हुन नसक्ने अतिरिक्त ऊर्जा सम्बन्धित पक्षसँग समन्वय गरी भारतीय बजारमा बिक्री गर्ने वातावरण बन्नेछ।’

सो व्यवस्थाले नेपाल र भारतबीचको अन्तरदेशीय विद्युत् व्यापारमा नयाँ युगको थालनी भएको र यसबाट दुवै देशले मौजुदा प्रसारण क्षमताको उपभोग, प्रविधि हस्तान्तरण, प्रणाली सन्तुलन लगायत विविध विषयमा प्रचूर फाइदा लिने उनको भनाइ छ।

 

स्रोत : नागरिक