३१ वर्षदेखि अलपत्र नौमुरे आयोजना

    1093

    सन्धिखर्क: २०४३ सालदेखि चर्चामा आएको नौमुरे आयोजना अहिलेसम्म चर्चामै सीमित छ । अर्घाखाँची र प्युठानको सिमानामा पर्ने नौमुरेमा जलविद्युत् आयोजना अगाडि बढाउने चर्चा चलेको ३१ वर्ष भइसकेको छ। राजनीतिक दलका नेता चुनावमा गाउँसम्म पुग्ने माध्यम जिल्लास्थित बेवारिसे आयोजना बनेका छन्।

    वर्षौंदेखि अलपत्र रहेका विकास निर्माण आयोजना राजनीतिक दललाई भोट माग्ने बहाना बनेका हुन् । दलका नेता चुनावअघि गाउँ नै छिर्दैनन् र चुनाव लागेपछि पुराना बेबारिसे योजना लिएर समयमै सम्पन्न गर्ने सपना चुनावी मसला बनाउने गरेको स्थानीयको आरोप छ । त्यसको ज्वलन्त उदाहरण हो, अर्घाखाँचीको नौमुरे जलविद्युत् परियोजना।

    त्यसैलाई देखाउँदै सबै दलका नेताले भोट माग्न आउँदा आयोजना सुरु गर्ने प्रतिबद्धता गरेर फर्कन्छन् । तर कसैले पनि उक्त प्रतिबद्धता पूरा गर्न सकेका छन्।

    पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा नौमुरेलाई भारत सरकारले उपहारस्वरूप निर्माण गरिदिने वचन दिएको थियो । पञ्चायतकालमा सोही आयोजनाको सम्भाव्यता अध्ययन भएको थियो। दुई सय ४५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजना निर्माणको चर्चा चलेको ३० वर्ष बितिसकेको स्थानीयवासी देवीराम घिमिरेले बताए । आयोजना अनुगमनका लागि नौमुरे पुगेका सहायक प्रजिअ नारायण खत्रीले वर्षौंदेखि थाती रहेको आयोजना निर्माण गर्न सके विकट क्षेत्र जलुकेका बासिन्दाको जीवनस्तरमा सुधार आउने उल्लेख गरे।

    सरकारको नीति तथा कार्यक्रमअन्तर्गत एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजनाका रूपमा नौमुरेलाई प्रदेश ५ का लागि घोषणा गरे पनि काम अहिलेसम्म अघि बढ्न सकेको छैन।

    जलविद्युत् परियोजना सञ्चालन गरी जिल्लालाई समृद्ध बनाउने खोक्रो भाषण नेताहरूको राजनीति गर्ने माध्यम बनेको स्थानीयवासी बताउँछन् ।

    अहिलेसम्म उक्त आयोजना चुनावी नारामा सीमित छ । सरकारी उदासीनताले आयोजनाको काम अल्झिएको स्थानीयको गुनासो छ । टोपबहादुर रायमाझी ऊर्जामन्त्री हुँदा होस् या वामदेव गौतम गृहमन्त्री हुँदा नौमुरे भाषण गर्ने बहानाबाजी भएको स्थानीयको भनाइ छ । नौमुरेबाट विद्युत् उत्पादन तथा दाङ र कपिलवस्तु हुँदै विहारसम्म सिँचाइ सुविधा पु¥याउने योजना छ।

    २०७१ सालमा सरकारले नौमुरे आफै बनाउने घोषणा गरेको थियो । विद्युत् प्राधिकरणले नौमुरे आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार गर्ने भनिए पनि अहिलेसम्म कुनै काम अघि नबढेको प्राधिकरणले जनाएको छ।

    यो जैविक विविधता, पर्यावरण र पर्यटनका हिसाबले नेपालकै नमुना जलविद्युत् परियोजनाअन्तर्गत पर्छ । राष्ट्रिय गौरव तथा बहुउद्देश्यीय आयोजना भएकाले सरकार र निजीक्षेत्रको लगानीमा यसलाई पूर्णता दिनुपर्ने स्थानीयको माग छ।

    नौमुरे आयोजना सञ्चालनका लागि केन्द्र सरकारसँग आग्रह गरिएको शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । यो सुक्खायाम वा वर्षायाममा बराबर मात्रामा विद्युत् उत्पादन हुन सक्ने नेपालको पहिलो जलविद्युत् परियोजना भएको विज्ञहरूको भनाइ छ । राष्ट्रिय योजनाअन्तर्गत सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

    ३१ वर्षअघि तीन महिना १० दिन लगाएर अध्ययन गरेको विशेषज्ञसहितको टोलीले दुई सय ४५ मेगावाट विद्युत् निकाल्न सकिने प्रतिवेदन तयार पारेको थियो । जिल्लाका अधिकांश गाविसमा विद्युत् हु“दा त्यस क्षेत्रका जनताले अहिले पनि टुकी र सल्लाको दियालो बालेर दैनिकी गुजार्दै आएका छन्।

    राजनीतिक दलका नेताहरू सत्ता प्राप्तिको लुछाचुँडीमा केन्द्रित भएकाले विकास निर्माणका काम ठप्प हुँदै आएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका महासचिव नेत्रप्रसाद भुसालले बताए । ३१ वर्षदेखि चर्चामा आएर सेलाउँदै गएको नौमुरे परियोजना सञ्चालन भए अर्घाखाँची, प्युठान, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङलगायत जिल्लाका जनता लाभान्वित हुने उनको भनाइ छ।

    स्रोत:अन्नपूर्ण पोस्ट